प्रत्येक नेपालीको ऋण दायित्व बढेर ३१ हजार नाघ्यो

प्रतिवेदन

तस्बिर स्रोत, RSS

पछिल्लो आंकलन अनुसार प्रत्येक नेपालीको काँधमा ३१ हजार सात सय ५० रुपैयाँ सरकारी ऋण दायित्व देखिएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ।

कार्यालयले शुक्रवार राष्ट्रपतिलाई बुझाएको आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदनमा सो कुरा उल्लेख गरेको हो।

OAG
प्रत्येक नेपालीको ऋण दायित्व

  • रु ३१,७५०नेपालको कूल ऋण दायित्व जनसङ्ख्याले भाग लगाउँदा

    स्रोत: महालेखापरीक्षकको कार्यालय

    वार्षिक प्रतिवेदनका अनुसार गएको आर्थिक वर्षमा नेपाल सरकारको ऋण दायित्व गत वर्षको तुलनामा एक तिहाइले बढेको छ।

    नेपाल सरकारको कूल ऋण दायित्व नौ खर्ब १५ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।

    प्रतिव्यक्ति सात हजार थप

    आन्तरिक ऋण तीन खर्ब ९१ अर्ब १६ करोड रुपैयाँ र वैदेशिक ऋण पाँच खर्ब २४ अर्ब १५ करोड रुपैयाँ रहेको जनाइएको छ।

    उक्त ऋण दायित्वलाई दुई करोड ८८ लाख २९ हजार नेपालीलाई भाग लगाउँदा प्रतिव्यक्ति ३१ हजार सात सय ५० रुपैयाँ हुने प्रतिवेदनमा उल्लेख गरिएको छ।

    आर्थिक वर्ष २०७३/७४ को तुलनामा प्रतिव्यक्ति ऋण सात हजार ४३ रुपैयाँले बढेको हो।

    बेरूजु झनैबढ्यो

    २०७३/७४ मा बाँकी रहेको बेरुजु दुई खर्ब ९० अर्ब ५२ करोड रुपैयाँमा समायोजन र फछ्‌र्योट गरिएको रकम घटाउदा पनि आर्थिक वर्ष २०७४/७५ मा थप एक खर्ब ४१ अर्ब पाँच करोड रुपैयाँ बेरुजु थपिएको छ।

    कूल बेरुजु तीन खर्ब ७७ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ। लेखापरीक्षण तथा सम्परीक्षणबाट नौ अर्ब ७० करोड असुल भएको छ।

    अध्यावधिक कारबाही गरी टुङगो लगाउनु पर्ने रकम पनि आर्थिक वर्ष २०७४/७५ मा एक खर्ब ८३ अर्ब रुपैयाँले बढेर छ खर्ब ८३ अर्ब ६६ करोड पुगेको प्रतिवेदनले देखाएको छ।