तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
डाइनसोरः यी छवटा मिथक जसले मानिसलाई अझै झुक्याउँछन्
- Author, फर्नान्डो डुआर्टे
- Role, बीबीसी विश्व सेवा
उन्नाइसौँ शताब्दीमा पहिलो पटक वैज्ञानिक साहित्यमा उल्लेख गरिएपछि हामीले डाइनसोरबारे थाहा पाउन थालेका हौँ।
तर अहिले पनि जीवाश्मविज्ञहरू प्रारम्भिक चरणमा पृथ्वीमा बस्ने यी जीवबारे व्याप्त भ्रम हटाउने प्रयास गरिरहेका छन्।
उनीहरूको यो प्रयास निकै लोकप्रिय बन्न सफल जुरासिक पार्क चलचित्र र ‘पपुलर कल्चर’मा डाइनसोरलाई गरिने अयथार्थ चित्रणका कारण कष्टपूर्ण बनेको छ।
डाइनसोरबारे विद्यमान गलत अवधारणाहरू यहाँ प्रस्तुत गरिएको छ।
के पृथ्वीमा क्षुद्रग्रह बजारिँदा सबै डाइनसोर मासिएका हुन्?
झन्डै ६.६ करोड वर्षअघि डाइनसोरहरूले दुर्दिन भोग्नुपर्यो।
करिब १० किलोमिटर व्यासको भएको क्षुद्रग्रह पृथ्वीमा बजारियो।
उक्त घटनाका कारण मेक्सिकोस्थित यूकाटान प्रायःद्वीपमा एउटा विशाल खाडल बन्यो अनि धेरै जीवहरू लोप हुन पुगे।
यद्यपि वैज्ञानिकहरू कुलमध्ये ७५ प्रतिशत प्राणी "मात्र" उक्त घटनाका कारण मासिएको भएको बताउँछन्।
केही डाइनसोरहरू बाँच्न सफल भएको उनीहरूको दाबी छ।
“क्षुद्रग्रहको प्रहारले धेरै डाइनसोरहरू मरे पनि धेरै साना र पखेटा भएका प्रजातिहरू बाँचेका थिए। हामी अझै पनि तिनलाई देख्न सक्छौँ,” प्राध्यापक पाउल ब्यारेटले बीबीसीसँग भने।
उनी लन्डनको न्याचरल हिस्ट्री म्यूजीअम (एनएचएम) का जीवाश्मविज्ञ हुन्। "चराहरू डाइनसोपरहरू पर्ने जीवहरूको समूहका प्रत्यक्ष सदस्य हुन्।"
"ती जीवित डाइनसोर हुन् अनि पन्छीको जीवित प्रजातिको आधारमा ६.६ करोड वर्षअघिको तुलनामा अहिले डाइनसोरका धेरै प्रजातिहरू छन्,” उनले भने।
के हामी नहिल्लिईकन उभिएर टाइरानसोरस रेक्सबाट लुक्न सक्छौँ?
सन् १९९३ मा सार्वजनिक जुरासिक पार्क शृङ्खलाको पहिलो चलचित्रको ‘स्टार’ हो द टाइरानसोरस।
उक्त चलचित्रमा केही अविस्मरणीय दृश्यहरू छन् जसमा मानव पात्रहरू आतङ्कित भएको देखाइएको छ।
तर चलचित्रले टी-रेक्सलाई कमजोर दृष्टि भएको र सम्भावित सिकारले हलचल गरे मात्र ठम्याउन सक्ने जीवका प्रस्तुत गरेको थियो।
प्रकृतिमा त्यस्तो विशेषता प्रायः उभयचरहरूमा हुन्छ। तर प्राध्यापक ब्यारेटका अनुसार डाइनसोरका हकमा त्यसो हुँदनथ्यो।
“डाइनसोरहरूको दृष्टि तीक्ष्ण हुने सम्भावना बढी छ। पन्ध्र वर्षअघि गरिएको एउटा अध्ययनका अनुसार हालसम्म अस्तित्वमा आएका जीवमध्ये टी-रेक्सको दृष्टि सम्भवतः सबैभन्दा उत्कृष्ट छ।”
ब्यारेटले भने, “टी-रेक्सको अगाडि स्थिर उभिनु निकै मूर्खतापूर्ण निर्णय हुन सक्थ्यो।“
के टाइरानसोरस रेक्स गुडिरहेको गाडीभन्दा छिटो दौडिन सक्थ्यो?
