भारतीय राज्य त्रिपुरामा भड्कियो मुस्लिमविरोधी हिंसा

तस्बिर स्रोत, PINAKI DAS
- Author, सुबिर भौमिक
- Role, कोलकाता
भारतको उत्तर-पूर्वी राज्य त्रिपुरामा मुस्लिमहरूको सम्पत्ति र मस्जिदहरूमा हमला भएपछि तनाव सिर्जना भएको छ।
प्रभावित क्षेत्रहरूमा सुरक्षा व्यवस्था कडा पारिनुका साथै जमघटहरूमा प्रतिबन्ध लगाइएको छ।
हिंसा भड्किएपछि हिन्दू समूह र प्रहरीबिच झडपहरू भएका थिए।
ती समूहहरूले हालै बाङ्लादेशमा हिन्दूहरूमाथि गरिएका हमलाको विरोधमा र्याली आयोजना गर्न नदिएकोमा प्रहरीविरूद्ध प्रदर्शन गरेका थिए।
पृष्ठभूमि
यसै महिनाको सुरुतिर छिमेकी बाङ्लादेशमा भएका घटनामा कम्तीमा सातजनाको मृत्यु भएको थियो।
दुर्गा पूजाको अवसरमा कुरानको अपमान गरिएको भन्ने हल्ला फैलिएपछि त्यहाँ मन्दिरहरूमा आक्रमण हुनुका साथै अल्पसङ्ख्यक हिन्दूहरूका सयौँ घर तथा व्यवसायहरू जलाइएको थियो।
त्रिपुरा तीनतिरबाट बाङ्लादेशले घेरिएको छ र छिमेकी आसाम राज्यसँग साँघुरो बाटोले जोडिएको छ।

तस्बिर स्रोत, Pinaki das
उक्त राज्य सन् २०१८ पछि केन्द्रमा सत्ता सञ्चालन गरिरहेको भारतीय जनता पार्टी (भाजपा)को नेतृत्वमा छ।
त्यसअघिको २५ वर्ष त्यहाँ कम्युनिष्ट शासन चलेको थियो।
त्रिपुरामा असर
पछिल्ला चार दिनमा मात्र उत्तर त्रिपुरा जिल्लामा धार्मिक हिंसाका १० वटा घटना थाहा भएका छन्।
अधिकारीहरूले मङ्गलवार रातिको हिंसापछि सीमावर्ती शहर पानीसागरमा ठूला समारोहहरू गर्नमा रोक लगाएका छन्।
मङ्गलवार राति मुस्लिमहरूका कैयौँ पसल र एउटा मस्जिदमा तोडफोड गरिएको थियो।
उक्त हमलापछि हिन्दूवादी सङ्गठन विश्व हिन्दू परिषद्को आयोजनामा एउटा र्याली भएको थियो।
उक्त सङ्गठन भाजपानिकट मानिन्छ।
'राजनीतिक मनसाय'
एकजना वरिष्ठ प्रहरी अधिकृतले उक्त र्यालीमा झण्डै ३५०० मानिसहरू सहभागी भएको बताएका छन्।
त्रिपुराको झण्डै ४२ लाख जनसङ्ख्यामध्ये मुस्लिमहरू ९ प्रतिशतभन्दा कम छन्।

तस्बिर स्रोत, PINAKI DAS
विपक्षी दलहरूले भाजपा निकट 'उशृङ्खल तत्त्वहरूले राजनीतिक मनसायले' मुस्लिमहरूमाथि हमला गरेको आरोप लगाएका छन्।
नोभेम्बरमा हुने राज्यको चुनावअघि मतदाताहरूलाई ध्रूवीकृत पार्न खोजेको उनीहरूले आरोप छ।
त्रिपुराका अल्पसङ्ख्यक मामिलामन्त्री रतनलाल नाथसँग प्रतिक्रिया लिने प्रयास सफल हुन सकेन।








