तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
म्यानमार कू: कसरी सिस्टर एन रोज नु टङ लोकतन्त्र पक्षधर प्रदर्शनको प्रतीक बनिन्?
- Author, पाब्लो उचोवा र को को अङ
- Role, बीबीसी विश्व सेवा
एक जना निहत्था महिला एक्लै घुँडा टेकेर सशस्त्र प्रहरी सामु आफ्नो गिर्जाघरमा शरण लिइरहेका युवा प्रदर्शनकारीहरूलाई चोट नपुर्याउन अनुरोध गर्छिन्।
उनी क्याथोलिक भिक्षुणी सिस्टर एन रोज नु टङ हुन् जो म्यान्मारमा सेनाले सत्ता हातमा लिएपछि गरिएका निर्मम दमनका माझ भएका प्रदर्शनको एउटा प्रतीक बनिन्।
सिस्टर एन रोज तालिमप्राप्त सुँडेनी हुन् र उनले गरिबहरूका लागि कचिन राज्यमा क्लीनिक चलाउँछिन्।
अघिल्लो वर्षको फेब्रुअरी २८ मा उनको क्लीनिक नजिकै प्लेकार्डसहित प्रदर्शनकारीहरू जम्मा भएर प्रजातन्त्रको पुनर्बहालीको माग गरिरहेका थिए। त्यस बेला प्रहरी आइपुग्यो।
‘आज म मर्छु’
"ट्रकका ट्रक प्रहरी, सैनिक र पानी फ्याँक्ने फोहोरा ल्याइयो। उनीहरूले मानिसलाई पिटे, गोली चलाए र पक्राउ गरे। मानिसहरू भागिरहेका थिए र रोइरहेका थिए। केही बेहोस थिए," सिस्टर एन रोजले बीबीसीलाई भनिन्।
"त्यो युद्धको जस्तै दृश्य थियो।"
सिस्टर एन रोजले आफ्नो अगाडि त्यस्तो हिंसा भइरहेको आफूले देख्न नसकेको भन्दै उनले आफ्नो जीवन जोखिममा पारेर भए पनि प्रदर्शनकारीहरूलाई रक्षा गर्ने प्रयास गर्ने निर्णय लिएको बताइन्।
त्यसपछि उनी बाहिर निस्किइन र प्रहरीको अगाडि गइन्।
"मेरो मस्तिष्कमा एउटै सोचाइ आयो: आज म मर्छु," उनले भनिन्।
त्यस बेला प्रदर्शनकारीहरूलाई गोली हान्नुको सट्टा आफूलाई गोली हान्न अनुनय गरेको उनी सम्झिन्छिन्। उनले उक्त दिन आफ्नो ज्यान जाने ठानेको र त्यसको लागि तयार रहेको पनि बताइन्।
त्यस्तो भइरहँदा थुप्रै प्रदर्शनकारीहरू सुरक्षित रूपमा त्यहाँबाट भाग्न सफल भएका थिए।
तर १८ दिनपछि प्रदर्शनकारीहरूको अर्को समूह चर्चभित्र प्रवेश गर्यो। उनीहरूलाई प्रहरीले लखेट्यो, कुटपिट गर्यो र गोली चलायो।
सिस्टर एन रोजले हस्तक्षेप गरेपछि सुरक्षाकर्मीहरू प्रारम्भिक रूपमा पछाडि हटे तर उनलाई थाहा थियो कि प्रदर्शनकारीहरूलाई खोज्दै उनीहरू फेरि आउनेछन्।
उक्त तनावग्रस्त बिहानको सम्पूर्ण अवधि उनी आन्दोलनकारीहरूसँगै बसिन्।
“गिर्जाघरका अधिकारीहरूले मलाई जोखिम हुने भन्दै त्यसरी नबस्न भनेका थिए,” उनले भनिन्। अर्को पक्षका अधिकारीहरू पनि वार्ताका लागि आएको उनको भनाइ छ।
त्यस बेलाको तस्बिरमा सिस्टर एन रोजले घुँडा टेकेर प्रदर्शनकारीहरूलाई केही नगर्न अनुरोध गरिरहेको जस्तो देखिन्छ।
“मैलै म मानिसहरूको पीडा अब थप देख्न सक्दिन भनेर अड्डी कसेँ। मैले उनीहरूलाई भने: ‘यदि तिमीहरूलाई ज्यान लिनुपर्नेछ भने मलाई मारिदेऊ, म आफ्नो ज्यान दिन्छु,” उनले पछि भनिन्।
दुई जना सैनिकहरूले पनि घुँडा टेकेर आफूहरूले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने भन्दै उनलाई पछि हट्न अनुरोध गरेका थिए।
