काठमाण्डू उपत्यकामा पानीः दैनिक माग ४३ करोड लिटर तर ११ करोड लिटर मात्र उपलब्ध, कसरी हुँदैछ वितरण

धारो

तस्बिर स्रोत, SPL

हिउँद सुरु भएसँगै काठमाण्डू उपत्यकामा पानीको उपलब्धता घट्दा माग र आपूर्तिबीचको सन्तुलन बिग्रिएको काठमाण्डू उपत्यका खानेपानी लिमिटेडले जनाएको छ।

बाढी र पहिरोका कारण आयोजनामा क्षति पुगेपछि मेलम्चीको पानी काठमाण्डूमा नियमित प्रवाह गर्ने योजना प्रभावित हुँदा समस्या झन् थपिएको अधिकारीहरूको भनाइ छ।

यो वर्षायाममा मेलम्ची बजारबाट झन्डै २२ किलोमिटरमाथि अम्बाथान भनिने स्थानमा आयोजनामा क्षति पुगेको थियो।

मेलम्ची खानेपानी विकास समितिले आयोजनाको 'हेडवर्क्स' भनिने संरचना मात्र नभएर त्यहाँसम्म पुग्ने मार्ग पनि प्रभावित भएको जनाएको छ।

त्यसैले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण झन् कठिन बनेको बताइएको छ।

काठमाण्डू उपत्यकामा कति पानी चाहिन्छ?

अधिकारीहरूका अनुसार काठमाण्डू उपत्यकामा अहिले दैनिक साढे ४३ करोड लिटर पानीको माग छ।

तर काठमाण्डू उपत्यका खानेपानी लिमिटेडले (केयूकेएल) वितरणका लागि आफूहरूसँग दैनिक ११ करोड लिटर पानी मात्रै उपलब्ध रहेको जनाएको छ।

त्यसमा पनि उल्लेख्य परिमाण चुहावट हुने हुँदा उपभोक्तासम्म पुग्ने पानी अझ कम रहेको जानकारहरू बताउँछन्।

केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यका अनुसार झन्डै ४० प्रतिशत पानी चुहावटका कारण खेर जान्छ।

केयूकेएल

तस्बिर स्रोत, KUKL/FACEBOOK

पुरानो वितरण प्रणालीमा आधारित रहँदा चुहावटको समस्या कायम रहेको उनले जानकारी दिए।

"देखिने ठाउँमा त हामीले मर्मत गरिरहेका हुन्छौँ तर जमिनभित्र भएको चुहावटबारे थाहा पाउन गाह्रो हुने हुँदा समस्या पर्छ," उनले भने।

विगतमा मेलम्चीको पानी काठमाण्डूमा वितरण गर्दा भूकम्पका कारण संरचनामा प्रभाव परेका कारण भएको चुहावट केही हदसम्म सुधार गरिएको उनले जानकारी दिए।

कसरी वितरण भइरहेको छ पानी?

पानी अभाव बढ्दै गएको अवस्थामा आफूहरूले पानी वितरण गर्ने पुरानो तालिका पुनः कार्यान्वयनमा ल्याउनुपरेको केयूकेएलले जनाएको छ।

"मेलम्ची आउनुभन्दा अगाडि जुन तालिका थियो नि हाम्रो - तीन दिन, छ दिन, नौ दिन (बिराएर पानी दिने) त्यही तालिकामा फर्किएर बाँडफाँट मिलाइरहेका छौँ," शाक्यले भने।

उनका अनुसार मेलम्चीको पानी आउँदा लगभग दिनहुँ वा दिन बिराएर उपत्यकामा पानी प्रवाह गर्ने गरिएको थियो।

धारामा पानी आउन घटेपछि सर्वसाधारणहरूले पुनः ट्याङ्कर वा अन्य स्रोतमा भर पर्नुपरेको बताउन थालेका छन्।

काठमाण्डू उपत्यकामा दुई लाख ३७ हजार ग्राहकले आफ्ना घरमा धारा जडान गरेका छन्।

नेपालमा प्रतिव्यक्ति १३० देखि १३५ लिटर पानी आवश्यकता भए पनि उपलब्धता भने निकै कम रहेको शाक्य बताउँछन्।

मेलम्ची

तस्बिर स्रोत, melamchiwater.gov.np

पानीको माग र आपूर्तिमा सन्तुलन मिलाउनका लागि केयूकेएलले हाल उपत्यकाका १३ स्थानमा नयाँ ट्यूबवेल थप गर्न लागेको छ।

त्यो पूर्वाधारबाट दैनिक एक करोड ३० लाख पानी उत्पादन गर्ने योजना बताइएको छ।

"त्यसमा तीन वटा सम्पन्न भइसकेको छ। तीस लाख लिटर आइसकेको छ। बाँकी एक करोड आउँदैछ," शाक्यले भने।

मेलम्ची नहुँदा कस्तो समस्या?

