यमन युद्ध: युक्रेनको युद्धले कसरी बिगार्दै छ यमनमा जारी मानवीय सङ्कटको अवस्था?

    • Author, कागिल कासापोग्लु
    • Role, बीबीसी न्यूज

अहिले विश्वव्यापी ध्यान युक्रेनमा छ। तर "विश्वको सबैभन्दा खराब मानवीय सङ्कट" चाहिँ यमनमा देखिएको संयुक्त राष्ट्र सङ्घले जनाएको छ। र, त्यहाँको अवस्था झनै बिग्रँदै गएको जनाइएको छ।

यमनका लागि आर्थिक सहायता जुटाउने संयुक्त राष्ट्रसङ्घको पछिल्ला प्रयासहरू असफल भएका छन्। सङ्घले मार्च १६ मा स्थापित कोषमा चार अर्ब जम्मा गर्ने आकलन गरेको थियो तर उक्त रकमको एक तिहाइभन्दा कम रकम सङ्कलन भयो।

"युक्रेनमा जारी युद्धको कारण यमनमा महँगी दोब्बर भएको छ, विशेष गरी पीठोको मूल्य बढेको छ। पहिले एक झोला पीठोको करिब २१ देखि २५ डलरसम्म पर्थ्यो। अहिले उक्त मूल्य बढेर ५० डलर पुगेको छ," मुस्लिम ह्यान्ड्स नामक गैर-सरकारी संस्थाकी परियोजना अधिकारी साराह शावकीले भनिन्।

उक्त संस्थाले यमनमा पाँच वटा पाउरोटी उद्योग सञ्चालन गर्छ।

"हामीले अहिलेसम्म रोटी उपलब्ध गराउन योग्य बन्न अन्य थुप्रै वस्तुहरूमा कटौती गर्नुपर्‍यो।"

शावकीका अनुसार २५,००० लाभान्वित धेरैको परिवार दैनिक रूपमा संस्थाले दिएको रोटीमा निर्भर छन्।

"हामी विशेष गरी कमजोर व्यक्ति, अनाथ, अपाङ्गता भएका मानिसहरू र महिलाहरूलाई सहयोग गरिरहेका छौँ।"

यमन मध्यपूर्व र उत्तर अफ्रिका क्षेत्रको सबैभन्दा गरिब देश हो जसले करिब ९० प्रतिशत खाद्यान्न आयात गर्छ। विश्व ब्याङ्कका अनुसार यमनमा ४० प्रतिशत गहुँ युक्रेन र रुसबाट पठाइन्छ।

यमनी सहर एडेनबाट स्थानीय मुस्लिम ह्यान्ड्स सहायता संस्थाका कर्मचारीहरूले बीबीसीसँग, मूल्य वृद्धिले उनीहरूको मानवीय सहयोग परियोजनाहरूलाई ठप्प पार्न सक्ने बताए।

एडेनबासी राइधा मोथना अली पाँच सन्तानसहितकी एक विधवा हुन्। उनको परिवार परोपकारमा निर्भर छ।

"म आधारभूत आवश्यकताहरूको अभावबाट गुज्रिरहेकी छु। मसँग निश्चित तलब प्राप्त हुने काम छैन। म र मेरा सन्तानले दिनमा दुई वटा रोटी पाउँछौँ र हामी त्यही खान्छौँ। यदि उनीहरूले रोटी दिन बन्द गरे भने मसँग उपाय छैन," उनले बोलेको कुरा साराहले अनुवाद गरिन्।

रोटी उत्पादक उद्योगमा काम गर्ने सलह अहवासले "ताइज सहरका मानिसहरू रातको समयमा फोहोरको डङ्गुरमा खाना खोज्न जाने गरेको" सुनाए। उनले "त्यहाँ पुग्ने मानिसहरूले प्रतिष्ठा कायम राख्न अनुहार छोप्ने गरेको" बताए।

अनुमानित ५०,००० मानिसहरूले पहिले देखिनै अनिकाल जस्तो अवस्थाको सामना गरिरहेका छन् र ५० लाख मानिसहरू भोकमरीको नजिक पुगेका छन्।

यस्ता समस्या समाधानका लागि राजनीतिक र आर्थिक उपाय नहुँदा स्थिति झनै बिग्रने सम्भावना रहेको पर्यवेक्षकहरू बताउँछन् ।

तर कसरी अवस्था यति खराब भयो?

