तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
त्रिभुवन 'विमानस्थलमा प्रिन्ट गरिएको टिकट अनिवार्य गरिएको होइन'
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर उडान भर्ने यात्रुहरूले हवाई टिकट प्रिन्ट गरेरै बोक्नुपर्ने नयाँ नियम आएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ।
मङ्गलवार बुद्ध एयरले ट्वीटमा विमानस्थल प्रशासनले "प्रिन्टेड टिकट अनिवार्य गरिएको" जानकारी गराएको थियो।
यसबारे सामाजिक सञ्जालमा कतिपयले रोष व्यक्त गरेका छन् भने कतिपयले व्यङ्ग गरेका छन्।
यसअघि विमान कम्पनीले प्रदान गर्ने यात्रु नाम अभिलेख पीएनआर नम्बरको आधारमा अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरी भागमा रहेको आन्तरिक टर्मिनलमा प्रवेश पाउन सहज थियो।
तर विमानस्थल प्रवक्ता र प्रहरीले बीबीसी न्यूज नेपालीसँग विमानस्थलमा टिकट प्रिन्ट गरेरै ल्याउनुपर्ने अनिवार्य नियम नभएको बताएका छन्।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौला टिकट मोबाइलमै देखाए पनि हुने बताए।
"हामीले टिकट प्रिन्ट नै गरेर ल्याउनूस् भनेका छैनौँ। अहिले धेरैसँग स्मार्टफोन हुन्छ, मोबाइलमै टिकट देखाए पनि हुन्छ," सिटौलाले भने।
सिटौलाले भने, "यसअघि पीएनआरका आधारमा पनि प्रवेश दिइँदा अनधिकृत व्यक्तिहरू विमानस्थलमा प्रवेश गरेको भन्ने गुनासो आएपछि हामीले त्यसका आधारमा मात्रै प्रवेश दिन रोकेका हौँ।"
विमानस्थल प्रशासनले मङ्गलवार बाटै नयाँ व्यवस्था कार्यान्वयनमा आएको जनाएको छ।
अब यात्रुहरूले प्रिन्टेड वा डिजिटल टिकट देखाएपछि मात्रै टर्मिनलभित्र बोर्डिङ पास लिने स्थलमा प्रवेश पाउने विमानस्थलका अधिकारीहरूले बताएका छन्।
"तर हामी अझै केही दिन विमान कम्पनी र यात्रुहरूलाई (पीएनआर देखाएर प्रवेश गर्ने) समय दिन्छौँ। सबैलाई यो नियमबारे थाहा भएपछि मात्रै यसमा पूर्ण रूपमा यो कार्यान्वयन हुन्छ," सिटौलाले भने।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल प्रहरीका उपरीक्षक हिमालयकुमार श्रेष्ठले पनि मोबाइलमै टिकट देखाए पनि प्रवेश दिइने बताए।
"बाहिर चर्चा भएजस्तो प्रिन्टेड टिकट नै अनिवार्य भनिएको होइन। मोबाइलमै देखाए पनि हुन्छ तर टिकट चाहिँ देखाउनुपर्छ," उनले भने।
प्रहरी उपरीक्षक श्रेष्ठले पीएनआर नम्बरबाट यात्रुहरूको यात्रा समय, गन्तव्य र व्यक्तिगत विवरण नखुल्ने भएका कारण त्यस्तो नम्बर देखाएर अनावश्यक व्यक्तिहरू प्रवेश गरेको जानकारीपछि यस्तो व्यवस्था गरिएको दाबी गरे।
काठमाण्डूस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट देशबाहिर जाने यात्रुहरूलाई टिकट अनिवार्य चाहिने व्यवस्था यसअघिबाटै कार्यान्वयनमा थियो।