एभरग्र्यान्डे: विशाल चिनियाँ घरजग्गा कम्पनी टाट पल्टिएमा कत्रो धक्का पर्ला

एभरग्र्यान्डेले अहिले उसको फुटबल टीम ग्वाङझाउ फुटबल क्लबका लागि रङ्गशाला बनाइरहेको छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, एभरग्र्यान्डेले अहिले उसको फुटबल टीम ग्वाङझाउ फुटबल क्लबका लागि रङ्गशाला बनाइरहेको छ

चिनियाँ कम्पनी एभरग्र्यान्डेले आफ्ना लगानीकर्तालाई घरजग्गा बाँडेर उनीहरूको लगानी फिर्ता गर्न सुरु गरेको छ।

विश्वको सबैभन्दा धेरै ऋणमा परेको चिनियाँ घरजग्गा व्यवसायी कम्पनीको यो हप्ता ठूलो परीक्षा हुन लागेको छ।

केही प्रमुख ब्याङ्कहरूलाई सोमवार आउनुपर्ने ब्याज नआउने जानकारी गराइसकिएको छ।

कम्पनीको ऋणपत्रमा तिर्न बाँकी ८ करोड ४० लाख डलरको ब्याजको भाका पनि बिहीवार पुग्दैछ।

हङकङको बजारमा सोमवार उक्त कम्पनीको शेयर मूल्य १५ प्रतिशतले घटेको थियो।

घरजग्गा व्यापार गर्ने विशाल कम्पनीको ऋण समस्याले चीनको अर्थतन्त्रमा पार्न सक्ने समस्याबारे त्रास व्यक्त गर्न थालिएको छ।

एभरग्र्यान्डे किन समस्यामा छ?

एभरग्र्यान्डे ३०० अर्ब डलरभन्दा बढी ऋण लिएर चीनको एउटा ठूलो कम्पनी बनेको थियो।

गत वर्ष बेइजिङले ठूला घरजग्गा व्यवसायीहरूले तिर्न बाँकी रकम नियन्त्रण गर्न नयाँ नियम ल्याएको थियो।

नयाँ व्यवस्थाले एभरग्र्यान्डेलाई उसका घरजग्गाहरू ठूलो सहुलियतमा विक्रीमा राख्न बाध्य बनाएको थियो ता कि पैसा आइरहोस् र व्यवसाय चलिरहोस्।

अहिले उसले आफ्नो ऋणको ब्याज तिर्नै सङ्घर्ष गरिरहेको छ।

यो अनिश्चयले गर्दा यो वर्ष उक्त कम्पनीको शेयर मूल्य ८५ प्रतिशतले घट्यो। ग्लोबल रेटिङ कम्पनीले उसको ऋणपत्रको मूल्य पनि घटाइदियो।

एभरग्र्यान्डे धराशायी हुँदा के असर पर्छ?

एभरग्र्यान्डेका समस्याहरू गम्भीर मानिनुका केही कारण छन्।

पहिलो त धेरै मानिसले एभरग्र्यान्डेलाई घर बनाउने काम शुरू हुनुअघि नै पैसा तिरेका छन्। यदि एभरग्र्यान्डे धराशायी भयो भने उनीहरूले तिरेको रकम गुमाउनुपर्ने हुन सक्छ।

एभरग्र्यान्डेसँग व्यवसाय गर्ने अरू कम्पनी पनि छन्।

निर्माण, डिजाइन र अन्य सामग्री आपूर्तिकर्ताले पनि समस्या भोग्ने छन् जसले उनीहरूलाई टाट पल्टाउन सक्छ।

तेस्रो चाहिँ चीनको आर्थिक प्रणालीमा नै सम्भावित असरको कुरा हो।

"त्यसको आर्थिक सङ्कटले धेरै क्षेत्रलाई नकारात्मक असर पार्न सक्छ। एभरग्रयान्डेले १७१ घरेलु ब्याङ्क र अरू १२१ आर्थिक संस्थाबाट ऋण लिएको बताइएको छ" द इकोनोमिस्ट इन्टेलिजेन्स युनिटका माटी बेकिङकले बीबीसीलाई बताइन्।

