मेलम्ची खानेपानी आयोजनाः रोकिएको पानी कहिले आइपुग्छ काठमाण्डू उपत्यका?

मेलम्ची

तस्बिर स्रोत, melamchiwater.gov.np

बाढीपहिरोका कारण आयोजनामा क्षति पुगेसँगै मेलम्चीको पानी काठमाण्डू ल्याइपुर्‍याउने समयावधि थप लम्बिने अधिकारीहरूले जनाएका छन्।

मेलम्ची खानेपानी विकास समितिका अनुसार आयोजनाको हेडवर्क्स भनिने संरचना मात्र नभएर त्यहाँसम्म पुग्ने मार्ग पनि प्रभावित भएको छ। त्यसैले पानी ल्याउने कार्य थप केही समय प्रभावित हुने भएको हो।

मेलम्ची बजारबाट झन्डै २२ किलोमिटरमाथि अम्बाथान भनिने स्थानमा आयोजनामा क्षति पुगेको बताइएको छ।

केही हप्ता परीक्षणका रूपमा काठमाण्डू उपत्यकामा पानी ल्याइपुर्‍याएको उक्त परियोजनाको सुरुङ खाली गराउने कार्य सुरु गर्नै लाग्दा मेलम्ची नदीमा आएको बाढीले आयोजनामा प्रभाव पारेको थियो।

समितिका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठका अनुसार आयोजनाको संरचनामा एक अर्ब ८८ करोड रुपैयाँजतिको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

त्यसको पुनर्निर्माणका लागि कति समय लाग्छ भन्ने कुराको भने स्पष्ट भइसकेको छैन।

मेलम्चीको पानी कहिलेबाट आउला?

मेलम्ची खानेपाली आयोजनाले लगभग ६० दिनमा सुरुङ खाली गरेर निरीक्षण गर्ने र पुनः काठमाण्डूमा पानी वितरण गर्ने योजना बनाएको थियो।

"लगभग भदौ दोस्रो हप्तातिर काठमाण्डूमा पानी आउने अवस्था थियो," उनले भने।

मेलम्ची

तस्बिर स्रोत, melamchiwater.gov.np

तर आयोजनामा पुगेको क्षतिका कारण पहुँचमार्ग बनाउन नै समस्या परेको र वर्षायाम नसकिएको अवस्थामा कहिले सम्ममा काठमाण्डूमा मेलम्चीको पानी वितरण गर्ने अवस्था आउला भन्ने कुरा अब अनुमान गर्न गाह्रो रहेको श्रेष्ठ बताउँछन्।

"यकिन भन्न त सकिन्न तर माघसम्म डाइभर्ट गरिसक्छौँ भन्ने कार्ययोजना छ। सम्भवतः त्योभन्दा अगाडि नै काठमाण्डू पानी लिएर आउँछौँ। लगभग चार -पाँच महिना असर गर्ने भयो यसले गर्दा।"

श्रेष्ठका अनुसार आयोजनाले काठमाण्डू उपत्यकामा मेलम्चीबाट करिब १७ करोड लिटर पानी पुर्‍याउँदै आएको थियो।

भविष्यमा याङ्ग्री र लार्केबाट पनि पानी ल्याउने भनिएको आयोजना पूर्ण रूपमा सम्पन्न हुँदा कुल ५१ करोड लिटर पानी काठमाण्डू ल्याइपुर्‍याइने बताइएको छ।

कसरी ल्याइएको थियो पानी?

अन्य केही आयोजनाजस्तै मेलम्ची आयोजना पनि तात्कालिक प्रधानमन्त्री केपी शर्मा ओलीले "हतारहतारमा उद्घाटन गरेको" भन्दै आलोचना हुँदै आएको छ।

समितिले यसअघि पनि परीक्षणका बेला अस्थायी संरचना प्रयोग गरिएको र अब पनि त्यसैलाई मर्मत गरेर फेरि सञ्चालन गर्ने जनाएको छ।

हाल पुरिएको हेडवर्क्स स्थायी संरचना रहेको र त्यो निर्माणाधीन अवस्थामै रहेको श्रेष्ठले जानकारी दिए।

Map: Melamchi

अब पनि वैकल्पिक डाइभर्शन टनेलमा भरिएको लेदो सफा गर्ने र भत्किएको अस्थायी बाँध बनाएर पानी काठमाण्डू ल्याउन सकिने उनी बताउँछन्।

तर २० वर्षभन्दा बढी समय लगाएर बनाइएको आयोजना हतारहतार सञ्चालनमा ल्याइएको भन्न भने नमिल्ने श्रेष्ठको भनाइ छ।

के छ काठमाण्डू उपत्यकाको अवस्था?

काठमाण्डू उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ। तर वितरण भने मौसमअनुसार फरक पर्छ।

वेट सीजन अर्थात् बर्खायाममा ११ करोडदेखि १२ करोड लिटर र ड्राई सीजन अर्थात् सुक्खायाममा आठ करोडदेखि नौ करोड लिटरसम्म पानी वितरण गर्न सकिने केयूकेएलको भनाइ छ।

केयूकेएलका कामु उपकार्यकारी अधिकृत सतीशकुमार दत्तका अनुसार सामान्यतया असार महिनादेखि असोज दोस्रो हप्तासम्मलाई 'वेट सीजन' मानिन्छ भने त्यसपछिको समयलाई 'ड्राई सीजन' मानिन्छ।

मेलम्ची

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, मनसुन सुरु हुनासाथ भएको ठूलो वर्षाले मेलम्ची क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो

मेलम्चीको पानी थपिँदा पनि उपत्यकामा केयूकेएलले झन्डै २७ करोड लिटर पानी वितरण गर्दै आएको थियो।

उपत्यकामा मेलम्चीको पानी वितरण हुँदा एक दिन बिराएर पानी वितरण गर्ने गरिएकामा हाल सात देखि १२ दिनसम्मको अन्तरालमा मात्रै दिइएको बताइएको छ।

पानीको मात्रा बढी मात्रै नभएर मेलम्चीको पानीको गुणस्तर पनि "निकै राम्रो" रहेको दत्तको दाबी छ।

"काठमाण्डूमा वितरण हुने पानी ट्रीटमेन्ट (प्रशोधन) गर्दा गुणस्तर एकनास नहुने समस्या थियो। सतही स्रोतबाट आएको पानीको गुणस्तर राम्रो हुने र ट्यूबवेलबाट निकालिएको पानीको गुणस्तर कम हुन्थ्यो," दत्तले भने।

धारा
SPL
२२ वर्षमा काठमाण्डूको धारामा मेलम्चीको पानी

  • रु ३५ अर्ब भन्दा बढी कुल आयोजना खर्च

  • ३३%नेपाल सरकार

  • ४६%एशियाली विकास ब्याङ्क

  • बाँकीअन्य दातृनिकाय

  • रु १.१२ अर्बमुआब्जाका लागि

melamchiwater.gov.np

"तर मेलम्चीको भने एकै स्थानमा पानीको ट्रीटमेन्ट गरिने हुँदा गुणस्तर एकनासको थियो। यसले उपभोक्ताहरूलाई निकै सहज भयो।"

केयूकेएलले चैत १५ गतेदेखि जेठ मसान्तसम्म मेलम्चीको पानी वितरण गरेको थियो।

तर थप परीक्षणका लागि पानी बन्द गरिएसँगै ग्राहकहरूले हाल गुनासो गरिरहेको उनी बताउँछन्।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, पानी अभाव: बढ्दो पानीको समस्या रोक्ने उपाय यी हुन सक्छन्