बाबुराम आचार्यः कहिले दरबारको कृपा, कहिले कटाक्ष - नेपाली इतिहास लेखनमा 'इतिहासशिरोमणि'को योगदान र अन्य प्रसङ्ग कस्ता छन्

बाबुराम आचार्य
    • Author, विष्णु पोखरेल
    • Role, बीबीसी न्यूज नेपाली

काठमाण्डूमा घना बस्ती थिएन। सडकमा कमै गाडी गुड्थे। त्यसै बेला प्रत्येक दिन दिउँसो २ बजेतिर एउटा चिल्लो गाडी गौशालाबाट बत्तीसपुतलीतिर लाग्थ्यो।

अहिलेको द्वारिकाज् होटल आसपासमा आएर रोकिन्थ्यो र कसैले हतेरेर ल्याएका एक दृष्टिविहीन वृद्धलाई लिएर जान्थ्यो। अनि दुई घण्टाजति पछि उनलाई फेरि त्यसरी नै त्यहीँ आएर ओराल्थ्यो।

यो आजभन्दा झन्डै ५५ वर्ष अघिको कुरा हो। चिल्लो गाडीमा चढेर जाने र फर्किने ती व्यक्ति बाबुराम आचार्य थिए। उनलाई धेरैले 'इतिहासशिरोमणि' भनेर चिन्छन्।

पुरानो कुरा सम्झिँदै बत्तीसपुतलीमै घर भएका संस्कृतिविद् गोविन्द टण्डन (६५) भन्छन्, "२०२२ सालतिरको कुरा हो, हामी १७३३ नम्बरको चिल्लो गाडी देख्नेबित्तिकै उहाँलाई लिन आएको हो भनेर चिन्थ्यौँ।"

"उहाँ त्यस बेला प्रत्येक दिन दरबारमा (तात्कालिक युवराज) वीरेन्द्रलाई पढाउन जानुहुन्थ्यो।"

केही समययता कतिपयले आचार्यलाई 'राजाको', 'दरबारको', 'विजेताहरूको' र 'सन्दर्भसामग्रीहरूको उल्लेख नै नगरी' इतिहास लेखेको आरोप लगाउने गरेका छन्।

तर "राणाशासनमा पनि अनवरत रूपमा प्रामाणिक इतिहास खोजेको" र नेपालमा "आधुनिक शैलीको इतिहास लेखनको आरम्भ गरेको" मान्नेहरूको सङ्ख्या उल्लेख्य छ।

'अतिप्रशंसा' र 'अति-आलोचना' दुवैले घेरिएका उनै बाबुराम आचार्यको देहावसान भएको आइतवार ४८ वर्ष पुगेको छ।

विसं १९४४ फागुन २९ गते काठमाण्डूको गौचर सिनामङ्गल (हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रहेको स्थान) मा जन्मिएका उनको विसं २०२९ भदौ २१ गते निधन भएको थियो।

राजदरबार
तस्बिरको क्याप्शन, बाबुराम आचार्यले तात्कालिक युवराज वीरेन्द्रलाई नेपालको इतिहास पढाएका थिए

उनले आफ्नो जीवनकालमा नेपालको इतिहाससम्बन्धी केही पुस्तकहरू र कैयौँ लेखहरू प्रकाशित गराएका थिए।

उनका नाममा प्रकाशित कतिपय चर्चित पुस्तकहरू भने मरणोपरान्त आचार्यका कान्छा छोरा श्रीकृष्ण आचार्यले प्रकाशित गराएका हुन्।

नेपालको आधुनिक इतिहास लेखनको जग बसाउने श्रेय पाएका बाबुराम आचार्यबारे केही रोचक कुरा यहाँ प्रस्तुत गरिएको छ।

१. दोस्रो 'इतिहासशिरोमणि'

आचार्यलाई विसं २००८ सालमा राजा त्रिभुवनले आफ्नो जन्मोत्सवको अवसर पारेर 'इतिहासशिरोमणि' उपाधि प्रदान गरेका थिए।

धेरैले नेपालका शासकबाट 'इतिहासशिरोमणि' उपाधि पाउने बाबुराम आचार्य पहिलो व्यक्ति रहेको ठान्ने गरेका छन्। तर उनी नेपाली शासकले 'इतिहासशिरोमणि' उपाधि दिएका पहिलो व्यक्ति होइनन्।

त्यसअघि राणा प्रधानमन्त्री जुद्धशमशेरले एक भारतीय इतिहासकारलाई यो उपाधि दिएका थिए।