केही साता परीक्षणका रूपमा काठमाण्डू उपत्यकामा पानी ल्याइपुर्‍याएको मेलम्ची परियोजनाको सुरुङ खाली गराउने कार्य सुरु गर्नै लाग्दा मेलम्ची नदीमा आएको बाढीले आयोजनामा प्रभाव पारेको थियो।

ड्रोनबाट लिइएको मेलम्ची आयोजना अन्तर्गतको हेडवर्क्स भएको स्थानको तस्बिर

तस्बिर स्रोत, MELAMCHI WATER SUPPLY DEVELOPMENT BOARD

तस्बिरको क्याप्शन, ड्रोनबाट लिइएको मेलम्ची आयोजना अन्तर्गतको हेडवर्क्स भएको स्थानको तस्बिर

मेलम्ची खानेपानी आयोजनाले लगभग ६० दिनमा सुरुङ खाली गरेर निरीक्षण गर्ने र पुनः काठमाण्डूमा पानी वितरण गर्ने योजना बनाएको थियो।

मेलम्चीको पानी थपिँदा उपत्यकामा केयूकेएलले आफ्नो क्षमता भन्दा १७ करोड लिटर बढी पानी वितरण गर्दै आएको थियो।

काठमाण्डूमा दैनिक ४३ करोड लिटर पानीको माग रहे पनि वितरण भने मौसमअनुसार फरक पर्छ।

वेट सीजन अर्थात् बर्खायाममा ११ करोडदेखि १२ करोड लिटर र ड्राई सीजन अर्थात् सुक्खायाममा आठ करोडदेखि नौ करोड लिटरसम्म पानी वितरण गर्न सकिने केयूकेएलको भनाइ छ।

सामान्यतया असार महिनादेखि असोज दोस्रो हप्तासम्मलाई 'वेट सीजन' मानिने र त्यसपछिको समयलाई 'ड्राई सीजन' मानिने अधिकारीहरू बताउँछन्।

महत्त्वपूर्ण घटनाक्रम

मेलम्ची खानेपानी आयोजना निर्माण सुरु भएको झन्डै २२ वर्षमा पानी काठमाण्डू आइपुगेको थियो।

  • विसं २०२९: खानेपानी आपूर्तिका लागि सम्भाव्य स्रोतहरूको पहिचान गर्न अध्ययन
  • विसं २०४१: मेलम्चीसहित २२ विकल्प पहिचान
  • विसं २०४९: याङ्ग्री र लार्के समेत मिसाएर दैनिक कुल ५१ करोड लिटर पानी ल्याउन सकिने मेलम्ची आयोजना आर्थिक र प्राविधिक रूपमा उत्तम विकल्प भएको ठहर
  • विसं २०५५: मेलम्ची खानेपानी विकास समिति गठन भई निरन्तर कार्य जारी
  • विसं २०६४: नेपाल सरकार र प्रमुख दाता एशियाली विकास ब्याङ्कबीच आयोजना पुनर्संरचना गरी ६ वर्षभित्र सम्पन्न गर्ने सहमति। पुनर्संरचनामार्फत् आयोजनालाई दुई भागमा विभाजन - मुख्य पानी पथान्तरण कार्य विकास समितिमार्फत्, अनि वितरण तथा व्यवस्थापन कार्य काठमाण्डू उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयमार्फत् हुने निर्णय
  • विसं २०७७ फागुन २२: मेलम्चीको पानी सुन्दरीजल आइपुग्यो
  • विसं २०७७ चैत १५: मेलम्चीको पानी परीक्षण वितरणस्वरूप उपत्यकावासीको धारामा
  • विसं २०७७ चैत २०: राष्ट्रपतिबाट मेलम्ची आयोजनाको उद्घाटन
  • विसं २०७८ असार पहिलो साताः बाढीबाट ठूलो क्षति

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, के तपाईँलाई पानीबारे सबै कुरा थाहा छ?