तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
वर्षका शीर्ष १० समाचार: सन् २०२१ मा सबैभन्दा धेरै पढिएका र हेरिएका समाचार
कोभिड महामारी, अफगानिस्तानमा तालिबानको पुन: उदय, देशभित्रै कोभिडको घातक दोस्रो लहर, प्राकृतिक प्रकोपको कहर तथा राजनीतिक उथलपुथलजस्ता विषयले यो वर्षैभरि समाचारहरूमा प्राथमिकता पाए।
तीमध्ये कुन कुन समाचारले बीबीसी न्यूज नेपालीमा शीर्ष १० को स्थान पाए त भनेर हामीले हेरेका छौँ।
कोरोनै-कोरोना
सन् २०२१ को सुरुदेखि विश्वका विभिन्न देशमा कोरोनाभाइरसविरुद्ध खोप अभियान थालिएसँगै आशा पलाएको थियो।
नेपालले पनि यो वर्षको सुरुमै ज्यानुअरी २७ मै खोप अभियान थालेको थियो।
वर्षैभरि कोरोनाभाइरस महामारी, त्यसका नयाँ भेरिअन्टका चर्चा धेरै भए।
वर्षको अन्त्यतिर दक्षिण अफ्रिकामा पहिलो पटक भेटिएको ओमिक्रोन भेरिअन्टको त्रासले नेपाललाई पनि छोयो।
देशभित्र दुईजना व्यक्ति नयाँ भेरिअन्टबाट सङ्क्रमित भएको पुष्टि भएको खबर बीबीसी न्यूज नेपालीमा यो वर्ष सबैभन्दा धेरै पढिएको सूचीमा माथि रह्यो।
लगत्तै काठमाण्डू उपत्यकाका प्रशासकहरूले फेरि नयाँ निषेधाज्ञा वा लकडाउनको सम्भावनाबारे बताएको सामग्री पनि उक्त सूचीमा परेको छ।
आस्ट्राजेनेका खोपबाट कोभिडविरुद्ध अभियान थालेको नेपालले पछि चिनियाँ भेरोसेल अनि अमेरिकी जोन्सन एन्ड जोन्सनको खोप पनि प्रयोग गरेको थियो।
विविध खोपका विशेषता र त्यसबारे मानिसहरूलाई जानकारी दिने सामग्री समेटिएको समाचार पनि शीर्ष १० मा पर्यो।
यही वर्ष नेपालमा राजनीतिक उथलपुथलदेखि लिएर डरलाग्दा प्राकृतिक प्रकोप पनि बेहोरेको थियो।
तीसम्बन्धी समाचारहरू पनि निकै चर्चामा रहे।
खासगरि सिन्धुपाल्चोकको उच्च भागमा भएको ठूलो वर्षा र पहिरोका कारण बगेर आएको गेग्रानले मेलम्ची बजार वरपर जनधनमा व्यापक क्षतिमात्र पुर्याएन निर्माणको अन्तिम चरणमा रहेको चर्चित मेलम्ची खानेपानी आयोजनालाई नै अनिश्चयमा धकेलियो।
उक्त मेलम्ची घटनाको त्रासदी र कारणबारे लेखिएको सामग्री धेरै हेरिएको सूचीमा परेको छ।
अफगानिस्तानदेखि श्रीलङ्कासम्मका प्रसङ्ग
यो वर्षको अगस्ट महिनामा एक्कासी तालिबान विद्रोहीले राजधानी काबुल कब्जा गरेपछि अफगानिस्तानको समाचार विश्वभरि चर्चामा रह्यो।
बीबीसी न्यूज नेपालीले उक्त अफगानिस्तान युद्धसँग सम्बन्धित विविध सामग्री तथा त्यहाँ फसेका नेपालीहरूको समाचार तथा भिडिओ सामग्री प्रकाशन गरेको थियो।
तालिबान लडाकूहरूको इतिहास र उद्देश्यबारेको एक सामग्री अनि त्यहाँका राष्ट्रपति अशरफ गनीले अचानक देश छाडेको समाचार निकै चर्चित भए र शीर्ष १० स्थानमा रहे।
यी सामग्रीमा अफगानिस्तानको युद्धका पृष्ठभूमि, मुख्य मुख्य मिति तथा सत्तामा आएका तालिबानहरूको नेतृत्व संरचनाबारे जानकारी समेटिएका थिए।
अर्को छिमेकी श्रीलङ्कामा विगतमा भएको युद्धमा सहभागी नेपालीहरूले भारत सरकारका तर्फबाट पाएका विभिन्न उपाधि अनि जीवनभरिका लागि सँगालेका चोटबारे एक विस्तृत सामग्री पनि यो वर्ष निकै रुचाइएको सूचीमा परेको छ।
सन् १९८० को दशकको अन्त्यतिर भारतीय सेना तमिल विद्रोहीहरूलाई दबाउन भन्दै श्रीलङ्कामा खटाइएका थिए।
त्यसमा भारतीय सेनामा कार्यरत कैयन् नेपाली नागरिकहरूपनि सामेल भएका थिए।
उनीहरूकै वीरता अनि व्यथाको कथा समेटिएको सामग्री धेरैले रुचाए।
खोप भनेर नुनपानी, विमानबाट मलमूत्र!