यदि एभरग्र्यान्डे टाट पल्टियो भने, ब्याङ्क तथा अन्य ऋणदाताहरू पनि कम ऋण दिन बाध्य हुनेछन्।

यसले अर्थतन्त्रमा क्रेडिट क्रन्च भनेर चिनिने कर्जा सङ्कट उत्पन्न हुनसक्छ। यस्तो अवस्थामा कम्पनीहरूले कर्जा प्राप्त गर्न सक्दैनन्।

विश्वको दोस्रो ठूलो अर्थतन्त्रका निम्ति कर्जा सङ्कट अत्यन्तै खराब समाचार हुनेछ किनभने कर्जा नलिईकन कम्पनीहरू विस्तार हुन सक्दैनन्, अझ कतिपय अवस्थामा त सञ्चालन पनि हुन सक्दैनन्।

त्यसले विदेशी लगानीकर्तालाई पनि बेचैन गराउनेछ र वैदेशिक लगानीका निम्ति चीन कम आकर्षक हुनसक्छ।

के एभरग्र्यान्डेलाई विफल हुनबाट जोगाइएला?

अति धेरै ऋण भएको यो कम्पनी डुबेमा त्यसले पार्न सक्ने प्रभावका कारण केही विश्लेषकहरू बेइजिङले उसको उद्धार गर्न सक्छ भन्ठान्छन्।

ईआईयूका म्याटी बेकिङ्कको पनि त्यस्तो धारणा छ: "कम्पनीमा सामान आपूर्ति गर्दै आएकाहरूको आर्थिक अवस्था र घर लगानीकर्तालाई राहत दिन सरकारले एभरग्र्यान्डेको मूल व्यवसाय धान्न केही उपाय अपनाउला भन्ने हामीलाई लाग्छ।"

तर अरू त्यसमा निश्चिन्त छैनन्।

चीनको वी च्याट नामक एपमा राज्यनियन्त्रित ग्लोबल टाइम्स अखबारका प्रभावशाली प्रमुख सम्पादक हु सिजिनले एभरग्र्यान्डे सरकारी सहयोगबाट होइन कि आफैँ बच्नुपर्ने लेखेका छन्।

त्यो कर्पोरेट ऋण नियन्त्रण गर्ने बेइजिङको लक्ष्यसँग मेल खान्छ। सरकारले सहयोग गर्ने हो भने त्यो नराम्रो उदाहरणको नजिर बन्न सक्छ।

एभरग्र्यान्डेले के गर्छ?

पहिले हेङ्डा ग्रूप नामले चिनिले एभरग्र्यान्डेको स्थापना ग्वाङझाउ, दक्षिणी चीनमा व्यवसायी हुई का यानले गरेका हुन्।

एभरग्र्यान्डे रियल इस्टेटसँग अहिले चीनभरिका २८० शहरमा १,३००आयोजनाको स्वामित्व छ।

अहिले एभरग्र्यान्डे भनेको घरजग्गा व्यवसायमा मात्र सीमित छैन।

सम्पत्ति व्यवस्थापनदेखि इलेक्ट्रिक कार बनाउनेसम्म र खाद्य तथा पेय पदार्थ उत्पादन गर्नेसम्म काम यसले गर्छ। यो कम्पनीसँग चीनको ठूलो फुटबल क्लबमध्ये एक ग्वाङझाउ फुटबल क्लबको स्वामित्व पनि छ।

फोर्ब्सका अनुसार व्यवसायी हुइसँग १०.६ अर्ब डलर व्यक्तिगत सम्पत्ति छ।

(पीटर हस्किन्स र केटी सिल्भरको रिपोर्टिङ)