बाङ्ग्लादेशः भिडले मन्दिर र घरमा आक्रमण गरेपछि त्रासमा बाँचिरहेका छन् हिन्दू समुदायका मानिसहरू

- Author, अनबरसन एथिराजन
- Role, बीबीसी न्यूज
धेरै हिन्दू धर्मावलम्बीलाई जस्तै नै बोनोलता दासलाई पनि मन्दिर सुरक्षित र पवित्र स्थान लाग्थ्यो।
क्याम्पस पढ्दै गरेका आफ्ना २१ वर्षे छोरा प्रान्तचन्द्र दासलाई गत साता बङ्गलादेशको दक्षिणपूर्वी नोआखली जिल्लामा मन्दिरकै भवनमा बस्ने अनुमति दिँदै गर्दा उनी निश्चिन्त थिइन्।
तर उनीमाथि ठूलो वज्रपात भयो। मुस्लिमबहुल बाङ्ग्लादेशमा सयौँ धार्मिक कट्टरपन्थीहरूको कुटाइबाट मन्दिरमा बस्न थालेका उनको मृत्यु भएको दाबी गरिएको छ।
"मेरो कान्छो छोरो मेरो मुटुको टुक्राजस्तै थियो। ऊ मारिएपछि मेरो मुटु चुँडिएको छ, मैलै सर्वस्व गुमाएँ," रुँदै उनले भनिन्।
अफवाहले भड्किएको हिंसा
बर्सेनि गरिने दुर्गापूजाका लागि बनाइने मण्डपमा मुस्लिमहरूको धर्मग्रन्थ कुरानको अपमान गरिने हल्ला फैलिएपछि कोमिला सहरमा भड्किएको हिंसाको सिकार उनका छोरा भएका थिए।
सामाजिक सञ्जालमा हल्ला फैलिएको केही घण्टामै सयौँ कट्टरपन्थी मुस्लिमहरू कोमिलामा निर्मित मण्डपहरूमा विध्वंश मच्चाउन पुगिसकेका थिए।

लगत्तै बङ्गलादेशका अरू क्षेत्रमा पनि हिंसा फैलियो। हिन्दू मन्दिरहरू अपवित्र बनाउनेगरी आक्रमण र अल्पसङ्ख्यक हिन्दूका सयौँ घर र व्यवसायहरूमा आगजनी भयो।
केही दिनसम्म चलेको हिंसामा दुई जना हिन्दूसहित सात जनाको मृत्यु भयो भने धेरै जना घाइते भए।
आक्रोशित भिडलाई नियन्त्रणमा लिन प्रहरीले कैयौँ स्थानमा गोली चलाउनुका साथै अश्रुग्यासको प्रयोग गर्यो।
हिन्दू देवता कृष्णबारे चेतना फैलाउने एउटा अन्तर्राष्ट्रिय संस्थाले सञ्चालन गरिरहेको मन्दिरमा आक्रमण भएको खबर थाहा पाउनासाथ दास र उनको परिवारले छोराको खोजी सुरु गर्यो। उनको शव भोलिपल्ट एउटा पोखरीमा भेटियो। आफ्नो छोराको शरीरभरि चोटपटक भएको उनले बताइन्।
"हामीलाई घर फर्किन पनि डर लागिरहेको छ। अझै आक्रमण गर्छन् कि भन्ने डर छ," उनले बीबीसीसँग भनिन्।
"अहिले म पनि मन्दिरमै बसिरहेकी छु।"
हिन्दूमाथि 'अहिलेसम्मकै ठूलो हिंसा'
सोह्र करोड जनसङ्ख्या भएको बाङ्ग्लादेशमा हिन्दू धर्मावलम्बीहरू नौ प्रतिशत छन्। विगतमा पनि हिन्दू अल्पसङ्ख्यकमाथि आक्रमण हुने गरेको थियो। तथापि यति ठूलो सङ्ख्यामा उक्त समुदायमाथि भएको आक्रमण इतिहासमै पहिलो भएको हिन्दू समुदायका नेताहरू बताउँछन्।
"हिन्दूहरूमाथि पूर्वयोजनासहित आक्रमण गरिएको थियो," कोमिला सहरको हिन्दू चाडपर्व समितिका प्रमुख अचिन्त्य दासले भने। उनले हिन्दूहरूले कुरानजस्ता धार्मिक पुस्तकमाथि अपमान नगरेको दाबी गरे।
हिंसा भएको एक दिनपछि प्रधानमन्त्री शेख हसिनाले हिंसाको भर्त्सना गर्दै अपराधीलाई पत्ता लगाएरै छोड्ने बताइन्।

