तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
युक्रेन तनाव: यूकेमा रुसको कति पैसा छ
युक्रेन तनावलाई लिएर यूकेले रुसमाथि प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेको छ।
तर विदेशमन्त्री लिज ट्रसले बीबीसीसँग कुरा गर्दै 'लन्डनमा अवैध धन राख्ने विषयमा विगतमा समस्याहरू देखिएको र त्यसलाई सुल्झाउन खोजिएको' बताइन्।
यो मुद्दासँग जुझ्ने काम किन कठिन छ?
यूकेमा रुसको कति पैसा छ?
रुस र विश्वभरिबाट धेरै सम्पन्न व्यक्ति तथा कम्पनीले वैध ढङ्गले यूकेको आर्थिक तथा घरजग्गा बजारमा लगानी गरेका छन्।
तर भ्रष्टाचारविरुद्ध काम गर्ने सङ्गठन ट्रान्सपरेन्सी इन्टरन्याश्नलले यूकेमा ५ अर्ब पाउन्ड स्टर्लिङभन्दा धेरै 'शङ्कास्पद सम्पत्ति' ल्याइएको बताउँदै त्यसको पाँच भागको एक भाग रुसबाट आएको जनाएको छ।
ब्रिटिश गृह मन्त्रालयको एक प्रतिवेदनका अनुसार यूकेले 'एउटा उल्लेख्य मात्रामा रुसी वा रुससँग जोडिएका अवैध लगानी' देखेको छ।
जुन विलासी भवन, कारहरू र विद्यालयको शुल्कका लागि खर्च गरिन्छ।
कहिलेकाहीँ त्यो उनीहरूको प्रतिष्ठा सुधार्नेगरी सांस्कृतिक संस्थाहरूमा दानको रूपमा समेत प्रयोग हुनेगरेको छ।
जब त्यो घरजग्गाको विषयमा जोडिन्छ त्यो व्यक्तिगत हैसियतमा नभई कम्पनीहरूमार्फत् जोडिन्छ र सूचना कहिलेकाहीँ सहजै आइदिँदैनन्।
इङ्ग्ल्यान्ड र वेल्सका विदेशी कम्पनीहरूको स्वामित्वसम्बन्धी विवरणका अनुसार ९४ हजार घरजग्गामध्ये चारवटा मात्र रुसी कम्पनीहरूको स्वामित्वमा छन्।
तर के सम्भव छ भने थप धेरै घरजग्गा खरिदका काम रुसी नागरिकहरूबाटै हुनसक्छ।
जसका लागि उनीहरू ब्रिटिश भर्जिन आइल्याड्स (बीभीआई) जस्ता ठाउँमा आफ्ना कम्पनीको आधार बनाउन सक्छन्।
सन् २०२१ को प्यान्डोरा पेपर्सले चुहाएको एक करोड २० लाख दस्ताबेजमध्येमा ती कम्पनीहरूको आकार खुलाइएको छ।
त्यसमा विश्वका केही धनी र शक्तिशाली मानिसहरूको गोप्य सम्पत्ति, करछली र केही घटनामा सम्पत्ति शुद्धीकरणको कुरा उल्लेख छ।
अनुसन्धानकर्ताहरूले पहिचान गरेअनुसार ७०० भन्दा धेरै अफसोर कम्पनीहरूले यूकेमा घरजग्गाको स्वामित्व लिएका छन् र तीमध्ये ५ प्रतिशत रुसी नागरिक छन्।
एउटा उदाहरण रुसी राजनीतिज्ञ तथा व्यापारी एलेक्सई सेफा हुन् जसले एक बीभीआई कम्पनीलाई प्रयोग गरेर सन् २०११ मा होलन्ड पार्कमा १० बेडरुम भएको एउटा विशाल भवन किनेका थिए।
र, गतवर्ष मात्र त्यसलाई २ करोड ५० लाख पाउन्डमा विक्री गरे।
उनका प्रतिनिधिहरूले बताएअनुसार त्यस्तो खरिद 'त्यसबेला सुझाइएका सबै प्रकिया पुर्याएर गरिएको' थियो।
रुसी लगानीकर्ताका लागि यूके किन आकर्षक छ?