कहिले र कसरी युद्ध सुरु भयो?

सन् २०१४ को अन्त्यतिर हुथी विद्रोहीहरूले यमनको सबैभन्दा ठूलो र राजधानीसमेत रहेको शहर साना कब्जा गरेपछि यमनमा युद्ध सुरु भएको हो।

शिया इस्लामको जायदी सम्प्रदायलाई पछ्याउने हुथी समूहलाई इरानले समर्थन गर्ने ठानिन्छ।

उनीहरूले राष्ट्रपति अब्द्राबुह मन्सुर हादीको नेतृत्व रहेको सुन्नी सरकारको विद्रोह गर्दै गर्दै आएका छन्। हादी सन् २०१२ मा अरबको सरकार विरोधी आन्दोलनपछि राष्ट्रपति भएका हुन्। त्यसअघि अली अब्दुल्लाह सालेह लामो समय राष्ट्रपति रहेका थिए।

त्यति बेला यमनमा सङ्क्रमण काल थियो र हादी देशमा स्थायित्व स्थापना गर्ने लागि परेका थिए। सेना विभाजित भए र पृथकतावादीहरूले दक्षिणमा प्रदर्शनमा उत्रिए।

हुथीहरूले परिस्थितिको फाइदा उठाउँदै देशका अन्य ठाउँहरू समेत कब्जा गरे। प्रस्तावित सङ्घीय संविधान र सत्ता साझेदारीका लागि हादीको प्रस्तावलाई अस्वीकार गर्दै, उनीहरूले थप लक्ष्य तय गरे। उनीहरूको उद्देश्य दक्षिणमा स्वतन्त्रता चाहने पृथकतावादी दक्षिणी सङ्क्रमणकालीन परिषद् (एसटीसी) सँग मिल्दो थियो।

हुथीहरूले हादीलाई साउदी अरबमा पलायन हुन बाध्य बनाए जहाँ उनी अहिले बस्छन्। यद्यपि, उनी अझै पनि अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको प्रमुख हुन्।

युद्ध देशभित्र लडाकुहरूमा सीमित रहेन जसले "अरूले गरेकोजस्तो देखाउने युद्ध" छेड्यो र बाह्य तत्त्वहरूलाई त्यसमा सामेल गरायो।

सन् २०१५ को मार्च महिनामा साउदी अरबको नेतृत्व रहेको- प्राय सुन्नी मुस्लिम भएका खाडी देशहरूको, पश्चिम समर्थित गठबन्धनले देशमा इरानी प्रभाव समाप्त गर्ने उद्देश्यले हुथीहरू विरुद्ध हवाई अभियान सुरु गर्‍यो। उक्त गठबन्धनले अमेरिका, बेलायत र फ्रान्सबाट बन्दोबस्तका सामान र गुप्तचर सहायता प्राप्त गर्‍यो।

यमनका विभिन्न भागमा लडाइँ र हवाई आक्रमण जारी छ।

तथ्याङ्कमा यमनको सङ्कट

यमनमा सात वर्षभन्दा बढी समयदेखि जारी युद्धको आधिकारिक तथ्याङ्कले सहायता तत्काल पुर्‍याउनु पर्ने आवश्यकता दर्साउँछ। त्यहाँका मानिसहरू लडाइँले कम भोकले ज्यादा मरिरहेका छन्। करिब ३ करोड जनसङ्ख्या रहेको देशका ८० प्रतिशतभन्दा बढी मानिस कुनै न कुनै किसिमको सहायतामा निर्भर छन्।