गम्भीर विषयका समाचार मात्र हैन, केही हल्काफुल्का रमाइला अनि अनौठा तथा विस्मयकारी सामग्रीहरू पनि निकै रुचाइएका छन्।
ब्रिटेनमा एक व्यक्ति आफ्नो घरको बगैँचामा सुस्ताइरहेका बेला आकाशबाट मानव मलमूत्र खस्यो।
उडिरहेको विमानबाट मलमूत्र खस्दा आइपर्ने त्यस्ता अनौठा घटनाबारेको सामग्री शीर्ष १० सूचीमा परेको छ।
अनि जर्मनीमा चाहिँ एक नर्सले कोभिड खोप भनेर आठ हजार मानिसलाई नुनपानी दिएको खबर पनि धेरैले पढे।
पछि ती मानिसहरूलाई खोप दोहोर्याएर लगाउन भनिएको थियो।
चीनमा बादल हटाएर घाम लगाउन कृत्रिम तरिका अपनाइएको खबर पनि उत्तिकै चर्चित रह्यो।
त्यहाँ 'क्लाउड सीडिङ' भन्ने विधिको प्रयोग गरेर मौसममा कृत्रिम परिवर्तन ल्याउने गरिएको - जसमा तोपको प्रयोग गरेर बादलमा रासायनिक यौगिक छर्किएर पानी पार्ने प्रयास गर्ने गरिएको समाचार निकै धेरैले पढेका छन्।
यीबाहेक नेपालको न्यायालयमा पछिल्ला महिना देखापरेको सङ्कटको केन्द्रमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासम्बन्धी समाचार, जनगणनामा नेपालको जनसङ्ख्या अपेक्षितभन्दा कम देखिने भनी गरिएको आकलनको समाचार, शेरबहादुर देउवाले प्रधानमन्त्रीमा जितेको प्रसङ्ग तथा नासाले मङ्गलग्रहमा पठाएको पर्सिभिअरन्स यानबारेका सामाग्री पनि धेरैले रुचाए।
यो वर्ष बीबीसी न्यूज नेपालीको वेबसाइटमा राखिएका भिडिओ सामग्रीहरूमध्ये पनि केही उच्च नेताहरूको अन्तर्वार्ता, मानवीय रुचिका विषय तथा अनौठा विषयमा बनाइएका भिडिओ धेरैले हेरेको पाइएको छ।
शीर्ष १० मा परेका समाचार सामग्री
- नेपालमा पनि ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमित भेटिएको पुष्टि
- को हुन् तालिबान लडाकु, कसरी भयो उदय
- 'यति ठूलो गेगरान बहाव अहिलेसम्म भएको थाहा छैन': मेलम्चीको बाढीमा 'अर्बौँ रुपैयाँको क्षति'
- श्रीलङ्कामा तमिल विद्रोहीसँग लडेका नेपाली: कसैलाई वीरचक्र, कसैलाई जीवनभरिका लागि चोट
- अब वितरण हुन लागेका कोभिड खोपबारे तपाईँले जान्नुपर्ने कुरा
- उडिरहेको विमानले किन बगैँचामा बसिरहेका मानिसमाथि मलमूत्र खसायो
- कृत्रिम वर्षाः चीनले कसरी मौसम फेर्ने प्रविधि प्रयोग गरिरहेको छ
- राष्ट्रपति अशरफ गनीले 'अफगानिस्तान छोडे'
- कोभिड खोप भनेर जर्मनीमा एक नर्सले नुनपानी लगाइदिएको खुलासा
- ओमिक्रोन भेरिअन्ट देखिएपछि काठमाण्डू उपत्यकामा लकडाउनबारे सीडीओहरू के भन्छन्
शीर्ष १० मा परेका भिडिओ सामग्री
- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग विशेष अन्तर्वार्ता, विवादबारे के भन्छन्
- बालबालिकाले पोर्न हेरे भने के गर्ने
- मङ्गल ग्रहमा नासाको रोभर गुड्दा यस्तो आवाज
- भारतको महामारी किन पूरा विश्वका लागि चिन्ताको विषय
- बाँदरको मस्तिष्कमा मान्छेको जीन हालिदिएपछि...
- जहाँ जौको बोटमा मासु फल्छ
- दलविहीन बनेका वामदेव गौतम भन्छन्, ‘पार्टी खोल्न सक्छु, ओली रहुन्जेल एमालेमा जान्नँ’
- टोक्यो ओलिम्पिक्सको लुकाइएको पाटो
- गोहीको फोटो खिच्न गएको ड्रोन गोहीले नै निलेपछि…
- के महिनावारी हुँदा गुलियो, व्यायाम र यौन निषिद्ध छन्