भारतमा मुस्लिम भएकै कारण निशानामा

- Author, नितिन श्रीवास्तव
- Role, बीबीसी हिन्दी
अमिरुद्दीन अझै शोकमा छन्। उनका लागि जीविकोपार्जनको एक मात्र सहारा भारतको दुर्गम गाउँको एउटा कुनामा रहेको पसल भग्नावशेषमा परिणत भएको छ।
मुस्लिम समुदायका ऊनी भारतको उत्तर पूर्वी त्रिपुरा राज्यमा शान्तिपूर्वक नै बसिरहेका थिए। तर गत महिना हिन्दूहरूको एउटा उत्तेजित भिडले उनको गाउँमा विध्वंस मच्चायो ।
“त्यो भिडले हाम्रो गाउँमा पसेर बजारमा आक्रमण गरिरहँदा म पारिपट्टिको धान खेतमा उभिएर हेरिरहेको थिएँ” उनले भने।
“प्रहरी आएका कारण हाम्रा घरहरूमा पुग्न नसकेपछि उनीहरूको आवेग अपराह्नतिर केही घण्टाका लागि बन्द रहने पसलहरूतिर मोडियो।”
अलिअलि भएको बचतको सहारामा उनको पाँच जनाको परिवारले गुजारा चलाउनु परिरहेको छ। उनको रोवा गाउँमा काम पनि खासै पाइँदैन।
त्रिपुराको ४२ लाख जनसङ्ख्यामध्ये हरेक १० जनामा एक जना भन्दा कम मुस्लिम छन्। सानो सङ्ख्यामा रहेका मुस्लिम अल्पसङ्ख्यकहरू हिन्दू छिमेकीहरू सँगसँगै बस्दै आएका छन्।
भारतका अन्य भागहरूमा धार्मिक हिंसा सामान्यजस्तै भए पनि यो क्षेत्रमा कहिल्यै त्यस्तो देखिएको थिएन। त्यही भिडले नजिकैको अर्को सहरमा पनि एउटा मस्जिदमा आक्रमण गरेको थियो।
हिन्दू र मुस्लिम बस्तीले घेरिएको चामतिला मस्जिदका ढोकाहरू इँटाले हानेर तोडिएका छन्, भित्रपट्टि पङ्खाहरू भाँचिएका छन् अनि झ्यालहरू टुक्रा टुक्रा बनाइएका छन्। अहिले यो क्षेत्रका धेरैजसो मानिसहरू घर बाहिर निस्कन पनि रुचाउँदैनन्।
गत अक्टोबर महिनामा मात्रै उत्तरी त्रिपुराको यो जिल्लामा धार्मिक हिंसाका १० भन्दा बढी घटनाहरू जानकारीमा आएका छन्।
जिल्लाका एक वरिष्ठ प्रहरी अधिकारी भानुपदा चक्रवर्तीले मस्जिदहरूमा आगजनी भएको घटना अस्वीकार गरे। उनले केही मस्जिदहरूमा तोडफोड भएको बताए पनि त्यस्ता मस्जिदको यकिन सङ्ख्या बताउन सकेनन्।
कसरी सुरु भयो

तस्बिर स्रोत, Panna Ghosh/BBC
अक्टोबर २६ मा भारतको सत्ताधारी भारतीय जनता पार्टीसहित आधा दर्जन हिन्दू समूहहरू निकट मानिने हिन्दू कट्टरपन्थी संस्था विश्व हिन्दू परिषद्को एउटा र्याली पछि मुस्लिमहरूमाथि आक्रमण भए।
उनीहरूले छिमेकी बङ्गलादेशमा केही समयअघि हिन्दूहरूमाथि भएको आक्रमणको विरोध गरेका थिए। त्रिपुरा तीन तर्फबाट बङ्गलादेशले घेरिएको छ।
त्यो र्याली अमरूद्धिनको गाउँबाट केही किलोमिटर मात्रै टाढा रहेको सीमावर्ती सहर पानीसागरमा भएको थियो। प्रारम्भिक विवरणहरूले र्यालीमा सहभागी सङ्ख्या ३,००० रहेको बताए पनि प्रहरीले त्यस भन्दा पनि धेरै मानिसहरू सहभागी रहेको अनुमान गरेको छ।
“र्यालीमा करिब १०,००० मानिसहरू सहभागी थिए र हिन्दू र मुस्लिम दुवैले एक अर्कालाई उत्तेजित पार्ने काम गरेको आरोप लगाएका छन्। यसबारे हामी छानबिन गर्दै छौँ,” प्रहरी अधिकारी चक्रवर्तीले भने।
मुसलमान विरोधी आक्रमणमा बाहिरी तत्त्वको संलग्नता रहेको विश्व हिन्दू परिषद्का स्थानीय नेता विजित रोयको आरोप छ।
“हामी भारतीय मुस्लिमको विरुद्धमा छैनौँ। उनीहरू त हाम्रै जनता हुन् र हामी समान उनीहरूको पनि अधिकार छ,” उनी भन्छन्।
“ढुङ्गा हानिएको हल्लापछि हिंसा सुरु भएको थियो। म मस्जिद बचाउन प्रयास गरिरहेको थिएँ।”
कदमतला सहर पनि पानीसागर नजिकै छ। मस्जिद र पसलहरू तोडफोड भएको हल्ला फैलिएपछि मुस्लिमहरूको ठुलो भिड कदमतलामा जम्मा भयो।
उनीहरूले हिंसामा संलग्नलाई तत्काल पक्राउको माग गर्दै नाराहरू लगाए।
नजिकैको अर्को गाउँ चुराइबारीमा बस्ने हिन्दूहरूले आफूहरू मुस्लिमहरूको निशानामा परेको बताए।
दुई तल्ले घरमा बस्दै आएको एक शाह परिवारले भीडले ढुङ्गा प्रहार गर्दै रोकेर राखिएका उनीहरूका दुई वटा कार मागेको भिडियो हामीलाई देखाए।