‘मृत्युको भय’
सिस्टर एन रोज अझै पनि ती तस्बिरहरू देख्दा आफ्नो दृढ सङ्कल्प देखेर आफैँ आश्चर्यचकित हुने गरेको बताउँछिन्।
उनले भनिन्, "म आफ्नै साहस र शक्तिले त्यस्तो गर्न सक्दिनँ थिएँ। ईश्वरले मलाई शक्ति दिनुभयो र मानिसहरूको ज्यान जोगाउने साहस दिनुभयो र मैले त्यसो गर्न सकेँ।"
"नत्र म पनि मानव हुँ। मलाई पनि मृत्युको डर लाग्छ। तर म कम उमेरका मानिसहरूको जीवनलाई मेरो जीवनभन्दा बढी महत्त्व दिन्छु।"
उनको अनुरोधका बीच पनि उक्त दिन प्रहरीहरू भवनको वरपर प्रवेश गरे र प्रदर्शनकारीहरूमाथि गोली चलाए।
दुई जना प्रदर्शनकारीहरूलाई टाउकोमा गोली हानियो। एक जनाको तत्कालै ज्यान गयो। अरूलाई गम्भीर चोट लाग्यो र कतिपयका हात गोडा गोलीले छेड्यो।
"म स्तब्ध भए, मैले उनीहरू त्यति क्रूर होलान् भन्ने सोचेकी पनि थिइनँ," सिस्टर एन रोज भन्छिन्।
उनले युवाहरू व्याकुल भएर डरले रोइरहँदा ढलेका मानिसहरूलाई गिर्जाघरभित्र लैजान सहयोग गरिन्।
उक्त क्षेत्रमा अश्रुग्यासबाट आक्रमण हुँदा मानिसहरू खोकिरहेका थिए र आँखामा पिरो अनुभव गरिरहेका थिए।
अरू धर्मगुरु पनि आए र उनीहरूले बाँचेका व्यक्तिहरूलाई उक्त पीडादायी क्षणपछि सहयोग गरे।
‘उनीहरूले आशा गुमाए’
उक्त घटनापछि झन्डै एक वर्षको अवधिमा सिस्टर एन रोजलाई त्यसबेला ज्यान जोगाएका कतिपय व्यक्ति र तिनका परिवारले भेटे।
आफ्नो जीवन रक्षा गरिदिएकोमा उनीहरूले उनलाई धन्यवाद दिए। अन्तर्राष्ट्रिय स्तरबाट नै उनको प्रशंसा भयो।
तर म्यान्मारभित्र सम्भावनाहरू अझै धमिलो रहेको उनी ठान्छिन्।
युवाहरूले आशा मारेको उनी बताउँछिन्।
धेरैले सशस्त्र प्रतिरोधमा सहभागिता जनाएको र भूमिगत रूपमा सैनिक तालिमहरू लिइरहेका छन्। म्यान्मार गृहयुद्धमा फसेको छ।
उनले भनिन्, “युवाहरू प्रदर्शन गर्नुको फाइदा छैन भन्ने महसुस गर्छन् किनभने त्यसबाट ज्यान नै जोखिममा पर्छ।"
"उनीहरू शान्तिपूर्ण ढङ्गले जे सुकै माग राख्न पनि असम्भव भएको ठान्छन् किनभने त्यसो गर्दा उनीहरूलाई या त मारिन्छ या जेलमा हालिन्छ।”
‘प्रजातन्त्रको स्वाद’
उनका अनुसार छोटो अवधिकै लागि भए पनि मानिसहरूले प्रजातन्त्रको स्वाद चाखिसकेको भएकाले उनीहरू सैन्य शासनमा देश फर्कियोस् भन्ने चाहँदैनन्।
राजनीतिक द्वन्द्व र महामारीले देशको अर्थतन्त्र, बालबालिकाको शिक्षा, मानिसको स्वास्थ्य र सामाजिक अवस्थालाई प्रभावित तुल्याएको छ।
कुनै बेला गरिबका लागि मात्रै भनिएका उनको क्लीनिकले अस्पतालहरूले समस्या खेपेका कारण स्वास्थ्य सेवाबाट वञ्चित भएका धनी मानिसहरूलाई पनि सेवा दिन थालेको छ।
युवाहरू अन्योल र "देशका लागि साहसिक बलिदान" को चौबाटोमा खडा रहेको सिस्टर एन रोज बताउँछिन्।
उनले म्यान्मारका अधिकारीहरूले आफूलाई सावधान हुन भनेका उल्लेख गरिन्।
"तर मैले सत्यको पक्षमा उभिनुपर्छ," सिस्टर एन रोज भन्छिन्,"आवश्यक पर्यो भने परेको बेला मैले मानिसहरूको रक्षा गर्नै पर्छ।"