लामो समयदेखि लन्डन धनी रुसीहरू बस्ने, घरजग्गा किन्ने वा लगानी गर्ने कामका लागि रोजाइको गन्तव्यको रुपमा छ।
यूकेको 'गोल्डन भिसा' अर्थात् टिअर वान (लगानीकर्ता) को भिसा स्कीमले २० लाख पाउन्ड वा त्योभन्दा धेरै लगानी गर्नेलाई परिवारसाथ आवासीय अनुमति दिन्छ।
सो भिसा भएकाहरू यूकेमा स्थायी आवासीय अनुमतिका लागि आवेदन दिन सक्छन्।
कति छिटो उनीहरूले त्यो आवेदन दिनसक्ने भन्ने कुरा लगानीको आकारसँग जोडिन्छ।
- १ करोड पाउन्ड लगानी गरेमा दुई वर्ष
- ५० लाख पाउन्ड लगानी गरेमा तीन वर्ष
- २० लाख पाउन्ड लगानी गरेमा पाँच वर्ष
गृह मन्त्रालयले सन् २००८ मा यस कार्यक्रम ल्याएयता १४ हजार ५१६ रुसीलाई लगानी भिसा जारी गरेको छ।
रुसी कम्पनीहरूले लन्डन शेअर बजारमा ठूलो रकम जम्मा पार्न सकेका छन्।
एक उर्जा कम्पनी (इन् प्लस ग्रुप) त्यस्तो लाभ पाउने एउटा हो।
सुरुवाती साधारण सेअर जारी गर्दा उक्त कम्पनीलाई राष्ट्रपति पुटिनका एक सहयोगी ओलाग डेअरपास्काले नियन्त्रण गरेका थिए।
सन् २०१८ मा ब्रिटिश तल्लो सदनको एक प्रतिवेदनले सरकारलाई ईएन प्लस जस्ता प्रतिबन्ध लागेका देशका कम्पनीलाई लन्डनको शेअर बजारमा सूचीकृत हुन दिने खाडल पुर्न भनेको थियो।
सरकारले अहिलेसम्म कस्ता कदम चालेको छ?
सन् २०१८ मा यूके सरकारले फौजदारी अभियोग प्रमाणित नभए पनि सम्पत्ति जफत गर्न सकिने व्यवस्था ल्यायो।
अनएक्सप्लेन्ड वेल्थ अडर्स नामको त्यो प्रणालीले मानिसहरूमाथि घरजग्गा खरिद गर्ने रकम कहाँबाट आयो भन्ने प्रमाणित गर्ने दायित्व थपिदिएको छ।
यद्यपि त्यो दायित्व चार पटक मात्र प्रयोग भएको छ र एउटामा मात्र सम्पत्ति जफत भएको छ।
सन् २०१६ मा सरकारले भनेअनुसार उसको योजना सम्पत्ति शुद्धीकरणसँग जुझ्नेछ।
जसका लागि उसले यूकेको सम्पत्तिमा त्यसको अन्तिम स्वामित्व र लाभ लिने व्यक्तिहरूको विस्तृत अनुसन्धान गर्ने जनाएको थियो।
यी योजनाहरू सन् २०१९ मा महारानीको मन्तव्यमा समेत उल्लेख गरिएका थिए। तर सरकारले ती योजनालाई कानुनका रूपमा कहिले ल्याउने भन्ने खुलाएको छैन।
यूके सरकारले रुसमाथि जारी प्रतिबन्धहरू युक्रेनमाथि उसले हमला गर्न सक्ने अवस्थामा थप विस्तार गर्न सकिने घोषणा गरेको छ।
विदेश मन्त्रालयका अनुसार नयाँ उपायहरूले यूकेलाई 'अमेरिका र अन्य साझेदारलाई उसका सम्पत्ति रोक्का र यात्रा प्रतिबन्ध लगाउन' सहयोग गर्नेछ।
क्रेम्लिनसँग सम्बन्धित व्यक्तिहरू त्यसमा निशानामा पर्ने, उनीहरूका यूकेमा रहेका सम्पत्ति रोक्का गरिने र उनीहरूलाई यूके प्रवेश गर्न रोकिने र यूकेका कुनै व्यावसाय र व्यक्तिसँग व्यापार गर्न नदिने छ।