युक्रेन युद्ध: अग्रपङ्क्तिमा स्वयंसेवी महिला लडाकु

    • Author, हेरियट ओरेल
    • Role, बीबीसी विश्व सेवा

"प्रतिरोधमा अहिले हामीहरूसँग महिलाहरू छन्," युक्रेनी प्रथम महिलाले आफ्नो इन्स्टाग्राममा लेखिन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीकी श्रीमती ओलेना जेलेन्स्काले रुसी आक्रमणपछि मन छुने तस्बिरहरू सामाजिक सञ्जालमा शेअर गरिरहेकी छिन्।

सैनिक पोसाकमा हतियार बोकिरहेका महिलाहरूका तस्बिरहरू जेलेन्सकाले मात्रै हालिरहेकी छैनन्।

गत फेब्रुअरीमा युक्रेनमाथि रुसी आक्रमण सुरु भएपछि युद्धमा होमिएका महिलाहरूका तस्बिरहरू सामाजिक सञ्जालभरि फैलिएका छन्।

दशौँ लाख मानिसहरू देशको सुरक्षित पश्चिमी क्षेत्रहरूमा भागेर पुगेका छन्। अधिकांश महिला र बालबालिका घर छोडेर हिँडेका छन् भने धेरैजसो पुरुषहरू रुसी आक्रमणबाट सहरको रक्षा गर्न खटिएका छन्।

ज्यानको उच्च जोखिमबीच जेलेन्सकासहित धेरै महिलाहरू भने सहरमै बसिरहेका छन्।

युद्धको अग्रपङ्तिमा रहेका पाँच महिलाहरूको कथा हामीले यहाँ समेटेका छौँ।

किरा रादिक: 'डरलाग्दो छ तर मलाई रिस उठेको छ'

"युद्ध सुरु हुनु अघिसम्म मैले बन्दुक छोएको पनि थिएन। कहिल्यै आवश्यक नै परेन," युक्रेनकी सांसद किरा रादिक भन्छिन्।

"तर जब युद्ध सुरु भयो र हामीले पनि बन्दुक पाउने सम्भावना भयो, मैले बन्दुक समाउने निर्णय लिएँ।"

उनले आफूलाई बन्दुक गह्रौँ लागेको र धातु तथा तेलको गन्ध आउने अनुभव सुनाइन्।

रादिकले किएभमा प्रतिरोध समूह बनाएकी छन्। उनीहरूले हाल युक्रेनको राजधानी रक्षाका लागि तालिम लिइरहेका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको "हत्या गर्ने सूची"मा आफूलाई राखिएकोबारे गुप्तचर निकायले सचेत गराएपछि उनले आफू रहेको स्थान भने गोप्य राखेकी छन्।

युक्रेनको भ्वाइस पार्टीकी उच्च पदस्थ नेतृको कामसँगै उनले आफ्नो वरपरका क्षेत्रमा टोलीसहित गस्ती पनि गर्ने गरेकी छन्।

रादिकले बन्दुक बोकिरहेको फोटो अनलाइनमा भाइरल भएपछि अरू महिलाहरूलाई पनि हतियार उठाउन त्यसले माहौल बनाएको उनी बताउँछिन्।

"हामी पनि लडिरहेका छौँ भन्ने सन्देश धेरै महिलाहरूले मलाई पठाएका छन्," उनले बीबीसीसँग भनिन्।

"हामीलाई यो युद्ध कस्तो हुन्छ भन्नेबारे कुनै भ्रम छैन, तर हामीलाई हाम्रो आत्मसम्मान, ज्यान र बालबच्चा बचाउन लड्नु छ।"

"यो डरलाग्दो छ। तर मलाई निकै रिस उठेको छ। देशको लागि लड्नको लागि लड्न मलाई सम्भवतः यो सबैभन्दा उत्तम समय हो भन्ने लागेको छ," उनले भनिन्।

युक्रेनमा महिला सैनिक

विश्व ब्याङ्कका अनुसार युक्रेनको चार करोड ४० लाख जनसङ्ख्यामध्ये दुई करोड २३ लाख महिला छन्। यो देश महिला सैनिकको अनुपात धेरै भएका मुलुकमध्ये पर्छ।

युक्रेनी सेनाका अनुसार उसका १५.६ प्रतिशत फौजीहरू महिला छन्। गत डिसेम्बर महिनामा १८ देखि ६० वर्षसम्मका महिलालाई सेनामा भर्ती खुलाइएपछि यो अनुपात अझै बढी भएको अनुमान गरिएको छ।

