कोभिड-१९ महामारीको दुई वर्ष, नेपालमा सङ्क्रमणको अवस्था कस्तो?

मार्च ११ शुक्रवार, विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसलाई महामारी घोषणा गरेको दुई वर्ष पूरा भयो। यस अवधिमा नेपालमा सङ्क्रमणको तीन वटा लहर आयो। हाल सङ्क्रमणको तेस्रो लहरले निम्त्याउन सक्ने जोखिमबाट नेपाल उम्किएको विज्ञहरू बताउँछन्।

न्यून सङ्ख्यामा सङ्क्रमण पुष्टि हुने क्रम जारी छ। स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार अहिले दैनिक सङ्क्रमण दर परीक्षण गराउनेमध्ये दुई प्रतिशतभन्दा कममा सीमित छ।

"अहिले हामी शिथिल अवस्थामा छौँ। सङ्क्रमण दर शून्य भइसकेको छैन तर जोखिम कम छ। सङ्क्रमणकै कारण ठूलो क्षति हुने सम्भावना छैन," शुक्रराज ट्रपिकल एवं सरुवा रोग अस्पतालका चिकित्सक, सङ्क्रामक रोग विज्ञ शेरबहादुर पुनले भने।

कोभिड-१९ विरुद्धको खोपका कारण अन्य लहरको तुलनामा तेस्रो लहर चाँडो सकिएको डा. पुन ठान्छन्।

कस्तो रह्यो अवस्था?

कोरोनाभाइरस महामारीको पहिलो लहरमा अन्य देशको तुलनामा नेपालमा कम क्षति भएको डा. पुन बताउँछन्। जसका कारण मानिसहरूमा कोभिड प्रचार गरे अनुरूप जोखिमपूर्ण नभएको विश्वास स्थापित भएको सुनाउँछन्।

"त्यस लहरमा वृद्धावस्थाका मानिस बढी प्रभावित भए। मृत्यु हुनेमा पनि पाका मानिस बढी थिए।"

डेल्टा भेरिअन्टसँगै उकासिएको दोस्रो लहरमा भने युवा वर्ग बढी प्रभावित भएका थिए। सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ह्वात्तै बढ्यो। त्यसबेला नेपालको स्वास्थ्य प्रणालीले स्थिति धान्न नसकेो पुनको बुझाइ छ।

"पहिलोबाट दोस्रोमा आउँदा वातावरण फरक देखियो। अक्सिजनको आवश्यकतादेखि स्वास्थ्य प्रणाली कति ध्वस्त छ प्रमाणित भयो। एक पटक टरे पनि उस्तै प्रकृतिको वा सोभन्दा घातक समस्याका लागि तयार रहनुपर्छ भन्ने सिकायो," उनले भने।

तेस्रो लहरमा भने सुरुवाती चरणमा खोप लगाउने वृद्धा वृद्धा जसको शरीरमा विकसित कोरोनाभाइरसविरुद्धको एन्टिबडी कमजोर हुँदै गएको थियो र दीर्घ रोगीहरू प्रभावित भएको बताइन्छ।

समग्र परिस्थितिले सङ्क्रामक रोग निकै छोटो समयमा स्वरूप परिवर्तन भएर फैलने र जटिल अवस्था निम्तने भएकाले, यसबारे अध्ययन तथा अनुसन्धान र नियन्त्रणका लागि लगानी पहिलो प्राथमिकता हुनु पर्ने सङ्केत गरेको उनको बुझाइ छ।

हाल कस्तो छ स्थिति?

नेपालमा हालसम्म ११ लाख १७ हजारभन्दा बढी मानिसमा सङ्क्रमण पुष्टि भएको छ। जसमध्ये ९२.२ प्रतिशत मानिस निको भइसकेका छन्।

सङ्क्रमणसँगै देखिएका विभिन्न स्वास्थ्य समस्याका कारण ११,९५० जना अर्थात् १.२ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ।

अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५,०५० रहेको छ। तीमध्ये ८५४ जना काठमाण्डू उपत्यकामा छन्।

शुक्रवार करिब ८ हजार मानिसमा परीक्षण गर्दा ७७ जनामा सङ्क्रमण पुष्टि भएको थियो। त्यस्तै शनिवार ५ हजारमा परीक्षण गर्दा ७३ जनामा सङ्क्रमण देखियो।

"ओमिक्रोन भेरिअन्ट तीव्र गतिमा फैलिएसँगै उच्च विन्दुमा पुगेको तेस्रो लहर, पहिलो र दोस्रो लहरको तुलनामा निकै छिटो सकियो," पुनले भने।

"यसमा खोपको उपलब्धता र वितरणको उल्लेख्य भूमिका रह्यो।"

उनले पूर्ण जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य पूरा भयो भने पहिलेजस्तो भयावह स्थिति नदोहोरिने आकलन गरे।

कस्तो भइरहेको छ खोप वितरण अभियान?

नेपालमा हालसम्म कुल जनसङ्ख्याको ७४.६ प्रतिशतले कम्तीमा एक मात्रा कोभिडविरुद्धको खोप लगाएका छन्। त्यस्तै ६३.० प्रतिशतले दुवै मात्रा खोप लगाएका छन्। यस तथ्याङ्कमा १२ वर्षभन्दा माथिका सबै समेटिएको स्वास्थ्य मन्त्रालयका खोप शाखा प्रमुख सागर दाहाल बताउँछन्।

"यसै वर्षभित्र देशभरका सबै नागरिकलाई खोप उपलब्ध गराउने लक्ष्य छ। सङ्क्रमण घट्यो भन्दैमा खोप अभियान सुस्त हुँदैन," दाहाल भन्छन्।

उनका अनुसार हरेक स्थानीय तहमार्फत लक्षित जनसङ्ख्यालाई खोप वितरण गर्ने क्रम जारी छ।

"खोपको प्रभावकारिता तेस्रो लहरमा देखियो। धेरै मानिस सङ्क्रमित भए पनि सिकिस्त बिरामी भएनन्। अहिले सङ्क्रमण दर कम भए पनि आवश्यक निरीक्षण गर्दै नगरपालिका, गाउँपालिकामार्फत खोप दिइरहेका छौँ," उनले जानकारी दिए।

सरकारसँग पर्याप्त खोप भएको दाहालको दाबी छ।

उनका अनुसार थप ९२ लाख फाइजरको खोप छिटै नेपाल भित्रिँदै छ।

"१५ लाख मात्रा मार्च महिनामा, १५ लाख मात्रा एप्रिलमा गरी अगस्टसम्म निर्धारित ९२ लाख मात्रा खोप आउने निश्चित छ," दाहालले भने।

खोप विज्ञ डा. श्यामराज उप्रेतीले १५ वर्षभन्दा माथिका सबैलाई कोभिड-१९ विरुद्धको खोप दिने हो भने ६० अर्ब रुपैयाँ रकम खर्च हुने अनुमान गरिएको बीबीसीसँग बताएका थिए।