तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोभिड, आइसोलेशनबाटै सरकारको कटु आलोचना
नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।
एमालेको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले ओलीलाई कोभिड भएको पुष्टि गरे।
मुख्य विपक्षी दलका नेता समेत रहेका ओलीको स्वास्थ्य टीमसम्बद्ध चिकित्सकका अनुसार ओली सङ्क्रमित भएपछि उनी बालकोटस्थित निवासमा एकान्तवासमा रहेका छन्।
ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
यस अघि नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायत विभिन्न दलका केन्द्रीय तहका नेताहरूलाई पनि कोभिड सङ्क्रमण भएको थियो।
पहिलो र दोस्रो लहरमा भने राजनीतिक दलका उच्च तहका नेताहरू कम मात्र सङ्क्रमित भएका थिए।
महामारी जारी रहेका बेला एमाले लगायत प्रमुख राजनीतिक दलले ठूलो सङ्ख्यामा देशभरका आफ्ना कार्यकर्ता सम्मिलित गरेर महाधिवेशन समेत सम्पन्न गरेका थिए।
आमसभा र भेटघाट पनि जारी राखेका थिए।
महामारीका बीच नेताहरूले राजनीतिक गतिविधि जारी राखेको भन्दै आलोचना हुने गरेको थियो।
अहिले नेताहरूले दोस्रो मात्रा कोभिड खोप लगाइसकेको र कतिपयले त तेस्रो बूस्टर मात्रा पनि लगाइसकेकाले उनीहरूमा कडा लक्षण देखिने गरेको छैन।
आइसोलेशनबाट ओलीले गरे सरकारको कटु आलोचना
आइसोलेशनबाटै एमाले अध्यक्ष ओलीले एक विज्ञप्ति जारी गर्दै सरकारका काम कारबाहीका कटु आलोचना गरेका छन्।
शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा दिएको सन्देशको जवाफ हुने गरी उनले आइतवार प्रेस सम्मेलन गर्ने भनिएको थियो।
विज्ञप्तिमार्फत् ओलीले स्थानीय तहको निर्वाचन पछि सार्न नहुने धारणा दोहोर्याएका छन्।
यसअघि सत्ताधारी गठबन्धनका नेता पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन आगामी मङ्सिरमा गर्न प्रस्ताव गरेका थिए।
उनको प्रस्ताव संविधान र कानुनसँग बाझिएको कतिपय संविधानविद्हरूले बताउँदै आएका छन्।
"नेपालको संविधानले जुनसुकै अवस्थामा पनि विघटन नहुने गरी पाँच वर्षे कार्यकाल सहितको स्थानीय तहको व्यवस्था गरेको हो र स्थानीय तह निर्वाचन ऐनमा कार्यकाल सकिनु दुई महिना अगावै निर्वाचन गर्नुपर्ने वाद्यकारी व्यवस्था गरेको हो," एमालेको वक्तव्यमा भनिएको छ।
एमालेले गठबन्धनका नेताहरूले संविधानको गलत व्याख्या गरेर स्थानीय तहको निर्वाचन पर धकेल्न खोजिरहेको आरोप लगाएको छ।
"स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने विषयमा नेकपा एमालेको स्पष्ट, द्विविधारहित र दृढ अडान छ। यस सम्बन्धमा गरिने कुनै पनि अलमल, धोखाधडी र बहानाबाजी पार्टीलाई किमार्थ स्वीकार्य हुँदैन," एमालेले भनेको छ।