नेपाल प्रज्ञा-प्रतिष्ठानले निकालेको 'इतिहास शिरोमणि बाबुराम आचार्य' पुस्तकमा प्रकाशित आफ्नो लेख 'इतिहास शिरोमणि बाबुराम आचार्यको जीवनवृत्त'मा प्राध्यापक विजयकुमार मानन्धरले त्यसबारे जानकारी दिएका छन्।

मानन्धर लेख्छन्, "... बाबुराम आचार्यलाई सो पदवी दिइनुअगाडि तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरले भारतको अलाहबाद विश्वविद्यालयका प्रख्यात इतिहासकार प्राध्यापक ईश्वरी प्रसाद, जसले 'दि लाइफ एन्ड टाइम्स अफ महाराजा जुद्ध शमशेर जङ्गबहादुर राणा अफ नेपाल' नामक पुस्तक अङ्ग्रेजी भाषामा लेखेका थिए, लाई 'इतिहासशिरोमणि'को पद प्रदान गरिसकेका थिए।"

मानन्धरले उक्त पुस्तकमा लेखेअनुसार विसं २००८ मा "तत्कालीन शिक्षामन्त्री नृपजङ्ग राणाको सिफारिस" र "पाटनमा भएको एउटा कला प्रदर्शनीमा आचार्यले त्रिभुवनलाई ऐतिहासिक वस्तुहरूको व्याख्या गरिदिएका कारण उनको विद्वत्ता थाहा पाएर" राजाले उक्त उपाधि दिएका थिए।

Presentational grey line

यो तपाईँलाई रोचक लाग्न सक्छ

Presentational grey line

मानन्धरले उक्त लेखको अन्त्यमा दुई पृष्ठको सन्दर्भसामग्री राखे पनि कुन सन्दर्भ सामग्रीका आधारमा उनले 'इतिहासशिरोमणि' उपाधिबारे यी कुराहरू लेखे भन्ने खुल्दैन।

इतिहारकार महेशराज पन्तले चाहिँ आचार्यलाई तात्कालिक वाणिज्यमन्त्री गणेशमान सिंहको सिफारिसमा त्रिभुवनले 'इतिहासशिरोमणि' उपाधि दिएको सङ्केत गरेका छन्।

'को हुन् त नयराज पन्त' पुस्तकको 'बाबुराम आचार्य, अनि उनीसँग नयराज पन्त जोडिएको कथा' शीर्षकको लेखमा उनले त्यसबारे उल्लेख गरेका छन्।

पन्त लेख्छन्, "... बाबुराम आचार्य र गणेशमान सिंह (वि.सं. १९७२-२०५४) दुवैले एउटै थालमा भात खाएकाले बाबुराम आचार्यलाई यो सम्मान मिलेको हो भनी नेपाली काङ्ग्रेसको प्रतिद्वन्द्वी नेपाली राष्ट्रिय काङ्ग्रेसको बुलेटिनमा लेखिएको छ भनी मैले सुनेको छु, हेर्न भने पाएको छैन। त्यतिसम्म नभए पनि इतिहासशिरोमणिको पदवी नेपाली काङ्ग्रेसका नेता गणेशमान सिंहमार्फत् मिलेको कुरा यताबाट बुझ्नुपर्छ जस्तो मलाई लाग्छ।"

तर नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेसबारे कैयौँ पुस्तकहरू प्रकाशित गरेका प्राध्यापक राजेश गौतमले गणेशमानसँग लामो अन्तर्वार्ता गरेर तयार पारेको पुस्तक 'नेपालको प्रजातान्त्रिक आन्दोलन र गणेशमान सिंह'मा भने उक्त प्रसङ्ग उल्लेख छैन।

यद्यपि नेपाली काङ्ग्रेस र नेपाली राष्ट्रिय काङ्ग्रेसबीचको झगडाका साथै डिल्लीरमण रेग्मी र सिंहबीचका असहमतिका कैयौँ प्रसङ्ग त्यसमा समेटिएका छन्।

बाबुराम आचार्यका एक नाति भरत आचार्य "आफ्ना हजुरबा अरूभन्दा केही खुला विचारका भए पनि सात/आठ सालतिर गणेशमानसँग एउटै थालमा भातै खाएको कुरा अलि अमिल्दो भएको" बताउँछन्।

२. इतिहासको पुस्तक निस्किनुअघि नै 'इतिहासशिरोमणि'

