तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सिङ्गापुरको जङ्गलमा जसले ३० वर्ष बिताए
- Author, पीटर हस्किन्स
- Role, बीबीसी न्यूज, सिङ्गापुर
सिङ्गापुर विश्वमै व्यापक रूपमा उच्च सहरीकरण भएको राष्ट्रका रूपमा परिचित छ जहाँ गगनचुम्बी भवन अनि विलासी अपार्टमेन्टहरूको कमी छैन।
तर त्यहाँ एकजना त्यस्ता व्यक्ति पनि छन् जसले सहरका सुविधा छाडेर जङ्गलमा घर बनाए।
ओ गो सेङ्गलाई भेट्दा तपाईँलाई प्रभाव पार्ने पहिलो कुरा उनको आँखामा देखिने चमक हो।
उमेर ७९ वर्ष भए तापनि उनी त्यस्तो देखिन्नन्।
आफूभन्दा आधा उमेरका कैयौँ मानिसहरू भन्दा उनको शारीरिक बनोट चुस्त देखिन्छ।
यसै महिनाको सुरुमा उनको कथा सिङ्गापुरमा निकै चर्चित बन्यो।
धेरैले जङ्गलमा बसेका उनीबारे थाहा पाउँदा अचम्म माने।
केहीले उनलाई किन थप मद्दत गरिएन भन्ने प्रश्न गरे भने केहीले ३० वर्षसम्म कसरी अरूको ध्यानाकर्षण नगरी उनी त्यहाँ बसे भन्ने कुराबारे जिज्ञासा व्यक्त गरे।
क्रिसमसको बेला समस्या
क्रिसमसको दिन ओलाई अधिकारीहरूले रोके र अनुमतिपत्रबिनै उनले कारोबार गरेको थाहा पाएपछि कथाको सुरुवात भयो।
कोरोनाभाइरस महामारीपछि पुष्प व्यापारको रोजगारी उनले गुमाए।
त्यसपछि उनले सागपात अनि खुर्सानी बेच्ने गरेका थिए।
करिब एक सिङ्गापुर डलर पर्ने सामानबारे भएको बहसका कारण रिसाएका एकजना ग्राहकले आफूबारे अधिकारीहरूसँग गुनासो गरेको हुनसक्ने उनको विश्वास छ।
अधिकारीहरूले तरकारी जफत गरेर केरकार गरिरहेका बेला एकजना स्वयंसेवीले उनलाई देखिन्।
भीभीअन पानले त्यो देखेपछि आफूलाई रिस उठेको अनि त्यस दिन आफूलाई ती व्यक्ति खालि हात घर नफर्किउन् भन्ने लागेको बताइन्।
''तर कानुनी हिसाबले हेर्दा उनीहरूले सडकमा सामान बेच्न नपाउने कुरा मलाई थाहा थियो,'' उनले थपिन्।
उनले त्यो घटनाको भिडिओ कैद गरिन् र सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरिन्।
भिडिओ एक छिनमा भाइरल भयो। र त्यो भिडिओले त्यहाँका एक जना सांसदको ध्यान खिच्यो।
सांसद लियाङ्ग एङ्ग ह्वाले ओको कथाको थप रोचक पाटो थाहा पाए।
उनी कसैको नजरमा नपरीकनै ३० वर्षदेखि जङ्गलमा जीवन बिताइरहेका थिए।
जङ्गलमा जीवन
ओले आफ्नो बाल्यकाल परिवारसँग सुङ्गाइ तङ्गा बस्तीमा बिताए।
सन् १९८० को दशकमा भने गगनचुम्बी भवनहरू निर्माण गर्नका लागि उक्त बस्ती भत्काइयो।
त्यस बेला धेरै स्थानीय बासिन्दाहरूलाई सरकारले नयाँ घर दियो तर ओले भने आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।
तर उनका भाइले एउटा सरकारी फ्ल्याट पाएका थिए र उनलाई त्यहीँ बस्न बोलाए।
तर लामो समयसम्म भाइलाई भार बोकाउन नचाहेका कारण आफू त्यहाँबाट बाहिरिएको ओ बताउँछन्।
त्यसपछि उनी नजिकैको जङ्गलमा गए जहाँ कुनै बेला उनको घर थियो।
काठ, बाँस अनि त्रिपालले बनेको कामचलाउ अस्थायी घरमा उनले रात बिताउन थाले।
