गुरु नानकः के ५०० वर्षअघि सिख धर्मगुरु नेपाल आएका थिए? पशुपतिनाथसँग सिखहरूको साइनो कस्तो छ?

लस एन्जलिस म्यूजीम अफ आर्टले उपलब्ध गराएको यो चित्र
तस्बिरको क्याप्शन, लस एन्जलिस म्यूजीअम अफ आर्टले उपलब्ध गराएको यो तस्बिर गुरु नानक र गुरु गोविन्द सिंहको काल्पनिक भेटबारे भारतको हिमाचल प्रदेशमा १८औँ शताब्दीमा बनाइएको चित्रको हो
    • Author, विष्णु पोखरेल
    • Role, बीबीसी न्यूज नेपाली

हिन्दूहरूका आराध्यदेव पशुपतिनाथको हरेक दिन नित्यपूजा हुने गर्छ। त्यसरी गरिने नित्यपूजाका विभिन्न विधिहरू निर्धारण गरिएका छन्।

तर ती विधिहरू सुरु गर्नुपूर्व पशुपतिको शिवलिङ्गमा फूलको माला लगाइदिनु पर्छ। त्यसलाई शिरमाला भन्ने गरिन्छ।

उक्त शिरमाला कहाँबाट ल्याइन्छ भन्ने कुरा रोचक रहेको बताउँछन्- संस्कृतिविद् एवं पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव गोविन्द टण्डन।

उनी भन्छन्, "पशुपतिनाथको नित्यपूजाका लागि चढाइने शिरमाला अहिले पनि पशुपति क्षेत्रमा अवस्थित एउटा सिखहरूको अखडा (निर्मल अखडा) बाट आउँछ।"

धेरैलाई अचम्म लाग्न सक्ने उक्त चलन राणाकालदेखि नै चल्दै आएको उनी बताउँछन्।

पशुपतिनाथको शिरमालासँग जोडिएको उक्त कुराले पशुपति क्षेत्रमा विभिन्न धर्मबीच सहअस्तित्व स्वीकारिएको छ भन्ने पनि देखाउने उनको तर्क छ।

"निर्मल अखडा जङ्गबहादुरका छोरा जीतजङ्गले स्थापना गरेको भन्ने प्रमाण पाइएका छन्। उनैले शिरमाला त्यहाँबाट लगेर प्रयोग गर्नुपर्ने चलन पनि चलाएका हुन्," टण्डन भन्छन्।

पशुपतिको मन्दिरनजिकै नानकमठ छ
तस्बिरको क्याप्शन, पशुपतिनाथको मन्दिरनजिकै अवस्थित नानकमठमा गुरुग्रन्थ साहेब छ

राणाकालमा नेपालका राजा र राणा परिवारमा पञ्जाबका खत्रीहरूप्रति ठूलो सम्मान र लगाव रहेको टण्डनको तर्क छ।

नेपालको दरबार र पञ्जाबका खत्रीबीच वैवाहिक सम्बन्धहरू पनि स्थापित भएका उदाहरणहरू रहेकाले त्यसैको प्रभावका कारण पशुपतिमा शिरमाला सिखको अखडाबाट ल्याउन थालिएको हुनसक्ने उनी ठान्छन्।

"पशुपति क्षेत्रमा बाँदर धेरै लाग्ने भएकाले फूलहरू नष्ट हुने गर्थे होलान्, तर निर्मल अखडामा हेरचाहको व्यवस्था भएकाले त्यहाँका फूलहरू राम्रो हुने गरेकाले पनि त्यस्तो चलन चलाइएको हुनसक्छ," टण्डन भन्छन्।

निर्मल अखडामा फूल र बगैँचा राम्रो नहुँदा पनि उक्त चलन भने जारी रहेको उनी बताउँछन्।

"म नै सदस्यसचिव हुँदाखेरि निर्मल अखडाले किनेर माला दिने र त्यसबापत कोषले पैसा दिने व्यवस्था मिलाएका हौँ," उनी भन्छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, नेपालमा सिखहरू

के गुरु नानक नेपाल आएका थिए?