रुसी आक्रमणपछि मृत्यु हुनेहरूको यकिन सङ्ख्या अझै अज्ञात भए पनि युक्रेनी अधिकारीहरूले एक हजारभन्दा बढीले ज्यान गुमाइसकेको बताउँदै आएका छन्।

यसको स्वतन्त्र पुष्टि हुन नसके पनि गत मार्च ८ मा संयुक्त राष्ट्रसङ्घले ५१६ सर्वसाधारणको मृत्यु भएको उल्लेख गरेको छ।

हरेक दिन युद्ध चलिरहँदा दुवै पक्षमा हताहत हुनेको सङ्ख्या हजारौँ पुगेको ठानिएको छ। मृत्यु हुने भन्दा घाइते हुनेहरूको सङ्ख्या अझै ठूलो छ।

युद्धको पहिलो दुई हप्तामा १३०० युक्रेनी फौजको मृत्यु भएको राष्ट्रपति जेलेन्सकीले बताएका छन्।

बमवारिबाट बच्न मानिसहरू भूमिगत तल्लाहरूमा बसिरहेका छन् र रेल स्टेसन, निजी घर देखि अस्पतालमा सम्म क्षेप्यास्त्र र बम हमला भएका छन्। युक्रेनको युद्ध क्षेत्रमा बसिरहेकाहरूको अवस्था यस्तै छ।

मार्हरिता रिभाचेन्को: "मसँग भाग्ने ठाउँ थिएन"

राजनीतिज्ञसँगै सर्वसाधारण महिलाहरू पनि युद्धमा स्वयंसेवा गरिरहेका छन्।

युद्ध सुरु हुनुभन्दा केही दिनअघि मार्हरिता रिभाचेन्कोले हङ्गेरीको बूडापेस्टमा साथीहरूसँग आफ्नो २५औँ जन्मदिन मनाएकी थिइन्।

उनले अहिले आफ्नो सहरमा रुसी बम आक्रमण र हवाई गस्तीका साइरनबीच आश्रयस्थलमा कसरी निदाउने भन्ने सिकिसकेकी छन्।

"युद्ध सुरु हुँदा मेरो परिवार खार्किभमा थियो, म किएभमा एक्लै थिएँ। मसँग भाग्ने कुनै ठाउँ नै थिएन," जनसम्पर्क व्यवस्थापकको काम गर्दै आएकी उनले बीबीसीसँग भनिन्।

"म यहाँबाट उद्धार भएर जान चाहिनँ बरु यहीँ केही गर्न चाहेँ। मैले क्षेत्रीय रक्षामा लड्ने निर्णय गरेँ।"

रिभाचेन्कोले प्राथमिक उपचार सिकेर आफ्नो फौजी समूहमा नर्सिङ सहायकको रूपमा काम गरिरहेकी छिन्।

"म धेरै डराएँ," उनले भनिन्।

"मैले मेरो जीवनलाई धेरै माया गर्छु। म बाँच्न चाहन्छु तर सबै कुरा यो युद्धमा भर पर्छ। त्यसैले यसको अन्त्यका लागि मैले केही गर्नै पर्‍यो।"

युष्टिना डुजन: 'मेरो प्राथमिकता बाँच्नु हो'

भौगोलिक रक्षा टोलीहरूमा सबै जना सहभागी हुन सक्दैनन्। एक त त्यहाँ धेरै जना स्वयंसेवकहरू परिचालन भइसकेका छन् अर्को सबै जनालाई कसरी सुरक्षित रहने भन्ने पर्याप्त अनुभव छैन।

"म अहिले जगेडा समूहमा छु र युद्ध लड्न तयार छु," युष्टिना डुजनले भनिन्।

"किएभमा हतियार र कारबिना मेरो काम प्रभावकारी नभएपछि मलाई उद्धार गरेर लिएभमा ल्याइएको थियो।"

उनले आफू सुरक्षित स्थानमा रहेर मानिसहरूलाई सङ्गठित हुन, हातहतियारयुक्त हुन र अग्रपङ्तिमा मानवीय सहायता पठाउन स्वयंसेवा गरिरहेको बताइन्।

प्रविधि क्षेत्रमा परामर्शदाताको काम गर्दै आएकी युष्टिना डुजन युद्धअघि पशु अधिकारकर्मी पनि थिइन्। युद्धका कारण जनावरबारे चिन्ता गर्ने भावनात्मक क्षमता आफूसँग नरहेको उनी बताउँछिन्।

