ओस्कर्स: विल स्मिथले आफ्नो व्यवहार 'अस्वीकार्य र अक्षम्य' भएको भन्दै माफी मागे

अभिनेता विल स्मिथले ओस्कर्स पुरस्कार वितरण समारोहमा आफूले प्रस्तोता क्रिश रकलाई थप्पड हानेको व्यवहार "अस्वीकार्य र अक्षम्य" भएको भन्दै माफी मागेका छन्।

उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, "क्रिश, म तिमीसँग सार्वजनिक रूपमा माफी माग्न चाहन्छु।"

"मैले सीमा नाघेर व्यवहार गरेँ र म गलत थिएँ।"

ओस्कर्स फिल्म एकेडेमीले स्मिथको भर्त्सना र घटनाबारे औपचारिक समीक्षाको घोषणा गरेपछि उनले माफी मागेका हुन्।

हास्य कलाकार क्रिशले आफ्नी श्रीमती जाडा पिङ्केट स्मिथको मुडुलो टाउकोमाथि ठट्टा गरेपछि चर्चित अभिनेता स्मिथले उनको गालामा थप्पड हानेका थिए।

क्रिशले पिङ्केट स्मिथको कपाल झर्ने समस्या, एलोपेसियाको कारण मुडुलो बनाएको टाउकोप्रति लक्षित ठट्टा गरेका थिए। उनले भनेका थिए, "आई लभ यु जाडा। म जीआई जेन २ को प्रतीक्षामा छु।"

जीआई जेन सन् १९९७ को हलिवूड फिल्म हो जसकी प्रमुख नायिकाले शिर मुण्डन गरेकी थिइन्।

घटनाको केही क्षणपछि अभिनेता स्मिथले किङ रिचर्ड नामक चलचित्रमा ख्यातिप्राप्त टेनिस खेलाडीहरू भिनस र सेरेना विलियम्सको बुबाको भूमिका निर्वाह गरेकोमा ओस्कर पुरस्कार जितेका थिए।

"हिंसाको हरेक स्वरूप विषाक्त र विनाशकारी हुन्छ," स्मिथले इन्स्टाग्राममार्फत सार्वजनिक गरेको विज्ञप्तिमा लेखिएको छ।

"गत राति एकेडेमी अवार्डमा मैले गरेको व्यवहार अस्वीकार्य र अक्षम्य छ। ममाथि हुने ठट्टाहरू मेरो कामको एउटा अंश हो तर जाडाको स्वास्थ्य अवस्थाप्रति गरिएको ठट्टा असह्य थियो र मैले भावनात्मक रूपमा प्रतिक्रिया जनाएँ।"

स्मिथले रकसँग माफी माग्दै आफ्नो व्यवहारले "सीमा नाघेको" बताए। उनले एकेडेमी र विलियम्स परिवारसँग पनि माफी मागेका छन्।

"मलाई पश्चात्ताप छ कि मेरो व्यवहारका कारण हामी सबैका लागि शानदार बनेको यात्रामा दाग लागेको छ," उनले लेखेका छन्।

स्मिथको क्षमा याचना सार्वजनिक हुनुअघि संस्थाले विज्ञप्तिमार्फत स्मिथको "कार्यको निन्दा गर्ने" उल्लेख गरेको थियो।

"हामीले आधिकारिक रूपमा घटनाबारे औपचारिक समीक्षा सुरु गरेका छौँ र हाम्रो नियम, आचरणको मानक र क्यालिफोर्नियाको कानुन अनुसार थप कार्य र नतिजाहरू के हुनसक्छ खोज्नेछौँ," लेखिएको छ।

क्रिश रक स्वयंले दर्शकलाई सम्बोधन गर्दै उक्त घटना "टेलिभिजनको इतिहासको अविस्मरणीय रात भएको" टिप्पणी गरेका थिए। लस एन्जलस प्रहरी विभागले भेराइटी म्यागजिनलाई रकले घटनाबारे "प्रहरीमा उजुरी दिन अस्वीकार" गरेको बताएको थियो।

लस एन्जलसस्थित मनोरञ्जन संवाददाता स्टिभन म्याकन्टसले विल स्मिथको बयान अत्यन्त सावधानीपूर्वक लेखिएको जनाएका छन्। उनी आफ्नो भाषाबारे निकै होसियार रहेर कुनै बहाना नबनाई आफ्नो प्रतिक्रियाबारे प्रस्ट्याएका छन्।

तर, उनको क्षमा याचनाले घटनाक्रमको अन्त्य नहुने म्याकन्टसले जनाएका छन्। उनका अनुसार रकले सार्वजनिक रूपमै प्रतिक्रिया जनाउनु पर्नेछ।

केहीले उनको ओस्कर अवार्ड खारेज हुन सक्ने बताए पनि अब त्यसो गर्न सम्भव नभएको उल्लेख गरिएको छ। उनको एकेडेमी सदस्यता निलम्बन हुनेजस्ता प्रतिबन्ध लाग्न सक्थ्यो। तर, उनको याचनापछि त्यो सम्भावना पनि कम छ।