निर्मल अखडाबाहेक पनि पशुपति क्षेत्रकै भस्मेश्वर महादेव भएको स्थानमा अर्को एउटा नानक मठ रहेको छ। ती दुवै स्थानमा गुरुग्रन्थ साहेब राखिएका छन्।

तीबाहेक काठमाण्डूको ज्ञानेश्वर, कालमोचन, शोभाभगवती र बालाजुमा पनि ऐतिहासिक नानकमठ र अखडाहरू छन्।

यी मठ र अखडाको स्थापना, तिनलाई राजाहरूले दिएका जग्गाका प्रमाणहरू र काठमाण्डूमा पाइने अनुश्रुतिका आधारमा कतिपयले सिखधर्मका प्रवर्तक गुरु नानक नेपालमा आएका थिए भन्ने लेखेका छन्।

त्यस्ता अध्येतामा नेपाली मात्र नभएर भारतीयहरू पनि धेरै छन्।

गुरु नानकको जीवनी लेख्नेहरूले पनि उनले प्रवचन दिँदै र तपस्या गर्दै विभिन्न क्षेत्रको भ्रमण गरेको र त्यस क्रममा नेपाल आएको भनी पुस्तकहरूमा लेखेको पाइन्छ।

तर नेपाली इतिहासकारहरू भने यहाँका पुराना अभिलेखहरू तथा प्रमाणहरूमा कतै पनि नानकले नेपाल भ्रमण गरेको भन्ने विवरण नभेटिएको बताउँछन्।

त्यसैले ऐतिहासिक प्रमाणका आधारमा नेपालमा नानकको भ्रमण भएको भन्न नसकिने उनीहरू बताउँछन्।

प्रकाशोन्मुख पुस्तक 'नेपालमा सिख धर्म' का लेखक एवम् इतिहासकार महेशराज पन्त भन्छन्, "ऐतिहासिक प्रमाणका आधारमा गुरु नानक मात्र होइन, सिख धर्मका दशम गुरुसम्म पनि नेपाल आएको प्रमाण छैन।"

तर गुरु नानकले आफ्नो जीवनकालमा गरेका भ्रमणहरूबारे नै पुस्तकहरू प्रकाशित भएका छन्। अनि तिनमा उनले नेपालको भ्रमण गरेको उल्लेख छ।

नानकमठ

भ्रमणको विवरण

तिनैमध्येको एउटा पुस्तक हो- सुरिन्दर सिंह कोहलीद्वारा लिखित र सन् १९६९ मा पञ्जाब विश्वविद्यालय, चण्डीगढबाट प्रकाशित 'ट्राभल्स् अफ् गुरु नानक'।

उक्त पुस्तकमा कोहलीले नानकले आफ्नो तेस्रो भ्रमण नेपालमा गरेको उल्लेख छ।

उनले लेखेका छन् (पृ. ११३), "सन् १५१४-१५ मा गुरु नानक उत्तर प्रदेशको सीमाबाट भारतीय उपमहाद्वीप र तिब्बतको बीचमा रहेको स्वतन्त्र अधिराज्य नेपालको भूमिमा प्रवेश गरे।"

उनको नेपाल आउनुको उद्देश्य एउटै मात्र भगवान् छन् भन्ने सन्देश दिनु र धेरै भगवान्‌को प्रार्थना गर्नबाट रोक्नु थियो भन्ने कोहलीको दाबी छ।

नानक भारतको बिहारस्थित सीतामढीबाट नेपाल प्रवेश गरेर जनकपुर पुगेको र त्यहाँबाट उनी चतरा हुँदै वराहक्षेत्र पुगेको उक्त पुस्तकमा उल्लेख छ।

उनलाई नेपालमा त्यसबेला नानक ऋषिका रूपमा मानिएको पनि कोहलीको तर्क छ।

नानक नेपालका विभिन्न भाग हुँदै काठमाण्डू प्रवेश गरेको र उनी पशुपतिनाथमा बसेको पुस्तकमा उल्लेख छ।

त्यसमा नेपालका राजाले उनीसँग धार्मिक र अन्य खाले निर्देशनहरू लिएको पनि उल्लेख छ। तर त्यसमा नेपालका राजा भनी 'राजा ससोदिया राजपुत महान् रनवीर सिंह' भनेर लेखेकाले पुस्तकमाथि शङ्का उत्पन्न हुने इतिहासकारहरू बताउँछन्।

उनल नेपालका विभिन्न स्थान सहित सोलुखुम्बुको त्याङ्बोचे गुम्बाको पनि भ्रमण गरेको दाबी पुस्तकमा छ (पृ. ११५-११६)।

सोही कुरालाई नेपालस्थित भारतीय दूतावासले सन् २०१९ मा प्रकाशित गरेको 'सिख हेरिटेज अफ नेपाल' नामक एउटा पुस्तिकामा समेत उल्लेख गरिएको छ।

उक्त पुस्तिकामा मन्तव्य लेख्दै भारतीय राजदूत मञ्जीवसिंह पुरीले उक्त दाबी गरेका हुन्।

गुरुद्वारामा नेपाली पुजारी

तस्बिर स्रोत, गुरुद्वारामा नेपाली पुजारी

तस्बिरको क्याप्शन, यसपालि गुरु नानकको ५५२ औँ जन्मजयन्ती मनाइँदैछ (फाइल तस्बिर)