"हामीले विगतमा पनि गरेका हौँ र भविष्यमा पनि गर्नेछौँ। उनीहरूले उचित सजाय पाउनैपर्छ," उनले भनिन्।
उनको चेतावनीका बावजुद पनि हिंसा रोकिएन। बरु हिन्दूहरूमा त्रास सिर्जना गर्दै अरू सहरमा पनि फैलियो।
दङ्गा नियन्त्रणका लागि सरकारले २२ वटा जिल्लामा सुरक्षा फौज परिचालन गर्नुपर्यो।
'खेतमा लुकेर बाँच्यौँ'
हिंसा सुरु भएको एक सातापछि एउटा फेसबुक पेजमा हिन्दूहरूले इस्लामको पवित्र स्थानको अपमान गरेको दाबीपछि उत्तरी बाङ्ग्लादेशमा पनि दर्जनौँ हिन्दूका घर जलाइए।
"भिड आउँदै गरेको सुनेपछि म दुईवटा बच्चालाई लिएर ज्यान बचाउन धानखेतमा लुकेँ," रङ्गपुरको वीरगन्जकी नन्दारानीले बीसीसीसँग भनिन्।
"त्यहीँबाट हामीले हाम्रो घरमा आगो लगाइएको देख्यौँ। घर पूरै खरानी भयो। हामी अहिले पालमुनि बसिरहेका छौँ।"

तस्बिर स्रोत, FERDUS JOY
बाङ्ग्लादेशका गृहमन्त्रीले घटनाबारे अनुसन्धान सुरु भएको र सयौँ सन्दिग्ध मानिसलाई पक्राउ गरिएको बताएका छन्।
उनले विगतमा भएका अन्य हिंसक घटनाका भिडिओ सामाजिक सञ्जालमा फैलाएर मानिसहरूले सङ्गठित प्रचार गरेको पत्रकारहरूलाई बताए।
इस्लामिक आन्दोलनका नेताहरूले कुनै पनि अल्पसङ्ख्यक समुदायमाथि हुने हिंसाको आफूहरूले विरोध गर्ने बताए।
"मन्दिरहरूमा आक्रमण गर्नेमाथि सजाय हुनुपर्छ। हामी सबै शान्ति र सद्भावमा बस्नुपर्छ," बाङ्ग्लादेशको इस्लामिक राजनीतिक दल खिलाफत आन्दोलनका उपाध्यक्ष मौलाना मुजिबुर रहमान अमिदीले भने।
तर उनीसहितका मुस्लिम नेताहरूले इस्लामलाई अपमान गर्नेमाथि पनि कडा सजायको माग गरेका छन्।

तस्बिर स्रोत, FERDUS JOY
सरकारको आलोचना
सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र भएपछि बाङ्ग्लादेश धर्मनिरपेक्ष देशको छ। संविधानले इस्लामलाई देशको धर्मको रूपमा स्वीकार गरे पनि धर्म निरपेक्षताका मान्यताहरूलाई पनि समर्थन गरेको छ।
तर विश्लेषकहरूले कट्टरपन्थी इस्लामिक समूहहरूले पछिल्ला वर्षहरूमा नाम कमाएको र सन् २००८ बाट सत्तामा रहेको अवामी लीगले बढ्दो धार्मिक असहिष्णुता र कट्टरपन्थलाई सम्हाल्न नसकेको बताएका छन्।
"सरकारले राजनीतिक लाभका लागि कट्टरपन्थी समूहहरूसँग सम्झौता गर्ने गरेको छ," एक प्रसिद्ध अर्थशास्त्री देवप्रिय भट्टाचार्यले भने।