उनको घर छिर्ने बाटोमा खरानी देखिन्छ जुन उनले खाना पकाउन प्रयोग गरेको दाउराबाट निस्किएको हो।
त्यस घरको बीचमा उनका सामानका थुप्रो छन्। पछाडिपट्टि भागमा सुत्ने ठाउँ छ।
अस्थायी टहराअघि करेसाबारी छ।
एक्लै बस्ने भए पनि बारीको कामले गर्दा एक्लोपन महसुस नभएको उनले बताए।
टहराभित्र छिरेर कपडा काट्ने हुँदा सबैभन्दा ठूलो समस्या मुसाको रहको उनले बताए।
दैनिकी
कहिलेकाहीँ आइपरेको काम उनी गर्थे।
र कमाएको पैसाबाट डुङ्गा चढेर इन्डोनेसिया नजिकै रहेको बाटमटापु पुग्थे।
त्यहाँ उनले म्याडम तसीचलाई भेटे। उनीहरूका एक छोरी छन्।
अहिले पनि उनी सप्ताहान्तमा बाटम जान्छन् अनि सिङ्गापुरको जङ्गलमा रहेको घरमा फर्कन्छन्।
सिङ्गापुरमा उनको परिवारलाई जस्तै उनकी पत्नी अनि १७ वर्षकी छोरीले उनी कहाँ बस्छन् आफूहरूलाई थाहा नभएको बताए।
प्रश्न सोध्दा आफू एउटा बगैँचामा बस्ने गरेको उनले बताउने एक जना आफन्तले बताए।
कोभिड महामारीका कारण कडा नियमहरू लागु गरिएपछि बाटमसम्मको उनको यात्रामा बिराम लाग्यो।
त्यसपछि पनि उनले आफ्नो परिवारलाई आर्थिक सहयोग गरिरहे।
उनले हरेक महिना ५०० देखि ६०० सिङ्गापुर डलर पठाउने गर्थे।
सिङ्गापुरमा घर नहुनेहरूको सङ्ख्या निकै कम छ।
औसतमा यो देशका नागरिकहरू विश्वकै धनी मानिसहरूमध्ये पर्छन्।
सिङ्गापुरमा १,००० मानिस मात्रै घरविहीन रहेको अनुमान गरिएको छ।
'पहिलो पटक टेलिभिजन हेर्न पाएँ'
यो वर्षको फेब्रुअरी महिनामा स्थानीय सांसदको टोलीको सहयोगमा उनलाई नयाँ घर उपलब्ध गराइयो।
सांसद लियाङ्गले आफ्नो टोलीले उनलाई आफ्नी पत्नी र छोरीसँग पुनर्मिलन गराउनेदेखि थप समय सहायता उपलब्ध गराउन जारी राख्ने बताएका छन्।
एउटा सुत्ने कोठा सहितको सानो फ्ल्याटमा उनी अर्का एक व्यक्तिसँगै बस्छन्।
केही निजी सामानबाहेक त्यहाँ शुभेच्छुकहरूले उपलब्ध गराएको फ्रिज, टेलिभिजन, कित्ली अनि पानी तताउने हिटर छ।
उनलाई सबैभन्दा मन भने पानी तताउने हिटर पर्यो।
उनले टहरो नजिकैको तालमा धुने-नुहाउने कार्य गर्थे।
धाराको पानी उनलाई चिसो लाग्यो।
हाल उनी सवारीचालकका रूपमा काम गर्छन्।
तीन दशकभन्दा लामो समयमा पहिलो पटक नयाँ घरमा सरेको दिन उनले परिवारसँग लुनार नयाँ वर्ष मनाए।
''मैले निकै धेरै खानेकुरा खाएँ। र त्यहाँ यति धेरै खानेकुरा थिए कि जसमध्ये धेरै कुरा मैले वर्षौँसम्म चाख्न पाएको थिइनँ,'' उनले हाँस्दै भने।
''निकै रमाइलो भयो। ३० वर्ष भन्दा लामो समयपछि पहिलो पटक टेलिभिजन हेर्न पाएँ। मलाई निकै रमाइलो लाग्यो।''
फ्ल्याटमै बस्न रुचाउने भए पनि उनी जङ्गलको स्वतन्त्र जीवन सम्झन्छन्।
"म त्यहाँ धेरै वर्षसम्म बसेँ, त्यसैले स्वाभाविक रूपमा म त्यो ठाउँ सम्झन्छु," उनले भने।
"अहिले पनि म हरेक दिन जङ्गलमा फर्कन्छु। म बिहान ३ बजे उठ्छु र मेरो काम सुरु हुनुअघि नै लुगा लगाएर तरकारीहरू हेर्न निस्कन्छु।"