नेपाल कृषि: पशुपन्छीमा हुने महामारी रोक्न वर्षैभरि खोप अभियान

तस्बिर स्रोत, BBC/Sidney Street Productions/Endemol Shine UK
कोभिड महामारी रोक्न हाल मानिसका लागि चलिरहेको जस्तै पशुपन्छीमा लाग्ने रोग रोकथामका लागि पनि नेपालमा खोप अभियान जारी रहेको अधिकारीहरूले बताएका छन्।
पशुपन्छीमा लाग्नसक्ने महामारीजन्य रोग रोकथामका लागि पनि अभियान सञ्चालन भइरहेको पशु विकास अधिकारीहरूले जानकारी दिएका हुन्।
उनीहरूका भनाइमा हाल सङ्घीय सरकारले खोप तथा बजेट उपलब्ध गराए अनुसार "प्रदेश र स्थानीय तहहरूले" त्यस्तो अभियान चलाइरहेका छन्।
यस्तो खोप अभियानमा लाखौँ घरपालुवा पशुपन्छीलाई नि:शुल्क खोप लगाइदिने गरिन्छ।
वर्षभरि जारी अभियान
पशु सेवा विभागका अधिकारीहरूका अनुसार यस्तो खोप अभियान वर्षभरि नै चल्ने गर्छ।
नि:शुल्क वितरण गरिने खोपमध्ये अधिकांश खोप वर्षमा एक पटक मात्र लगाउनु पर्ने खालको रहेको अधिकारीहरू बताउँछन्।
पशु सेवा विभागका वरिष्ठ पशुसेवा अधिकारी डा. चन्द्र ढकाल भन्छन्, "रोग नियन्त्रण तीन वटै सरकारको साझा जिम्मेवारी हो। अहिले खोप उत्पादन गर्ने र उपलब्ध गराउने काम चाहिँ सङ्घीय सरकारले गरेको छ।"

तस्बिर स्रोत, COURTESY: Sulochana Shrestha
उनका भनाइमा राष्ट्रिय खोप उत्पादन प्रयोगशालाबाट प्रत्येक वर्ष करिब पाँच करोड मात्रा विभिन्न रोगविरुद्धका खोप उत्पादन हुने गरेको छ।
"त्यसमध्ये अधिकांश खोपहरू हामी नि:शुल्क रोग नियन्त्रणका लागि उपलब्ध गराउँछौँ। अनि करिब एक करोड मात्राको हाराहारीमा खोप बिक्री हुन्छ," उनले भने।
उनका भनाइमा खोप अभियान चलाउनका लागि आर्थिक स्रोत लगायतको व्यवस्थापन पनि सङ्घीय सरकारले गरिदिने गरेको छ।
कुन-कुन रोगविरुद्ध खोप?
अधिकारीहरूका अनुसार विभिन्न रोगका लागि देशका विभिन्न क्षेत्रमा कृषकको घर वा टोलमै पुगेर खोप लगाइदिने गरिएको छ।
त्यसका लागि जोखिम क्षेत्रहरूको पहिचान गरेर त्यस्ता क्षेत्रलाई केन्द्रित गरिने उनीहरूको भनाइ छ।
कुन खोप कति मात्रा वितरण हुँदैछ?
७५ लाखपीपीआर विरुद्धको खोप (भेँडाबाख्रा)
६० लाखखोरेत विरुद्धको खोप (गाईभैँसी)
१५ लाख रानीखेत विरुद्धको खोप (कुखुरा)
५/५ लाखभ्यागुते र चर्चरे विरुद्धको खोप (गाईवस्तु) र स्वाइन फीभर विरुद्धको खोप (बङ्गुर)
विभागको रोग नियन्त्रण शाखाकी प्रमुख वरिष्ठ पशु चिकित्सक डा. पूजा शर्माका अनुसार अभियानमा विभिन्न पाँच खाले रोगविरुद्धका खोप सित्तैमा वितरण हुने गरेको छ।
उनले भनिन्, "राष्ट्रिय रोग नियन्त्रण कार्यक्रम अन्तरगत खोप अभियान पनि महत्त्वपूर्ण कार्यक्रम हो। त्यसमा पीपीआर, खोरेत, रानीखेत, स्वाइन फीभर र भ्यागुते तथा चर्चरे रोगका पशु रोगहरूको खोप नि:शुल्क वितरण हुन्छ।"
राष्ट्रिय खोप उत्पादन प्रयोगशालाका प्रमुख डा. माधव दाहालका अनुसार विभागसँगको समन्वय र स्थानीय तथा प्रदेश सरकारले तोके अनुसार देशका विभिन्न केन्द्रमा पुर्याएर खोप वितरण हुने गरेको छ।
कुन खोप कति मात्रा सित्तैमा?
दाहालले दिएको जानकारी अनुसार यस आर्थिक वर्ष खोरेत विरुद्धको खोप ६० लाख मात्रा खोप वितरण हुँदैछ।
खोरेत रोगविरुद्ध वर्षमा दुई पटक खोप लगाउनुपर्ने हुन्छ।
त्यस अन्तर्गत पुस मसान्तसम्ममा पहिलो मात्राका रूपमा ३० लाख खोप वितरण भइसकेको उनले बताए।
त्यस्तै दोस्रो मात्रा आगामी असारमा वितरण गरिने उनको भनाइ छ।
"त्यसले नपुगेर व्यावसायिक पशुपालक कृषकहरूले केही मात्रामा बाहिरबाट किनेर पनि लगाउने गरेका छन्," उनले भने।
उक्त खोप गाईवस्तुमा लाग्ने खोरेत रोग नियन्त्रणका लागि लगाइने गरेको उनले जानकारी दिए।
सरकारले भेडा बाख्राका लागि पीपीआर खोप पनि नि:शुल्क वितरण गर्ने गरेको अधिकारीहरूको भनाइ छ।
दाहालले दिएको जानकारी अनुसार यस्तो खोप नेपालभरि जोखिम विश्लेषण गरेर वितरण गरिन्छ र यस वर्षका लागि कुल ७५ लाख मात्रा वितरण गरिँदैछ।
यो खोप भने वर्षको एक पटक लगाउँदा हुन्छ।

