क्रिप्टोकरेन्सीः भारतमा प्रतिबन्ध लगाउन कानुन ल्याउने सरकारको तयारी

भारतमा एउटा बहुप्रतीक्षित विधेयकमार्फत् अधिकांश क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाउने योजना अघि बढ्ने भएको छ।

भारत सरकारले डिजिटल मुद्राबारे आफ्नो धारणा केही नरम बनाउँछ कि भन्ने अपेक्षा गरिएको थियो।

नयाँ नियमअन्तर्गत प्रविधि प्रवर्धनका लागि गरिने केही प्रयोगबाहेक अन्य सबै अवस्थामा निजी क्रिप्टोकरेन्सी प्रतिबन्धित हुनेछन्।

विधेयकको बारेमा घोषणा भएपछि भारतीय बजारमा क्रिप्टोकरेन्सीको मूल्य घटेको छ।

क्रिप्टोकरेन्सीबारे विधेयक

सरकारी जानकारीअनुसार संसद्को हिउँदे अधिवेशनमा 'क्रिप्टोकरेन्सी एन्ड रेगुलेशन अफ अफिशल डिजिटल करेन्सी' विधेयक प्रस्तुत हुनेछ।

सो कानुनले केन्द्रीय ब्याङ्कले सरकारी डिजिटल मुद्रा विकास गर्नका लागि आवश्यक वातावरण निर्माण गर्ने लक्ष्य लिएको छ।

ज्यानुअरीमा विधेयकको मस्यौदा प्रस्तुत हुँदा त्यसका सबै निजी क्रिप्टोकरेन्सीलाई प्रतिबन्ध लगाउने बुँदा थियो।

हालैका महिनामा भारत सरकारले क्रिप्टोकरेन्सीलाई मुद्राका रूपमा भन्दा पनि नियमबद्ध सम्पत्तिको रूपमा हेर्ने अपेक्षा गरिएको थियो।

विधेयकको पछिल्लो मस्यौदा सार्वजनिक नभएको हुँदा पुरानोभन्दा के परिवर्तन गरिएको छ भन्ने स्पष्ट छैन।

बजारमा असर

विधेयकको घोषणापछि केही क्रिप्टोकरेन्सीको मूल्य घटेको छ।

भारतीय बजारमा बिटकोइनको मूल्य १३ प्रतिशतले एवं शीवा इनु र डोजकोइनको मूल्य १५ प्रतिशतभन्दा बढीले घटेको जनाइएको छ।

द क्रिप्टो ट्रेडरका लेखक ग्लेन गुडम्यानले यसको विश्वव्यापी प्रभाव भने तुलनात्मक रूपमा कम परेको बताएका छन्।

"चीनले क्रिप्टोकरेन्सी प्रतिबन्धित गर्ने निर्णय गर्दा पनि त्यसले क्रिप्टो बजारलाई मारेन," उनले बीबीसीको वर्ल्ड बिज्नस रिपोर्ट कार्यक्रममा भने।

इन्डिया टुडेका अनुसार क्रिप्टोकरेन्सी भारतीय नियमानुसार चल्ने अनलाइन एक्सचेन्जबाट खरिदबिक्री गर्न मिल्ने व्यवस्था गरिने सम्भावना छ।

'गम्भीर चिन्ता'

कोइनडेस्क वेबसाइटका अनुसार भारतीय केन्द्रीय ब्याङ्कको क्रिप्टोकरेन्सीप्रतिको धारणा सकारात्मक छैन।

सन् २०२० को मार्चमा भारतीय सर्वोच्च अदालतले उक्त ब्याङ्कले क्रिप्टोकरेन्सी कारोबारमाथि दुई वर्षदेखि लगाएको प्रतिबन्ध उल्टाएको थियो।

गत साता गभर्नर शक्तिकान्त दासले ब्लकचेन प्रविधि क्रिप्टोकरेन्सीबिना विकास हुन सक्ने बताउँदै अर्थ र आर्थिक स्थायित्वलाई लिएर केन्द्रीय ब्याङ्कको गम्भीर चिन्ता रहेको बताएका थिए।

गुडम्यानले चिनियाँ सरकारले आफूले बनाउन लागेको डिजिटल मुद्राबाहेक अरू सबै क्रिप्टोकरेन्सीलाई हटाउन चाहेको बताए।

"उनीहरू क्रिप्टोकरेन्सीमा प्रभुत्व जमाउन चाहन्छन् र मलाई लाग्छ कि भारतको पनि उस्तै सोच हो।"

"उनीहरू सोच्छन् कि 'चीनले गर्छ भने हामी पनि गर्न सक्छौँ'।"

के हो क्रिप्टोकरेन्सी

क्रिप्टोकरेन्सी भनेको डिजिटल वा भर्चूअल अर्थात् कुनै भौतिक अस्तित्व नभएका मुद्रा हो।

क्रिप्टोकरेन्सीको केन्द्रीय ब्याङ्क हुँदैन र संसारभरिका थुप्रै कम्प्युटरहरूमा राखिएको रेकर्डको आधारमा यो सञ्चालन हुन्छ।

यसबाट सरसमान किन्न वा भुक्तानी गर्न सकिन्छ।

संसारभरि क्रिप्टोकरेन्सीको प्रचलन र भाउ बढ्दै गएका कारण मानिसहरूले सुन या भौतिक मुद्रा बेचेर यसमा लगानी गर्ने चलन बढेको छ।