तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
श्रीलङ्कामा सङ्कटकाल घोषणाप्रति अमेरिका र युरोपेली सङ्घले उठाए प्रश्न
अमेरिका र युरोपेली सङ्घले सरकारविरुद्ध भइरहेका प्रदर्शनका माझ सङ्कटकाल घोषणा गर्ने श्रीलङ्काका राष्ट्रपतिको निर्णयको आलोचना गरेका छन्।
श्रीलङ्काका राष्ट्रपति गोटबय राजपक्षले गए रातिबाट लागु हुने गरी सङ्कटकालको घोषणा गरेका थिए।
गम्भीर आर्थिक सङ्कटसँग गुज्रिरहेको श्रीलङ्कामा मानिसहरूले औषधिसहित अत्यावश्यक सामग्रीहरू प्राप्त गर्न सङ्घर्ष गरिरहेका छन्।
शुक्रवार बसेको मन्त्रिपरिषद्को एउटा विशेष बैठकपछि सङ्कटकाल लगाउने निर्णय लिइएको थियो।
अमेरिका र ईयूको विरोध
कोलम्बोस्थित अमेरिकी राजदूत जुली चुङले मानिसहरूको आवाज सरकारले सुन्नुपर्ने बताइन्।
उनले ट्विटरमा लेखेकी छन्, "अर्को सङ्कटकालको अवस्थाबाट चिन्तित छु। शान्तिपूर्ण नागरिकहरूका आवाज सुनिनुपर्छ।"
"श्रीलङ्कालीहरू बेहोरिरहेको वास्तविक चुनौतीहरूसँग जुझ्न र देशमा सबैका लागि समृद्धि र अवसर रहने बाटोमा फर्काउन दीर्घकालीन समाधानको आवश्यकता पर्छ। सङ्कटकालीन अवस्थाले त्यसलाई मद्दत गर्दैन्।"
युरोपेली सङ्घले सङ्कटकालले श्रीलङ्काका अप्ठेराहरू हल गर्न मद्दत नगर्ने बरु त्यो प्रत्युत्पादक हुनसक्ने चेतावनी दिएको छ।
उसले भनेको छ, "एक महिना लामो शान्तिपूर्ण प्रदर्शनले दक्षिण एशियाको पुरानो लोकतन्त्रमा कसरी श्रीलङ्काली नागरिकहरूले आफ्नो अभिव्यक्ति स्वतन्त्रतालाई पूर्ण रूपमा अनुभूत गरिरहेका छन् भन्ने देखिएको थियो।"
"सङ्कटकालको अवस्थाले देशको अप्ठेराहरूलाई सम्बोधन गर्न निश्चित रूपमा मद्दत गर्दैन र यसको प्रत्युत्पादक प्रभाव हुनसक्छ।"
राष्ट्रपति राजपक्षको कार्यालयले सार्वजनिक सुरक्षालाई मध्यनजर राख्दै सङ्कटकाल लगाइएको जनाएको थियो।
विदेशी मुद्रा सञ्चितमा गम्भीर सङ्कट बेहोरिरहेको श्रीलङ्काले खाद्यान्न, इन्धन र औषधि आयात गर्न गम्भीर समस्या भोगिरहेको छ।
योभन्दा अघि पनि श्रीलङ्काका राष्ट्रपतिले गएको एप्रिल २ मा सङ्कटकाल लगाएका थिए जसलाई उनले एप्रिल ५ मा फिर्ता लिए।
सरकार के भन्छ
श्रीलङ्काको राष्ट्रपति कार्यालयको सञ्चार युनिटका अनुसार तीनवटा विषयलाई ध्यान दिएर पछिल्लो निर्णय लिइएको भनिएको छ।
त्यसमा देशको अस्तित्वको रक्षा गर्न, सार्वजनिक जीवनका लागि आवश्यक आपूर्ति र सेवालाई निरन्तरता दिन र जनतालाई सुरक्षा उपलब्ध गराउन सङ्कटकाल लगाइएको भनिएको छ।
अहिले श्रीलङ्कामा कैयौँ देशहरूले इन्धन र औषधिहरू पठाइरहेको भएपनि त्यो पर्याप्त नरहेको विवरणहरू आएका छन्।
मानिसहरू सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् र उनीहरूले राष्ट्रपतिले राजीनामा दिनुपर्ने माग गरिरहेका छन्।
एक महिनायता जारी प्रदर्शन बारम्बार हिंसक समेत भएको छ।
सङ्कटकाल लागु हुनु अघिल्लो दिन प्रहरीले कोलम्बोमा संसद् भवन बाहिर प्रदर्शन गरिरहेका मानिसहरूमाथि अश्रुग्याँस प्रहार गरेको थियो।
प्रदर्शनकारीहरूले देशव्यापी हडतालको आह्वान गरेका छन् र त्यसबाट शुक्रवार कामकाज ठप्प रहेको थियो।
यसअघि लगाइएको सङ्कटकालमा राष्ट्रपति गोटबय राजपक्षले एउटा सूचना जारी गर्दै सडक, पार्क, रेल र समुद्री तट जस्ता सार्वजनिक स्थानमा निस्कन बन्देज लगाएका थिए।
यसैबीच कोलम्बोमा रहेका क्यानडाका राजदूतले सङ्कटकाल लगाउने निर्णयमाथि प्रश्न उठाएका छन्।
पछिल्ला केही हप्ताहरूमा श्रीलङ्काका नागरिकहरूले शान्तिपूर्ण प्रदर्शन गर्ने आफ्नो अधिकार उपभोग गरिरहेको भन्दै उनले सङ्कटकाल लगाउनुपर्ने स्थिति कसरी आवश्यक पर्यो भनेर प्रश्न गरेका छन्।