इतिहासकारहरूको प्रश्न

विभिन्न पुस्तकहरूमा लेखिएको र प्रचार गरिएका कुराहरूमा नेपाली इतिहासकारहरूले भने प्रश्न उठाएका छन्।

पर्याप्त प्रमाणबिनै यस्ता कुरा लेखिएको उनीहरूको तर्क छ।

नानक नेपाल आएको दाबी लाई खण्डन गर्ने तर्क दिँदै इतिहासकार पन्त भन्छन्, "नानकपन्थीहरूको नेपाल साइनो पाइएको चाहिँ मल्ल राजा जगत्जय मल्ल (राज्यकाल विसं. १७७९ देखि १७९२ सम्म)को पालामा हो। त्यसबेला त सिखहरूका दशम गुरु पनि सकिएर गुरुग्रन्थ साहेबलाई गद्दीमा राखेर काम चलाउन थालिएका थिए।"

उनका अनुसार जगत्जय मल्लले ज्ञानेश्वरको नानक मठलाई खेत दिएको प्रमाण छ।

त्यसपछि उनका छोरा जयप्रकाश मल्लले चाहिँ विसं. १८१३ मा पशुपतिको भस्मेश्वर महादेवको नानक मठलाई २० रोपनी जग्गा दिएको प्रमाण रहेको पन्त बताउँछन्।

उनी भन्छन्, "नानकको जन्म विसं. १५२६ मा भयो उनका उत्तराधिकारी अङ्गद विसं. १५६१ मा गद्दीमा बसेका हुन्। त्यसको २०० वर्षको अन्तरालमा मात्र नेपालमा जग्गाहरू दिइएको प्रमाण छ। त्यस बेला गुरु परम्परा सकिएर ग्रन्थ साहेबलाई मात्र गद्दीमा राख्ने चलन थियो।"

पन्तका अनुसार नानकका समकालीन नेपाली राजा यक्ष मल्ल हुन्।

अनि नानकपन्थीहरूलाई जग्गा दिने जगत्जय मल्ल भए पनि धेरैले उनलाई जयजगत् मल्ल लेखेको पाइएको पन्तको तर्क छ।

"जगत्जय मल्ललाई चाहिँ जयजगत् मल्ल भनेर १८ औँ शताब्दीको जगत्जयलाई १६ औँ शताब्दीको नानकसँग जोडिदिए। मैले गुठी संस्थानका ताम्रपत्र र लालमोहोरहरू हेरेर अध्ययन गरेको हो। त्यहाँका ६००-७०० सन्दर्भहरू केलाएर निकालेको निष्कर्ष हो यो।"

नेपालका सिख
तस्बिरको क्याप्शन, शोभाभगवतीस्थित नानक मठअगाडि राखिएको घण्टामा पञ्जाबी भाषामा लेखिएको छ

अभिलेख छैन

संस्कृतिविद् टण्डन पनि नानक नेपाल आएको प्रमाणित हुने ऐतिहासिक कुराहरू नपाइएको बताउँछन्।

"गुरु नानक नै नेपाल आए भन्ने कुनै शिलालेख र अभिलेख त छैन। तर त्यसैका आधारमा उनी आएनन् नै भन्न त सकिन्न," उनले भने।

पहिलेपहिले हिमालका गुफाहरूमा तपस्या गर्न र तीर्थयात्राका लागि धर्मगुरुहरू नेपालमा आउने गरेका विवरण पाइने गरेको टण्डनको तर्क छ।

त्यसका आधारमा नानक वा नानक पन्थीहरू नेपालमा आएका हुनसक्ने पनि अनुमान गर्न सकिने उनी बताउँछन्।

अर्का इतिहासकार जगदीशचन्द्र रेग्मी चाहिँ धर्मगुरुका जीवनी र यात्राबारे धैरै कुराहरू बढाइचढाइ गरिएको पनि हुनसक्ने बताउँछन्।

उनले भने, "जोगी, सन्त, महात्मा, ऋषि, मुनिहरूबारे सत्यभन्दा पनि गफ बढी भएको हुन्छ। हुन त यस्ता महात्माहरू अध्ययनका लागि वा तीर्थयात्राका लागि संसार घुमेका हुनसक्छन्।"

तर नानक नेपाल आएका थिए भन्ने विवरणहरूप्रति भने उनी पनि शङ्का व्यक्त गर्छन्।

"यदि नानक नेपालमा आएका हुन् भने हाम्रा सन्दर्भ सामग्रीहरूमा त्यसको उल्लेख कुनै न कुनै रूपमा भेटिनुपर्ने हो। त्यस्तो चाहिँ नभेटिएकाले यसमा अझै गहिरोसँग अध्ययन गर्नुपर्छ भन्ने लाग्छ," रेग्मीले भने।

भिडिओ क्याप्शन सुरु हुँदैछ, गुरुद्वारामा नेपाली पुजारी