राष्ट्रिय कृषि गणना: आजदेखि हुने कृषि गणनामा के के हुँदैछ?

तस्बिर स्रोत, RSS
देशभरिमा कति किसान छन्, कति पशुपन्छी छन् अनि खेती बालीका प्रणाली र प्रकारमा कस्ता परिवर्तन आइरहेका छन् भन्ने जस्ता प्रश्नको उत्तर खोज्न राष्ट्रिय कृषि गणना गर्न लागिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ।
नेपालमा पहिलो पटक विक्रम संवत् २०१८ सालमा कृषि गणना गरिएको थियो।
हरेक १० वर्षमा गरिने कृषि गणनाको सातौँ संस्करण मङ्गलवारबाट देशभरिका सबै पालिका समेट्ने गरी हुन लागेको छ।
कृषिगणनामा के के गनिन्छ?
हालै सम्पन्न राष्ट्रिय जनगणनामा देशभरि कुल ६८ लाख घरपरिवार रहेकोमा ४१ लाख घरपरिवार कुनै न कुनै रूपमा कृषि कार्यमा सामेल पाइएको थियो।
तीमध्ये छानिएका साढे ३ लाख घरपरिवार समक्ष पुगेर कृषि गणना गरिने विभागले जानकारी दिएको छ।

तस्बिर स्रोत, RSS
यसमा खासगरी चार थरी विषयमा गणना गरिने विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिएका छन्।
"बाली, पशुपन्छी, माछा तथा वनका विषयमा गणना केन्द्रित हुनेछ। साथै यी किसान १० वर्षभन्दा पहिले कस्ता थिए, कहाँ थिए, खेतीप्रणालीमा कस्ता परिवर्तन आए, कृषि उपयोगमा जमिनको क्षेत्रफलमा कस्ता फेरबदल भए अनि उत्पादन र आर्थिक सामाजिक सम्बन्ध कस्तो रह्यो भन्ने विश्लेषण यसमा गरिन्छ," रेग्मीले भने।
जलवायुको असर पनि जाँचिने
जलवायुको असर पनि जाँचिने
यस पटकको कृषि गणनामा बाँझो रहेका जग्गाजमिनको अवस्था, दिगो विकास लक्ष्यको विषय, तथा महिला स्वामित्वको अवस्था पनि हेरिने बताइएको छ।
खासगरी जलवायु परिवर्तनले नेपालका किसानहरूलाई पारेको असरसम्बन्धी प्रश्नहरू समेत गणकहरूले सोध्नेछन्।
"जलवायु परिवर्तनले धेरै असर पर्यो भनेर धेरैले भनिरहेका छन्। यसपालि गणनामा हामीले यसले कृषिमा बाली प्रणाली, प्रकार, खेती गर्ने समय जस्ता विषयमा पारेका प्रभाव अनि किसानहरूले अपनाएका अनुकूलनका उपायबारे प्रश्नहरू समेटिएका छन्," रेग्मीले भने।
देशभरिका ७५३ वटै पालिका समेट्ने गरी जेठ १९ सम्म ५,२०० गणक एवं १,३०० सुपरिवेक्षक खटाइँदै छन्।
कृषि क्षेत्रले नेपालको कुल अर्थतन्त्रमा एक चौथाइ योगदान पुर्याउने गर्छ।
सङ्ख्यामा कृषि:
- कृषिमा आधारित घरपरिवार: ४१ लाख (२०७८ राष्ट्रिय जनगणना)
- कृषि जमिनको क्षेत्रफल: २५ लाख हेक्टर (२०६८ कृषि गणना)
- पशुपन्छीको सङ्ख्या: सरदर ७४ लाख - गाई, ५१ लाख - भैँसी, १५ लाख - बङ्गुर, सवा करोड - खसी बाख्रा तथा सवा करोड - कुखुरा (२०७६/७७ पशुपन्छी विभाग)