नेपालको राजनीतिक इतिहासबारे पुस्तक प्रकाशित हुनुपूर्व नै उनले 'इतिहासशिरोमणि' उपाधि पाएका थिए।

बाबुराम आचार्यबारे विभिन्न व्यक्तिहरूले लेखेका लेखहरूका अनुसार उनी 'इतिहासशिरोमणि' बनेको दुई वर्षपछि मात्र उनीद्वारा सम्पादित पहिलो इतिहाससम्बन्धी पुस्तक प्रकाशित भएको थियो।

त्यो पनि उनको एकल सम्पादनमा होइन, योगी नरहरिनाथसँग संयुक्त रूपमा।

पृथ्वीनारायाण शाह

तस्बिर स्रोत, Madan Chitrakar

त्यो पुस्तक हो- विसं २०१० मा प्रकाशित 'बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य-उपदेश'।

नेपाल प्रज्ञा-प्रतिष्ठानले निकालेको 'इतिहास शिरोमणि बाबुराम आचार्य' पुस्तकमै प्राध्यापक भवेश्वर पङ्गेनीले 'इतिहास शिरोमणि बाबुराम आचार्य: व्यक्ति र व्यक्तित्व' शीर्षकमा लेखेको लेखमा उक्त पुस्तकलाई आचार्यको पहिलो इतिहाससम्बन्धी पुस्तक भनेका छन्।

पङ्गेनीको लेखमा झन्डै तीन पृष्ठको सन्दर्भसामग्रीको सूची दिइए पनि उनले कुन सन्दर्भसामग्रीका आधारमा यो कुरा लेखे भन्ने खुल्दैन।

त्यसबारे पङ्गेनी "प्रज्ञा प्रतिष्ठानको सम्पादक मण्डलको गल्तीले त्यस्तो हुन गएको" बताउँछन्।

त्यसअघि राणाकालदेखि नै विभिन्न पत्रपत्रिकामा आचार्यका इतिहाससम्बन्धी खोजमूलक लेखहरू भने प्रकाशित भइसकेका थिए। साहित्यसम्बन्धी आचार्यका दुईवटा पुस्तकहरू पहिल्यै प्रकाशित थिए।

Presentational grey line

यो तपाईँलाई रोचक लाग्न सक्छ

Presentational grey line

ती हुन्- विसं २००२ मा नेपाली भाषा प्रकाशिनी समितिबाट प्रकाशित 'तुलनात्मक सुन्दरकाण्ड' र विसं २००३ मा नेपाली भाषानुवाद परिषद्‌बाट प्रकाशित 'पुराना कवि र कविता'।

त्यसबाहेक उनको जीवनकालमा इतिहाससम्बन्धी आचार्यका अन्य तीन पुस्तकहरू प्रकाशित भएको विवरण पाइन्छ।

तीमध्ये 'श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी' फरकफरक वर्ष गरेर चार भागमा प्रकाशित भएको थियो।

त्यसअघि नै 'चीन र तिब्बतसित नेपालको सम्बन्ध' र 'नेपालको संक्षिप्त वृत्तान्त' प्रकाशित भएका थिए।

बाबुराम आचार्य

३. पिताको अध्ययन, पुत्रको 'थपथाप'

'इतिहासशिरोमणि' उपाधि पाएका आचार्यको निधनपश्चात् उनका चर्चित पुस्तकहरू प्रकाशित भएका छन्।

ती पुस्तकहरूलाई उनकै कान्छा छोरा श्रीकृष्ण आचार्यले सम्पादन गरेर प्रकाशन गराएका हुन्।

तर त्यसो गर्दा पहिले प्रकाशित भइसकेका पुस्तकहरूमा पनि धेरै परिमार्जन गरिएको भन्दै कतिपय इतिहासकारले असन्तुष्टि व्यक्त गरेका छन्।

इतिहासकार प्राध्यापक त्रिरत्न मानन्धरले प्रज्ञा-प्रतिष्ठानको 'इतिहास शिरोमणि बाबुराम आचार्य' पुस्तकमै लेखेका छन्, "... यी पुस्तकको प्रकाशनले इतिहासका विद्यार्थीहरूले बाबुराम आचार्यका छरिएर रहेका तथा केही अप्रकाशित लेखहरू पढ्न पाएका छन्। तर तिनमा भाषागत मात्रै नभई प्रचुर मात्रामा विषयगत परिमार्जन पनि गरिएको छ।"