तस्बिर स्रोत, Getty Images
"परिणामस्वरूप कट्टरपन्थीहरूले प्रसिद्धि, मान्यता र प्रभाव पाएका छन्।"
भारतीय उपमहाद्वीपमा धार्मिक हिंसाको लामो इतिहास छ। सन् १९४७ मा ब्रिटिश इन्डिया हिन्दूहरूको बाहुल्य भएको भारत र मुस्लिम बाहुल्य भएको पाकिस्तानमा विभाजित भएको थियो।
धार्मिक विभाजनको इतिहास
सन् १९७१ मा फेरि पूर्वी पाकिस्तानको रूपमा रहेको बाङ्ग्लादेशले स्वतन्त्रता पाउँदा रक्तपातसहितको युद्ध भएको थियो।
उक्त युद्धमा भारतले बाङ्ग्लादेशको स्वतन्त्रताको पक्षमा आफ्नो सेना पठाएको थियो।
यो विभाजनको छाया दक्षिण एशियामा अझै कायम छ।
"पछिल्ला दशकहरूमा बाङ्ग्लादेशमा हिन्दू समुदायमाथि क्रमबद्ध आक्रमणहरू भएका छन्," देशको हिन्दू, बौद्ध र इसाई एकता परिषद्का महासचिव राना दासगुप्ता भन्छन्।

तस्बिर स्रोत, Getty Images
"बाङ्ग्लादेशमा हिन्दूहरूका घरजग्गा कब्जा गर्न नाटकीय प्रयासहरू भएका छन् र उनीहरू देश छोड्न बाध्य बनाइएको छ।"
हिन्दू समुदायका नेताहरू सन् १९४७ मा ३० प्रतिशत रहेको उनीहरूको जनसङ्ख्या अहिले नौ प्रतिशतमा सीमित भएको बताउँछन्। अधिकांश देश छोडेर जानेहरू छिमेकी भारततिर पुगेका छन्।
अधिकारवादीहरूले धार्मिक अल्पसङ्ख्यकहरूमाथि बारम्बार हुने आक्रमणमा हरेक सरकारले तत्काल कदम चाल्न नसकेको बताउने गरेका छन्।
'छानबिन हुन्छ'
"उचित छानबिन नहुनुले प्रवृत्ति मात्रै देखाउँदैन अल्पसङ्ख्यकहरूको सुरक्षाको सवालमा संवेदनहीनता पनि देखाउँछ," एम्नेस्टी इन्टरन्याश्नलका दक्षिण एशिया अभियानकर्मी साद हम्मादीले भने। "दण्डहीनता र प्रभावकारी कानुनी उपचारको अभावमा जातीय हिंसाका घटनाहरूको पुनरावृत्ति भइरहेको छ।"
बाङ्ग्लादेशका कानुनमन्त्री अनिसुल हकले घटनाको छानबिनमा प्रगति नभएको कुरामा सत्यता नभएको बताए।
"सबै घटनाहरूको छानबिन भइरहेको छ। यस्ता घटनाहरूमा केही समय लाग्छ नै तर हामीले अनुसन्धानलाई सम्भव भएसम्म गति दिएका छौँ," उनले बीबीसीसँग भने।
उनले सरकारले मुसलमानहरूलाई खुसी पार्न अनुसन्धान नगरेको भन्ने आलोचनाको पनि खण्डन गरे।
"त्यो प्रकारको धारणामा कुनै सत्यता छैन। हामी सबै धर्मका मानिसहरू सद्भावपूर्ण रूपमा बसून् भन्ने चाहन्छौँ," उनले भने।
कतिपयले भारतको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टीको मुसलमानविरोधी भावना पनि बाङ्ग्लादेशका कट्टरपन्थी मुसलमानहरू आक्रोशित हुनुमा कारक हुनसक्ने बताएका छन्।
भाजपाले भारतमा बाङ्ग्लादेशबाट हुन सक्ने आप्रवासनको डर पैदा गरेर ढाकालाई चिढ्याएको छ। भारतका हिन्दू कट्टरपन्थीहरूले आप्रवासीहरूलाई बाङ्ग्लादेशमै फर्काउनुपर्ने माग गरेका छन्।
"भारतमा जे भइरहेको छ। धार्मिक अल्पसङ्ख्यकहरूसँग जसरी व्यवहार गरिएको छ त्यो एकदमै दुर्भाग्य हो। त्यही कुरालाई बाङ्ग्लादेशमा अल्पसङ्ख्यकलाई सताउन कतिपयले दुरुपयोग गरिरहेका छन्," अर्थशास्त्री भट्टाचार्य भन्छन्।
"तर आफ्ना नागरिकहरूको सुरक्षा गर्नु, उनीहरूसँग उचित व्यवहार गर्नु र उनीहरूको धार्मिक अधिकारको रक्षा गर्नु र हरेक सरकारको कर्तव्य पनि हो," भट्टाचार्यले भने।
यो रिपोर्टका लागि ढाकाबाट सलमान सइदले सघाएका छन्।