तस्बिर स्रोत, department of livestock services nepal
बङ्गुरमा लाग्ने स्वाइन फीभरका लागि भने सरकारले पाँच लाख मात्र नि:शुल्क खोप लगाइदिने गरेको उनले जानकारी दिए।
त्यसैगरी कुखुरामा लाग्ने रानीखेत रोगविरुद्धको खोप चाहिँ ग्रामीण कृषकका लागि १५ लाख मात्र नि:शुल्क वितरण हुने गरेको छ।
"पोल्ट्री चाहिँ निकै व्यावसायिक भएकाले ठूला फार्म चलाउनेहरूले आफैँले किनेर लगाउने गर्नुहुन्छ त्यसैले यो ग्रामीण क्षेत्रमा बढी केन्द्रित गरिएको हो," उनले भने।
त्यस्तै गाईभैँसीमा लाग्ने भ्यागुते र चर्चरे रोगविरुद्ध खोप पनि सरकारले नि:शुल्क रूपमा वितरण गर्ने गरेको छ।
वर्षको पाँच लाख मात्र त्यस्तो खोप वितरण गरिने दाहालले जानकारी दिए।
वर्षमा एक पटक लगाउनु पर्ने उक्त खोप नेपालमा दुवै रोगलाई मिल्ने गरी संयुक्त रूपमा बनाइएको उनले जानकारी दिए।
कुन खोप नेपालमा बन्छन्?

तस्बिर स्रोत, Science Photo Library
अधिकारीहरूका अनुसार पशुपन्छीका लागि सञ्चालन हुने खोप अभियानका लागि आवश्यक पर्ने अधिकांश खोप नेपालमै उत्पादन भइरहेका छन्।
तर नि:शुल्क वितरण हुनेमध्ये खोरेत रोग विरुद्धको खोप चाहिँ नेपालमा उत्पादन हुँदैन।
"खोरेत विरुद्धको खोप चाहिँ हामी आयात गरेर वितरण गरिरहेका छौँ," विभागका सूचना अधिकारी समेत रहेका ढकालले भने।
प्रयोगशाला प्रमुख दाहालका अनुसार उक्त प्रयोगशालाले चाँडै नै खोरेतको खोप पनि विकास गर्ने तयारी गरिरहेको छ।
त्यसका लागि आवश्यक प्राविधिक जनशक्ति तयार पार्ने र पूर्वाधार विकास भइरहेको उनले बताए।

तस्बिर स्रोत, department of livestock services nepal
विभागले हाल उत्पादन गरेका खोप देशका विभिन्न भागमा रहेका पाँच वटा मुख्य भण्डारण केन्द्रमा पठाइने गरेको छ।
त्यसपछि ग्रामीण क्षेत्रसम्म वितरण हुने गरेको अधिकारीहरूको भनाइ छ।
खोप अभियानको आवश्यकता
पशुहरूमा महामारीजन्य रोग कम गर्नका लागि यस्तो अभियान चलाउनु परेको अधिकारीहरूको दाबी छ।
महामारी फैलिन नदिनका लागि जोखिम क्षेत्रहरू निर्धारण गरिएको र त्यसै अनुसार अभियान चलाइने गरेको विभागकी शर्मा बताउँछिन्।
उनका भनाइमा खोप अभियानमा महामारी प्रचार नहोस् भन्ने कुरालाई विशेष ध्यान दिने गरिएको छ।
त्यस्तै दाहाल नेपालमा कुनै रोगको महामारी फैलिएमा त्यसको असर यहाँका पशुपालक कृषक र उपभोक्तामा मात्र नपर्ने बताउँछन्।
"महामारीजन्य पशुपन्छी रोग लागेमा नेपालको पशुपन्छीजन्य वस्तु कुनै पनि देश पठाउन नसकिने अवस्था पनि आउन सक्छ त्यसैले नियन्त्रणका लागि नियमित खोप अभियान आवश्यक परेको हो," उनले भने।