नेपाल प्रज्ञा-प्रतिष्ठान

तस्बिर स्रोत, Nepal Academy

"उदाहरणका लागि वि.सं. २०२२ मा प्रकाशित नेपालको संक्षिप्त वृत्तान्त १६८ पृष्ठको छ भने वि. सं. २०६३ मा निस्केको सोही पुस्तकको पृष्ठ सङ्ख्या ३५२ पुगेको छ। यस्तै प्रकारले वि.सं. २०१४ मा निस्केको चीन र तिब्बतसित नेपालको सम्बन्ध जम्मा ३२ पृष्ठको छ भने वि.सं. २०५९ मा परिमार्जित भई प्रकाशित चीन, तिब्बत र नेपाललाई २६४ पृष्ठको बनाइएको छ।"

'आधुनिक नेपालको इतिहास लेखनमा बाबुराम आचार्यको योगदान' शीर्षकको लेखमा मानन्धरले थप लेखेका छन्, "यस्तो अवस्थामा यिनलाई इतिहास शिरोमणिको कृति भनेर कसरी मान्ने? मेरो मान्यता के छ भने इतिहास शिरोमणिका लेख वा पुस्तक पुन: प्रकाशन गर्दा जस्ताको जस्तै गरिनु पर्दछ र केही अत्यावश्यक परिमार्जन टिप्पणीमार्फत् गर्न सकिन्छ।"

केही समयदेखि वयोवृद्ध श्रीकृष्ण आचार्यसँग यस विषयमा उनको स्वास्थ्यका कारण कुराकानी हुन सकेन।

तर श्रीकृष्ण आचार्य दम्पतीको रेखदेख गर्दै आएकी छोरी एवम् बाबुरामकी नातिनी कञ्चन शर्मा पनि उक्त कुरालाई नकार्दिनन्।

उनी भन्छिन्, "हजुरबाले छोटोछोटो बुँदाहरू मात्र लेख्नु भएको थियो। मेरो बुबाले त्यसलाई पुस्तकका रूपमा विकास गर्नुभएको हो। उहाँले मसँग भने अनुसार खासमा धेरै किताबमा बुबाकै मेहनत परेको छ, तर हजुरबुबाको बुँदाहरू भएकाले उहाँकै नाममा छापिएको हो।"

तर त्यसो गर्दा बाबुराम आचार्यको लेखनको मर्म नमरेको आचार्य परिवारको तर्क छ।

शर्मा भन्छिन्, "बुँदा लेखेर मात्र राखेको थियो, त्यसलाई बुबाले किताब बनाउनुभएको हो।"

बाबुराम आचार्य

४. वृत्ति र प्रकाशन दरबारबाट, समर्पण जनतालाई

बाबुराम आचार्यलाई कतिपयले "दरबारिया" र "विजेता"को इतिहासकार भन्ने आरोप लगाउने गरेका छन्।

विशेषतः नेपालमा गणतन्त्र स्थापनापश्चात् आफूलाई "मार्क्सवादी" र "प्रगतिशील" भनेर चिनाउने व्यक्तिहरूले त्यस्तो आरोप लगाउँदै आएका छन्।

आचार्यका दुईवटा पुस्तकहरू (एउटा पुस्तकका चार भाग) दरबारको वृत्तिमा प्रकाशित भएका हुन्।

त्यसरी प्रकाशित पुस्तकमा 'नेपालको संक्षिप्त वृत्तान्त' र चार भाग रहेको 'श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी' हुन्।

विभिन्न विवरणमा उल्लेख भएअनुसार विसं २०२२ सालको आरम्भतिर तात्कालिक युवराज वीरेन्द्र अमेरिकाबाट अध्ययन गरी फर्किएपछि उनले आफूलाई इतिहास अध्ययन गर्न मन लागेको र त्यसका लागि आचार्यलाई बोलाउन आदेश दिएका थिए।

उनी हरेक दिन वीरेन्द्रलाई पढाउन दरबार जान्थे। त्यसै क्रममा वीरेन्द्रले नेपालको प्रामाणिक इतिहास तयार पार्न आग्रह गरेको बाबुरामका छोरा श्रीकृष्णले 'नेपालको संक्षिप्त वृत्तान्त'को सम्पादकको भनाइमा लेखेका छन्।

दरबारको वृत्तिमा लेखिएको उक्त पुस्तक विसं २०२२ सालको अन्त्यतिर प्रमोदशमशेर जबरा र मेजर नीरविक्रम प्यासीलाई प्रकाशक राखेर दरबारले नै प्रकाशन गरिदिएको बताइन्छ।

