तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोभिडः विमान उड्दाउड्दै कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि 'पाँच घण्टा शौचालयमा आइसोलेशन'
एक अमेरिकी शिक्षिकाले उडानका बेला गरिएको परीक्षणमा आफूलाई कोभिड-१९ भएको पुष्टि भएपछि विमानको शौचालयमा पाँच घण्टा एक्लिएर बसेको बताएकी छन्।
डिसेम्बर २० का दिन शिकागोबाट आइसल्यान्डको रीकिभिक उडेकी मरिसा फोटियोले विमानभित्र घाँटी दुखेको बताइन्। उनका अनुसार उनले आफूसँग भएको तत्काल परीक्षण गर्ने किट प्रयोग गरेर सङ्क्रमण भएको हो कि भनेर हेरेकी थिइन्।
परीक्षणमा सङ्क्रमण देखिएपछि उनी स्वैच्छिक रूपमा उडान अवधिभरि विमानको शौचालयमै बसिन्। विमानका एक कर्मचारीले उनलाई त्यहीँ खानेकुरा र आवश्यक सामाग्री उपलब्ध गराएको उनको भनाइ छ।
विमान चढ्न जानुअघि कोभिड-१९ परीक्षणको नतिजा पेस गर्नु पर्ने वा नपर्ने प्रष्ट थिएन।
“यो अप्रत्याशित अनुभव थियो,” मिशिगन निवासी फोटियोले एनबीसी न्यूजसँग भनेकी छन्। “विमानमा १५० यात्रु सवार थिए। मेरो सबैभन्दा ठूलो डर सङ्क्रमण उनीहरूलाई सर्छ कि भन्ने थियो।”
आइसल्यान्डएअर विमानको शौचालयबाट उनले टिकटकमा सार्वजनिक गरेको भिडिओ ४० लाख पटकभन्दा बढी हेरिएको छ। उनले आफूलाई अप्ठेरो बेलामा सहयोग गर्ने विमान परिचारिकाको प्रशंसा गरेकी छन्।
“उनले मलाई पाँच घण्टाको उडान अवधिभरि चाहिने खाना, पेयपदार्थ र आवश्यक सामाग्रीको बन्दोबस्त गरिन्। उनी बारम्बार मनजिकै आइन् र सबै ठिक हुन्छ भनेर आश्वस्त पारिन्।”
फोटियोका अनुसार आइसल्यान्डमा अवतरण गरेपछि उनी रेडक्रसको होटलमा आइसोलेशनमा बसिरहेकी छन्।
अमेरिकामा कोभिड
अहिले विश्वका विभिन्न देशमा कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्ट फैलिरहेको छ। अमेरिकामा पनि उक्त भेरिअन्टबाट सङ्क्रमित हुने मानिसको सङ्ख्या बढ्दो छ।
अध्ययनहरूका अनुसार यस भेरिअन्टका लक्षणहरू मन्द छन् तर अन्य भेरिअन्टको तुलनामा यसको सङ्क्रमण दर तीव्र छ।
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सङ्कलन गरेको तथ्याङ्कअनुसार विगत सात दिनमा औसतमा २,७७,००० नयाँ सङ्क्रमित देखिएका छन्। यो महामारी सुरु भए यताकै उच्च सङ्क्रमण दर हो। तर मृत्युदर र मानिसहरू अस्पताल भर्ना हुने दर सामान्य रहेको छ।
सङ्क्रमण बढेसँगै ठूलो सङ्ख्यामा मानिसहरू क्वारन्टीनमा बसिरहेका छन्।
यसबाट हवाई उडान तथा विभिन्न व्यवसायमा प्रत्यक्ष असर पुगेको छ।
अमेरिकामा बिहीवार १,१०० वटा उडान स्थगित भए। निरन्तर छ दिनदेखि हवाई उडानमा अवरोध पुगेको फ्लाइटअवेअरको तथ्याङ्कले देखाउँछ।