  • सन् २०२१ को अन्त्यसम्म कम्तीमा ३७७,००० मानिसको मृत्यु भयो
  • सन् २०१४ को अन्त्यमा युद्ध सुरु भएदेखि १०,००० भन्दा बढी बालबालिका मारिएका वा घाइते भएका छन्
  • एक करोड ७४ लाख मानिसहरूलाई तत्काल खाद्य सहायताको आवश्यकता छ (यस वर्षको अन्त्यसम्ममा उक्त सङ्ख्या बढेर १ करोड ९० लाख पुग्ने आकलन गरिएको छ)
  • त्यहाँका ५० लाख मानिस भोकमरीको नजिकै छन् र ५०,००० मानिसले भोकमरी जस्तो अवस्था भोगिरहेका छन्
  • द्वन्द्वका कारण ४० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्

स्रोतहरू: यूएनएचसीआर, इउद्दओसीएचए, यूएन, डब्लूएफपी

समस्याको समाधान सम्भव छ त?

यमनमा शान्तिका लागि बनेका थुप्रै योजनाहरू असफल भएका छन् तर समस्या समाधानका लागि कूटनीतिक पहलहरू जारी छन्।

अधिकारीहरूका अनुसार साउदी अरबमा रहेको खाडी मुलुकहरूको सहकारी परिषद् जीसीसीले यसै महिना हुथी आन्दोलनकारी र अन्य यमनी पक्षहरूलाई परामर्शका लागि एकै ठाउँ बोलाउने योजना बनाएको छ।

यो दुर्लभ पहलले संयुक्त राष्ट्र सङ्घहरूले शान्तिका लागि गरेको प्रयासहरूलाई आड दिने उद्देश्य राखिएको छ। उक्त सम्मेलन मार्च २९ देखि अप्रिल ७ सम्म हुनेछ।

हुथीहरूले सम्मेलन स्थल तटस्थ भएको खण्डमा उक्त वार्तामा सहभागी हुने बताएका छन्। उनीहरूले आफ्नो प्राथमिकता यमनी बन्दरगाह र साना विमानस्थलको 'स्वैच्छिक' प्रतिबन्ध हटाउनु रहेको बताएका छन्।

तर वाशिङ्टनस्थित मध्यपूर्व इन्स्टिच्युटका यमन द्वन्द्व विश्लेषक, नाद्वा अल द्वासारी उक्त वार्ता सफल हुने विश्वास राख्दिनन्।

"म शान्तिपूर्ण समाधानको आशा गर्छु। तर त्यो निकट भविष्यमा हुने कुरामा शङ्का छ," उनले भनिन्।

"शान्तिको लागि कुनै तयारी भएको छैन। दलहरू सम्झौता गर्न तत्पर छैनन्। हुथीहरूले उनीहरूलाई शासन गर्ने अधिकार छ भन्ने सोच त्याग्न तयार छैनन्," उनी भन्छिन्।

"र हादी आठ वर्षदेखि पलायन छन्। उनलाई द्वन्द्व अन्त्य गर्नेबारे चासो छैन। उनले त हुथीहरूले जस्तै पैसा कमाउँदै आएका छन्।"

मुख्य पक्षहरूले युद्धबाटै पैसा कमाइरहेका कारण उनीहरू सम्झौताका लागि तयार नहुने उनले बताइन्।

साउदी अरबले गत वर्षको मार्चमा पनि शान्ति योजना प्रस्ताव गरेको थियो। संयुक्त राष्ट्रसङ्घको निरीक्षणमा युद्धविराम गर्न दिइएको त्यो सुझाव असफल ठहरियो।

बाइडन प्रशासनले सन् २०२१ मा यमनप्रति अमेरिकी नीति परिवर्तन गर्‍यो। त्यसले ट्रम्प प्रशासनले हुथीहरूलाई दिएको 'आतङ्कवादी'को पहिचान खारेज गरेको थियो। त्यसपछि साउदी नेतृत्वको खाडी देशहरूको गठबन्धनले बाइडनप्रतिको समर्थन अन्त्य गर्‍यो जसलाई बाइडनले "आक्रामक कारबाही"को संज्ञा दिए।

मानवीय अवस्था सुधार्न के गर्न सकिन्छ?