त्यसपछि चार भागमा प्रकाशित 'श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी'को प्रकाशक भने 'श्री ५ महाराजाधिराजका संवाद सचिवालय' हो।

तर दरबारको वृत्तिमा लेखिएका दुवै पुस्तकको समर्पणमा आचार्यले "त्वदीयं वस्तु गोविन्द तुभ्यमेव समर्पये" अर्थात् "सम्पूर्ण नेपाली जनताप्रति (श्रीकृष्णकै अनुवाद)" भनेर लेखेका छन्।

सोही कुरा उल्लेख गर्दै महेशराज पन्तले 'को हुन् त नयराज पन्त' किताबमै लेखेका छन्, "त्यसै कामले गर्दा उनी न राणाशासकका न त्यसपछिका शासकका प्रियपात्र हुन सके।"

'नेपालको संक्षिप्त वृत्तान्त'मा श्रीकृष्ण आचार्यले पनि त्यस्तै लेखेका छन्, "यस कृतिलाई राजपरिवारका कुनै प्रभावशाली व्यक्तिविशेषको नाममा समर्पण गरिएको भए त्यस बेलाको सर्वशक्तिमान राजभवन पक्कै पनि मेरा पिताजीदेखि खुसी हुने थियो तर मेरा पिताजीले त्यसो गर्न चाहनुभएन।"

"... यसबाट नै सर्वसाधारण नागरिकहरूप्रतिको उहाँको स्नेह तथा अनुराग पनि प्रकट हुन आएको छ।"

५. विक्रम संवत्‌को विरोध

आचार्यले नेपालको सरकारी चलनचल्तीमा रहेको संवत्‌लाई विक्रम संवत्‌ नमान्ने घोषणा गरेका थिए।

त्यसैले उनले आफ्ना पछिल्ला लेखहरू र पुस्तकमा पनि कि त इस्वी संवत् चलाएका छन् कि विक्रम संवत्‌लाई संवत्‌ मात्र लेखेका छन्।

'श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी' पहिलो भागको 'एक दुइ कुरा'मा आचार्यले लेखेका छन्, "हाम्रा राष्ट्रिय संवत्‌मा विशेषण गराएर जोडिएको 'विक्रम' शब्द सार्थक देखिन्न। यो संवत् उज्जयिनीका राजा विक्रमादित्यले चलाएका हुन् भन्ने दन्त्यकथा १२०० वर्षपहिलेदेखि भारतमा चल्दै आएको छ र यस देशमा पनि यो दन्त्यकथा आइपुगेको छ।"

"तर, जुन समय (इसापूर्व ५८ वर्ष) मा यो संवत् उठान भएको थियो उस समयमा अवन्तिदेशको राजधानी उज्जयिनीमा राजा विक्रमादित्यको अस्तित्व देखिँदैन। ..."

"..... यस कारणले इसापूर्व पहिला शताब्दीका विक्रमादित्य ऐतिहासिक राजा देखिन्नन्। वास्तवमा यस संवत्‌को उठान वर्तमान राजपूतनामा आबाद भएका मालवगणले गरेका हुन् भन्ने कुरा त्यहाँ पाइएका शिलालेखहरूबाट प्रमाणित भइसकेको छ। यस कारणले यस संवत्‌का साथ जोडिएको 'विक्रम' भन्ने शब्द हटाउनु आवश्यक भएको छ।"

आचार्यले विक्रमसंवत्‌लाई "अवैज्ञानिक" र विक्रमादित्यलाई "अस्तित्वमा नभएका राजा" भनेर लेखेपछि संशोधन-मण्डलले त्यसबेलै खण्डन गर्दै पूर्णिमाको एउटा अङ्कमा त्यसबारे विभिन्न प्रमाणहरू सार्वजनिक गरेको थियो।

Presentational grey line

यो तपाईँलाई रोचक लाग्न सक्छ

Presentational grey line

पूर्णिमाको पूर्णाङ्क २५ मा इतिहासकार नयराज पन्तले लेखेका छन्, "... विक्रमादित्य ऐतिहासिक राजा होइनन्, कालिदास विक्रमको पाँचौँ शताब्दीमा भएका हुन् भनी तपाईंले स्वयंसिद्ध मानी उपस्थित गर्नुभएको सिद्धान्त प्रमाणबाट सिद्ध भएको कुरो होइन, केही पश्चिमा विद्वान्‌हरूको अनुकरण मात्र हो भन्ने कुरा स्पष्ट हुन्छ।"

