चिनियाँ घरजग्गा कम्पनीको ३१.३ करोड डलर लिएर लगानी व्यवस्थापन गर्ने संस्था सम्पर्कविहीन

तस्बिर स्रोत, Getty Images
चीनमा कुनै बेला ठूलो घरजग्गा कम्पनी मानिने 'चाइना फोर्ट्यून ल्यान्ड डेभलप्मन्ट'ले आफ्नो प्रबन्धक संस्था ३१ करोड ३० लाख डलरसहित "सम्पर्कविहीन" भएको बताएको छ।
सो कम्पनीका अनुसार ब्रिटिश भर्जिन आइल्यान्ड्समा दर्ता भएको चाइना क्रीएट क्यापिटल नामक संस्थाले त्यति रकम उसका लागि लगानी गरिदिनुपर्ने थियो।
फोर्ट्यून ल्यान्डले आफ्ना लगानीकर्तालाई सो विषयबारे बेइजिङ प्रहरीमा उजुरी दिइएको जानकारी दिएको छ।
अर्बौँ डलर बराबरको ऋणपत्र समयमा भुक्तानी गर्न नसकेपछि सो कम्पनीले यही महिना कर्जा पुनर्संरचना योजना सार्वजनिक गरेको थियो।
यो साता शाङ्घाई स्टक एक्सचेन्जमा पेस गरिएको एउटा दस्तावेजका अनुसार सन् २०१८ मा फोर्ट्यून ल्यान्डको वैदेशिक कारोबार हेर्ने एउटा एकाइले विङ्स्केङ्गो लिमिटेड नामक कम्पनीलाई लगानी प्रबन्ध गर्ने सेवा प्रदान गर्न बोलाएको थियो।
उक्त दस्तावेजमा कसरी विङ्स्केङ्गोको सल्लाहअनुसार फोर्ट्यून ल्यान्डले ३१.३ करोड डलर चाइना क्रीएट क्यापिटललाई रकमान्तर गरिदिएको थियो भन्ने विस्तृत रूपमा खुलाइएको छ।
फोर्ट्यून ल्यान्डका अनुसार सन् २०२२ को अन्त्यसम्म सहमति कायम रहँदासम्म सो लगानीबाट वार्षिक सातदेखि १० प्रतिशत ब्याज आउनले अपेक्षा थियो।
तर अहिले क्रीएट क्यापिटलसँग आफूले सम्पर्क गर्न नसकेको फोर्ट्यून ल्यान्डको भनाइ छ। उसका अनुसार रकम हराएका कारण अहिले र भविष्यको लाभमा कस्तो प्रभाव पर्छ भन्ने थाहा पाउने कुनै उपाय छैन।

तस्बिर स्रोत, EPA
ऋण सङ्कटका कारण अरू ठूला चिनियाँ घरजग्गा कम्पनीको जस्तै केही महिनायता फोर्ट्यून ल्यान्डको शेअर मूल्य पनि ह्वात्तै घटेको छ।
आर्थिक उत्तरदायित्व वहन गर्न नसकेका कारण यो वर्ष शाङ्घाई स्टक बजार सूचीकृत उसको शेअरको मूल्य ७० प्रतिशतभन्दा बढीले घटेको छ।
यद्यपि ऋणदाताको एउटा समूहले आफ्नो कर्जा पुनर्संरचना योजनालाई मान्यता दिएको फोर्ट्यून ल्यान्डले यही महिनाको आरम्भमा बताएको थियो।
उक्त सम्झौताले ऋणमा चुर्लुम्मै डुबेको उक्त कम्पनीलाई ठूलो राहत दिएको छ।
ऋण सङ्कट
घरजग्गा निर्माण तथा व्यापारको क्षेत्रमा अत्यधिक ऋण लिने प्रवृत्तिविरुद्ध सरकारले गत वर्ष नियन्त्रण गर्न थालेपछि अरू कम्पनीजस्तै ऋणको ठूलो भारी बोकेको फोर्ट्यून ल्यान्ड पनि ठूलो दबावमा पर्यो।
फोर्ट्यून ल्यान्डल यो वर्ष अर्बौँ डलरको ऋणपत्र चुक्ता गर्न विफल भएको थियो।
सङ्कटमा पर्ने ठूला कम्पनीमध्ये झन्डै ३०० अर्ब ऋण लिएको विशाल उद्योग एभरग्र्यान्ड पनि छ। सो कम्पनी भर्खरै केही विदेशी ऋणपत्रको ब्याज समयमा तिर्न असफल भएको छ।
अफशोर ऋण १२ अर्ब लिएको प्रतिद्वन्द्वी कम्पनी काइसाले गत साता ४० करोड डलरको ऋणपत्र गत साता तिरेन।

यो पनि हेर्नुहोस्