त्यसयता आफू राम्रोसँग सुत्न पनि नसकेको १८ वर्षकी सोनाली शाहले बताइन्।
“म राति १० बजेतिर पढेर बसिरहेको थिएँ। त्यति बेलै भिड आएर ढुङ्गा र सिसाका बोतलहरू हान्न सुरु गर्यो। उनीहरू १०-१५ मिनेटमै यहाँबाट गए तर मलाई आमाले सबै झ्याल ढोकाहरू बन्द गरिरहँदा पनि साँच्चिकै डर लाग्यो,” उनले भनिन्।
कम्युनिस्ट पार्टीको २५ वर्ष लामो शासनपछि सन् २०१८ यता त्रिपुरामा भारतीय जनता पार्टीले सरकार सञ्चालन गर्दै आएको छ। प्रतिपक्षी पार्टीहरूले सरकार पक्षलाई चुनाव जित्न धर्मलाई राजनीतिसँग जोडेको आरोप लगाउँदै आएको छ तर बीजेपीले आरोप अस्वीकार गर्ने गरेको छ।
भाजपाको धारणा के छ
“अल्पसङ्ख्यक मुस्लिमहरू हाम्रो सरकारको मातहतमा सुरक्षित हुन्छन् भन्ने मलाई लाग्छ। हामी धेरै नजिक बाँधिएका समुदायहरू हौँ र जे भयो त्यो दुर्भाग्य हो,” त्रिपुराको विधान सभाका उपसभामुख विश्वबन्धु सेन भन्छन्।
“हामी उत्तरी भारतमा मात्र सात वटा सरकारमा सहभागी छौँ। त्यस कारण पनि हाम्रा राजनीति प्रतिस्पर्धीहरू प्रधानमन्त्री मोदीलाई बदनाम गर्न चाहन्छन्।”
अशान्तिको केही हप्तापछि त्रिपुरा राज्य सरकारले जातीय बेमेल फैलाएको आरोपमा दुई जना महिला पत्रकारलाई पक्राउ गर्यो। अन्ततः उनीहरूलाई अदालतले धरौटीमा रिहा गर्यो।

बीजेपीले वाक् स्वतन्त्रता र पत्रकारितालाई नियन्त्रण गर्ने आफूहरूको कुनै योजना नरहेको बताउने गरेको छ।
“हामी निष्पक्ष पत्रकारितामा विश्वास गर्छौँ र उनीहरूको स्वतन्त्रता खुम्च्याउने गर्ने प्रयास निश्चय पनि गर्दैनौँ। यो सब सञ्चार माध्यमको केही समूहले हामी विरुद्ध गरेको प्रचार मात्रै हो,” सेनको दाबी छ।
बीबीसीको टोलीलाई पानीसागर प्रहरी कार्यालयले भ्रमणको उद्देश्यबारे जानकारी गराउन बोलाएको थियो। रोवामा पसल सञ्चालक मुस्लिमहरूको अन्तरवार्ताको छायाङ्कन गरिरहँदा पनि स्थानीय प्रहरीले हाम्रो निगरानी गरेका थिए।
अहिलेसम्म राज्यको जनजीवन पुन सामान्यतर्फ फर्कँदै गएको छ। तर भविष्यलाई लिएर चिन्ता कायमै छ।
“हामीलाई अप्ठ्यारो भएको छ र पत्यार नलाग्ने घटना भएको छ। तर हामीले यो फेरि नदोहोरिने आशा गर्दै जनजीवन पुनः पुरानै अवस्थामा फर्काउँदै छौँ,” भीडले पसलमा आंशिक क्षति पुर्याएका ३४ वर्षीय अमिर हुसेनले भने।
प्रतिपक्षी कम्युनिस्ट पार्टी अफ इन्डिया (मार्क्सवादी)का सांसद इलामुद्दीन यसअघि कहिल्यै नभएको हिंसाका कारण हिन्दु र मुस्लिम दुवै त्रासमा रहेको बताउँछन्।
“यो घाउमा मलहम लगाउन दिगो प्रयासहरू जरुरी छन्,” उनले भने।