विक्रमादित्यको शिलालेखहरू नपाइएकाले उनलाई ऐतिहासिक राजा मान्न नसकिने आचार्यको तर्कलाई खण्डन गर्दै पन्तले लेखेका छन्, "अभिलेखबाहेक अरू लेखका प्रामाण्य स्वीकार नगर्ने हो भने हामीहरू इतिहास बनाउन सक्दैनौँ, बनेको प्रामाणिक इतिहास पनि भताभुङ्ग हुन्छन्।"

बाबुराम आचार्य

६. रेडियो 'स्क्रिप्ट' बन्यो सबैभन्दा चर्चित पुस्तक

बाबुराम आचार्यका प्रकाशित पुस्तकमध्ये अहिले धेरै चर्चा हुने पुस्तक हो- अब यस्तो कहिल्यै नहोस्।

तर उक्त पुस्तकमा समावेश आचार्यका इतिहासप्रधान निबन्धहरू सुरुमा पुस्तकका लागि लेखिएका थिएनन्।

प्रज्ञा-प्रतिष्ठानले प्रकाशित गरेको 'इतिहास शिरोमणि बाबुराम आचार्य' पुस्तकमा इतिहासकार भवेश्वर पङ्गेनी लेख्छन्, "रेडियो नेपालका पदाधिकारीहरूको आग्रहअनुसार त्यस संस्थाबाट प्रसारित गर्ने उद्देश्यले रचना गरिएका कारण यस संग्रह (अब यस्तो कहिल्यै नहोस्) मा सङ्गृहीत रचनाहरू शोधपरक नभएर स्वाभाविक रूपमा विवरणात्मक रहेको पाइन्छ।"

पङ्गेनीले पुस्तकमा समावेश ११ वटा निबन्धहरू विसं २०१३ देखि २०२६ सालसम्म लेखिएको उल्लेख गरेका छन्।

उनी लेख्छन्, "पाँच दशक पहिलेतिर नै रेडियो नेपालबाट प्रसारण गर्नका लागि लेखिएका सामान्य लेखहरूलाई जम्मा गरेर सम्भवत: सम्पादकले सम्बन्धित विषयका विभिन्न जानकारी, तिथि-मिति, लिखत एवम् कतिपय तस्बिरसमेत संलग्न गरेर इतिहासलाई वार्ताका माध्यमबाट रोचक ढङ्गले प्रस्तुत गरेका छन्।"

"यद्यपि सम्पादकको 'वास्तविक वस्तुतथ्यहरूलाई अघिसार्नु पनि यस कृतिमा सङ्ग्रह गरिएका प्रबन्ध-रचनाहरूको अर्को उद्देश्य रहेको छ' भन्ने उद्देश्य पुस्तकले कुन हदसम्म पूरा गरेको छ भन्ने पाठकबाट नै मूल्याङ्कन हुन जानेछ।"

त्यो पुस्तकको सम्पादक पनि बाबुराम आचार्यका छोरा श्रीकृष्ण आचार्य नै छन्।

उक्त पुस्तक मात्र होइन आचार्यका अन्य पुस्तकमा पनि इतिहासबारेका लेखहरू शोधपरक नभएर विवरणात्मक मात्र हुँदा अन्य इतिहासकारहरूले शङ्काको दृष्टिले हेर्ने गरेका छन्।

त्यस्तै कुरातर्फ सङ्केत गर्दै आचार्यको शतवार्षिकीका अवसरमा प्रकाशित 'बाबुराम आचार्य स्मृतिग्रन्थ'मा इतिहासकार दिनेशराज पन्त लेख्छन्, "बाबुराम आचार्यका केही पुस्तक र निकै निबन्धहरू प्रकाशित भएका छन्। ती कृतिमध्ये धेरैजसो कृतिमा उनले आफूले लेखेको कुराको प्रमाण हालेका छैनन्, केही कृतिमा प्रमाणको उल्लेख गरिएको छ तापनि अपेक्षाकृत त्यो कमै छ।"

७. 'मकैको खेती'को भाषा सम्पादन

इतिहासकारहरूका भनाइमा राणाकालमा सरकारी सेवामा प्रवेश गर्न खासै योग्यताको मतलब हुँदैन थियो। जसले चाकरी गर्थ्यो उसले पद पाउँथ्यो।

तर आफैँ अङ्ग्रेजी माध्यम र ब्रिटिश प्रणालीको शिक्षा लिएर आएका चन्द्र शमशेरले त्यसमा केही परिवर्तन गरे।