"जनावरहरू सहरमा छोडिएका कारण मर्ने अवस्थामा छन्। तर मेरो प्राथमिकता बाँच्नु हो र हाम्रा सशस्त्र समूहहरूलाई युद्ध सकिँदासम्म अडिग रहन सहयोग पुर्‍याउनु हो," उनले भनिन्।

"हाम्रा बालबालिकाहरू मारिँदै छन्। उनीहरू हरेक युक्रेनीलाई मार्न चाहन्छन् यस्तो अवस्थामा हामीलाई निकै एक्लो महसुस भएको छ। म मारिन चाहन्नँ।"

ओलेना बिलित्सकाई: 'मेरी छोरी स्वतन्त्र युक्रेनमा जन्मिउन्'

पूर्वसरकारी वकिल ओलेना बिलित्सकाईको किएभस्थित घर युक्रेनियन विमिन्स गार्डको मुख्यालय जस्तै बनेको छ।

छ महिनाकी गर्भवती उनले सहरको रक्षाका लागि आफ्ना श्रीमान्, १६ र ११ वर्षका दुई छोरीसँगै राजधानीमै बस्ने निर्णय लिएकी छन्।

"हामीले प्रतिकारका लागि देशभरका महिलाहरूलाई सङ्गठित गरिरहेका छौँ," उनले भनिन्।

"यहीँ रहेर लड्ने हाम्रो पारिवारिक निर्णय हो किनभने हामी अरूको अधीनमा बस्न चाहँदैनौँ।"

"यो दासत्व र स्वतन्त्रताको प्रश्न हो। देशभरका महिलाहरूको यही भावना छ। त्यसैले हामी जति सक्छौँ किएभमै रहन्छौँ," उनी भन्छिन्।

उनी र उनका श्रीमान्‌ले सर्वसाधारण नागरिकहरूलाई युद्धका लागि मानसिक र शारीरिक रूपमा तयार गर्ने काम गरिरहेका छन्।

उनीहरूले मोलोटोभ ककटेल बनाउन, राइफलहरू चलाउन सिकाउने र विभिन्न भाषामा सूचनाहरू प्रकाशित गर्ने काम गरिरहेका छन्।

उनको संस्थाले रुसी सेनाले निशानाका लागि राखेका सङ्केतहरूलाई हटाउने वा अवरोध पुर्‍याउने काम पनि गरिरहेको छ।

"म भाग्न चाहन्न र त्यसो गर्ने मेरो कुनै योजना पनि छैन," उनी भन्छिन्।

"मलाई थाहा छैन हामी बाँच्छौँ या बाँच्दैनौँ। तर बाँचियो भने म तेस्रो छोरीलाई स्वतन्त्र युक्रेनमा जन्म दिन चाहन्छु।"

यारिना आरिभा: 'मलाई आफ्नोबारे कुनै डर लागेको छैन'

पुटिनले युक्रेनमा आक्रमण गर्ने निर्णय गरेकै दिन यारिना आरिभाको मनमा एउटै कुरा आयो। उनले विवाह गर्ने निर्णय गरिन्।

उनी अहिलेका श्रीमान्‌सँग छुट्टिएर बस्दै आएकी थिइन्। तर यो जोडीले युद्धभरि सँगै बस्ने र किएभको रक्षाका लागि सँगै लड्ने निर्णय लियो।

"मेरो देश र सहरको रक्षाका लागि म जेसुकै पनि गर्न तयार छु," उनले भनिन्।

"यहाँ मेरो सारा सम्पत्ति छ। आमा बुबा छन्, बिरालो छ र मैले माया गर्ने हरेक कुरा यहीँ छ। म किएभ छोड्नै सक्दिन बरु लड्न तयार छु।"

आरिभा किएभको सिटी काउन्सिलमा उपप्रमुख छिन्।

उनीसँग हातहतियार पनि छ र श्रीमान्‌सँग रक्षा आधार क्षेत्रसम्म गएकी छिन् तर अनुभवको कमीका कारण कुनै पनि मिसनमा सहभागी भएकी छैनन्।

उनका श्रीमान् अग्रपङ्तिमा लडिरहेका छन्।

"युद्धअघि मलाई धेरै डर लाग्थ्यो। म कुकुरसँग पनि डराउँथेँ अँध्यारोदेखि पनि डराउँथेँ," २१ वर्षकी उनले भनिन्।

"मलाई अहिले एउटै डर आफ्ना श्रीमान्‌लाई केही भइहाल्छ कि भन्ने छ। आफ्नोबारे कुनै डर छैन।"