यमनका नागरिक प्राय सहायतामा निर्भर छन्। सहायक निकाय र अन्तर्राष्ट्रिय संस्थाहरूको प्रयासहरूको सीमितता दाताहरूले दिने रकमले निर्धारण गर्छ।

तेल र खाद्यान्नको मूल्य विश्वव्यापी रूपमा बढ्दै जाँदा, धेरै जना आफ्नो परियोजनाका लागि पर्याप्त रकम नपाउने कुरामा चिन्तित छन्।

संयुक्त राष्ट्रले सन् २०२० मा आवश्यक पर्ने ती अर्ब ४० करोड डलरमध्ये आधाभन्दा बढी मात्र प्राप्त गरेको थियो। गत वर्ष दाताहरूले २ अर्ब ३० करोड डलर दिएका थिए। सङ्घको कोष रित्तिएका कारण विश्व खाद्य कार्यक्रम डब्लूएफपीलाई पनि यमनमा खाद्यान्न सहायता घटाउन बाध्य पारिएको थियो।

मार्च १६ मा संयुक्त राष्ट्रले दाताहरूको ध्यान यमनतर्फ आकर्षित गर्न अर्को प्रयास गर्‍यो। तर उक्त एक-दिवसीय कार्यक्रममा दातृ देशहरूलाई गरिएको विशेष अपिलमार्फत सङ्गठनले १ करोड ७३ लाख मानिसहरूलाई मद्दत गर्न १ अर्ब ३० करोड डलर सङ्कलन गर्‍यो जुन संयुक्त राष्ट्रले आशा गरेकोभन्दा रकमको एक तिहाइ मात्र थियो।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यमनको सङ्कटलाई युक्रेनी युद्धले छायाँमा पर्न नहुने चेतावनी दिएका छन्।

गत वर्ष यूके सरकारले यमनलाई प्रदान गर्दै आएको सहायताबाट ठूलो रकम कटौती घोषणा गर्‍यो। यस वर्ष ११ करोड ५० लाख डलर दिने बताएको छ जुन रकम गत वर्ष प्रतिबद्धता जनाएको २१ करोड ५० लाख भन्दा कम हो।

"यो कदम निकै हानिकारक छ र अब हामीसँग पैसा सकिएको छ," डब्लूएफपीका कार्यकारी निर्देशक डेभिड बिस्लेले मार्च १६ मा भएको सम्मेलनमा भने।

"खाद्यान्न यमनका बालबालिकाहरूलाई दिने या युक्रेनका बालबालिकाहरूलाई भन्ने कुराको निर्णय गर्ने जिम्मेवारी हामीलाई नदिनुस्।"

यमनमा कोषमा घटेको स्रोत नै चिन्ताको प्रमुख विषय हो।

"युक्रेनको युद्धले हाम्रा परियोजनाहरूलाई निश्चित रूपमा असर गर्नेछ र सायद हामीले सहयोगमा कटौती गर्नुपर्ने हुन्छ," परोपकारी संस्था मुस्लिम ह्यान्ड्स, यमनका निर्देशक अब्दुल रहमान हुसेन भन्छन्।

"हाल हामी यहाँ हरेक दिन ५०,००० रोटीहरू बाट्छौँ। तर मूल्य वृद्धि दोब्बर भएको कारण यस कार्य जारी राख्न हामीलाई थप सहयोग चाहिन्छ। नत्र हामीले रोटी उत्पादन गर्ने केही उद्योग बन्द गर्न सक्छौँ," उनले चेतावनी दिए।

"जारी तनावका कारण विश्वको ध्यान यमन जस्तो तेस्रो विश्वको देशभन्दा बढी युक्रेनमा केन्द्रित छ। तर यो देश गत महिना मात्रै होइन, विगत सात वर्षदेखि उपेक्षा गरिएको छ।"