त्यस क्रममा उनले पहिलो पटक खुला प्रतियोगिता अनुसार निजामती सेवामा कर्मचारी भर्ना लिन विसं १९६६ सालमा एउटा सार्वजनिक सूचना निकाले।

त्यस सूचनाअनुसार सेवामा रहेका वा नरहेका दुवैले परीक्षामा सहभागी हुन पाउँथे।

सेवामा रहेकामध्ये कोही परीक्षामा पहिलो वा दोस्रो भएमा उसको एक तह बढुवा हुने व्यवस्था गरिएको थियो भने सेवामा नरहेको व्यक्ति पहिलो वा दोस्रो भए खरदार तथा डिट्ठा हुने सूचनामा उल्लेख गरिएको थियो।

बाबुराम आचार्य पनि उक्त परीक्षामा सामेल भएको उनका छोरा श्रीकृष्णले 'बाबुराम आचार्य स्मृतिग्रन्थ'मा लेखेका छन्।

'त्यस वातावरणका बाबुराम आचार्य' शीर्षकको लेखमा उनी लेख्छन्, "यस परीक्षामा पहिलो स्थान प्राप्त गर्न बाबुरामलाई विशेष कठिनाइ परेन। उहाँलाई तुरुन्तै चन्द्र शमशेरसमक्ष उपस्थित गराइयो र उनले स्याबासीसाथ खरदारको पद दिए पनि।"

आचार्य तात्कालिक 'लगत अड्डा'को हाकिम नियुक्त भएका थिए। तर गुट र उपगुटमा विभाजित राणाबीचको 'कोपभाजन'मा परेर बाबुरामले निकै दु:ख पाएको र पटकपटक चन्द्र शमशेरबाट 'तुच्छ गालीसहितको खप्की' खानुपरेको श्रीकृष्ण आचार्यले लेखेका छन्।

खरदार हुनुअघि नै बाबुरामको सङ्गत चन्द्र शमशेरका ज्वाइँ तथा बझाङी राजा जयपृथ्वीबहादुर सिंहसँग हुन पुगेको थियो।

उनले जयपृथ्वीबहादुर सिंहको पाठ्यक्रम लेख्ने काममा सहयोग गरेका थिए। सिंहले बझाङमा अध्यापन गराउन 'नेपाली शिक्षा-दर्पण' नामक पुस्तक लेखाएका थिए।

उक्त पुस्तकको तेस्रो भागमा 'जापानका कुरा' भनी त्यहाँको नवजागरणको कुरा लेखिएको थियो।

उक्त पुस्तक सिंहको नाममा प्रकाशित भए पनि आचार्यको पनि त्यसमा हात छ भन्ने थाहा पाएका चन्द्र शमशेरले बोलाएर आचार्यलाई "......एक पटकलाई माफी भयो, आइन्दा यसो नगर्नू" भनेर हप्काएको श्रीकृष्ण आचार्यले लेखेका छन्।

त्यसलगत्तै अर्को घटनामा पनि आचार्य मुस्किलले राणाहरूको कारबाहीबाट बच्न सफल भएको श्रीकृष्णले उल्लेख गरेका छन्। त्यो घटना नेपालको इतिहासमा 'मकैको खेती पर्व' नाममा चर्चित छ।

कृष्णलाल अधिकारीले त्यसबेला 'मकैको खेती' नामक पुस्तक लेखेर प्रकाशित गराएका थिए। त्यसमा 'आशुकवि' शम्भुप्रसाद ढुङ्गेल पनि संलग्न भएको श्रीकृष्ण लेख्छन्।

राजनीतिक पुस्तक नभए पनि त्यसमा भएका केही शब्दावलीलाई लिएर त्यसले "राणाको विरोधमा घृणा फैलाएको भन्दै" कृष्णलाललाई जेल हालिएको थियो। उनको पछि जेलमै निधन भयो।

उक्त पुस्तक लेखन र प्रकाशनमा सहयोग गर्ने सबैलाई दण्ड सजाय सुनाइएको थियो।

श्रीकृष्ण लेख्छन्, "आचार्यज्यू तिनताका काठमाडौँ शहरको महाबौद्धमा डेरा गरी बस्नुभएको थियो। अधिकारीज्यूका साथै ढुङ्गेलज्यूको पनि दिन-प्रतिदिन जस्तै उहाँकहाँ आवतजावत थियो। यसै सम्पर्कले गर्दा उक्त पुस्तकको पाण्डुलिपिमा एक पटक आचार्यज्यूले पनि आफ्नै हस्ताक्षरद्वारा वाक्यविन्यासहरूसम्बन्धी केही संशोधनहरू गरिदिनुभएको रहेछ।"

"यसैले अधिकारीज्यूमाथि उक्त आरोप लाग्दा आचार्यज्यूका पनि नाकमुख सबै सुकेका थिए। तर अधिकारीज्यूको इमान्दारीले गर्दा यो भेद खुल्न पाएको थिएन र त्यस नरला उहाँ यस सङ्कटबाट बच्नुभएको थियो।"

८. खरदारबाटै अवकाश

'इतिहासशिरोमणि' उपाधि पाए पनि उनलाई उनका समकालीनहरूले 'खरदार बाजे' भनेर सम्बोधन गर्थे।

धेरैले उनले राणाहरूको चाकरी नगरेकाले खरदारबाट सेवा प्रवेश गरेर खरदारबाटै अवकाश लिनुपरेको उल्लेख गरेका छन्।

उनका छोरा श्रीकृष्ण आचार्यका अनुसार विसं १९९८ मा उनका आँखा निकै कमजोर भएपछि आचार्य चिकित्सकलाई देखाउन गएका थिए।

त्यस बेला चिकित्सकले काम गर्न सक्षम रहेको नरहेको सिफारिस गरिदिएका आधारमा उनको जागिर थमौती हुने वा नहुने तय हुने थियो।

तर चिकित्सककहाँ लामो समयसम्म कुर्नुपरेपछि 'टाढा जानुछ अबेर भयो' भनेर कडा शब्दमा बोलेपछि चिकित्सकले उनका आँखाले काम गर्न नसक्ने लेखिदिएछन्।

त्यसपछि खरदार पदबाटै उनले अवकाश पाएको उनका छोरा श्रीकृष्णले लेखेका छन्।

पिताको जागिर गुमेपछि आफ्नो परिवारले गरिबीका कारण निकै दु: ख पाएको र 'इतिहासशिरोमणि' उपाधिसँगै पछि राज्यले केही पुरस्कार र वृत्ति दिएकाले गरिबीमा सुधार आएको श्रीकृष्णले उल्लेख गरेका छन्।

विसं २००७/८ सालसम्म आइपुग्दा आचार्य आँखा नदेख्ने भइसकेका थिए।

तर उनले सहयोगीमार्फत् अध्ययन र अध्यापनलाई जीवनको अन्तिम अवस्थासम्म जारी राखेका थिए।

९. 'नयाँ पुस्ताका अन्वेषकलाई प्रेरणा'

बाबुराम आचार्यले थालनी गरेको इतिहास लेखनलाई अहिले कतिपयले आलोचना गरिरहेका बेला अध्येताहरू भने उनको योगदानलाई आलोचनात्मक दृष्टिले मात्र हेर्नुनहुने बताउँछन्।

उनीहरूका दृष्टिमा बाबुराम आचार्य नै नेपालमा आधुनिक र वैज्ञानिक तरिकाले इतिहास लेखन आरम्भ गर्ने व्यक्ति हुन्।

'को हुन् त नयराज पन्त' पुस्तकमै उनका पुत्र महेशराज पन्त इतिहासकार बाबुराम आचार्यको योगदानलाई यसरी मूल्याङ्कन गर्छन्-

"नेपालको इतिहासका प्रमाणिक साधनको खोजी गर्ने काम विदेशीहरूबाट मात्र भएर आएकोमा बाबुराम आचार्यको आविर्भावले नेपालीहरू पनि यस्तो काम गर्न सक्ने रहेछन् भन्ने देखिन आयो।

"उनको शिष्यपरम्परा नभए पनि नेपालको इतिहासमा ठोस काम गरेर गएका सूर्यविक्रम ज्ञवाली (वि. सं. १९५५-२०४२), नयराज पन्त र नरहरिनाथ (वि. सं. १९७१-२०५९) उनको सहयोग पाएर वा उनीबाट अनुप्राणित भएर यसतर्फ लागेका हुन् जस्तो मलाई लाग्छ।"

"छोटकरीमा भन्दा उनको खास आवदान (योगदान) आफ्नो देशको इतिहास खोजी गर्न हामी आफैँ समर्थ छौँ भन्ने भावना पछिल्लो पुस्ताका नेपाली अन्वेषकहरूमा आउनु हो।"