चलचित्रमा एक दृश्य समाविष्ट छ जसमा टी-रेक्स गुडिरहेको गाडीभन्दा छिटो कुद्छ।
यथार्थमा केही अध्ययन भएका छन् जसमा यस भयानक सिकारी जीव प्रतिघण्टा ५० किलोमिटर कुद्न सक्ने अनुमान गरिएको छ। केही नयाँ अध्ययनले त्यसको गति प्रतिघण्टा २० देखि २९ किलोमिटर हुन सक्ने सङ्केत गरेका छन्।
येल विश्वविद्यालयस्थित पीबडी म्यूजीअम अफ न्याश्नल हिस्ट्रीका संरक्षक डा. मारियाना डी जियाकोमोले भनिन्, “ध्यानमा राख्नु पर्ने कुरामध्ये एउटा त्यो जीवको तीव्र हो र अर्को लामो समयसम्म दौडिन सक्ने त्यसको सहज गति हो।”
“लामो दौडका धावकहरू छोटो दूरी र निश्चित अवधिमा सर्वाधिक दौडिने धावकजति छिटो दौडिँदैनन्। किनकि लामो समयसम्म उच्च गति कायम राख्न हाम्रो शरीरलाई गाह्रो हुन्छ।”
“हुनसक्छ टी-रेक्स छोटो दौडमा छिटो कुद्न सक्छ। तर त्यो गति गुडिरहेको गाडीलाई उछिन्न पर्याप्त नहुन सक्थ्यो,” उनले भनिन्।
के हामी डाइनसोर क्लोन गर्न सक्छौँ?
मानव प्रजातिको उदय हुनुभन्दा करोडौँ वर्षअघि टी-रेक्स यस धर्तीबाट लोप भयो र निकट भविष्यमै हाम्रो भेट हुने सम्भावना छैन - जुरासिक पार्कमा जे देखाइएको भए पनि डाइनसोरलाई तत्काल क्लोन गर्न नसकिने वैज्ञानिकहरू अडान छ।
त्यसको प्रमुख कारण डाइनसोरको डीएनए लामो समयसम्म सुरक्षित नबस्नु हो।
“मलाई थाहा भएसम्म त्यो धेरै समय टिक्दैन, ” प्राध्यापक ब्यारेटले भने।
“हामीलाई थाहा भएको जीवाश्म अभिलेखमा उल्लिखित डीएनए २० लाख वर्ष पुरानो हो। तर ती पनि विशुद्ध छैनन्। तिनमा विभिन्न ब्याक्टेरिया, भाइरस र माटोको अवशेष पाइएको छ।”
प्राध्यापक ब्यारेटका अनुसार जीवहरूको हकमा उपलब्ध सबैभन्दा पुरानो आनुवंशिक तथ्याङ्क ५० हजार वर्षअघि लोप भएका जीवहरूको हो।
"हामीसँग लोप भएका अन्य जीव वा वनस्पतिको डीएनए उपलब्ध छैन। त्यसैले डाइनसोरको डीएनएबारे मेरो सन्देह छ," उनले निष्कर्षमा सुनाए।
डा . डी जियाकोमो उनको कुरामा सहमत छिन्। डाइनसोरको आनुवंशिक पक्षबारे भएका वैज्ञानिक सफलताहरूले पनि क्लोनिङको सफलता निर्धारण नगर्ने उनको मत छ।
"भूवैज्ञानिक समयमा हामीबाट धेरै टाढा रहेका प्रजातिहरूको क्लोनिङ निकै जटिल छ किनकि त्यसमा धेरै अज्ञात मापदण्डहरू छन्।"
उनले सम्भावित नीतिगत विषयहरू पनि उठाएकी छन्।
"जुरासिक पार्क र जुरासिक वर्ल्डजस्ता चलचित्रले हामीलाई डाइनसोर क्लोन नगर्नु पर्ने प्रशस्त कारण दिएका छन्। ती कारण प्रायः मानिसहरूले भोग्नुपर्ने समस्या केन्द्रित छन्। तर यी जीवलाई त्यो संसार जुन पहिलाको जस्तो छैन त्यसमा ल्याउनुको क्रूरताबारे खासै छलफल भएको छैन।
के डाइनसोरहरू मूर्ख थिए?
डा. डी जियाकोमो प्राविधिक विकासले वैज्ञानिकहरूलाई डाइनसोरहरू कसरी बाँचे र व्यवहार गर्थे भन्ने बुझ्न स्रोतहरू उपलब्ध गराएको बताउँछिन्।
"सबै डाइनसोरहरू अतिचतुर थिएनन् तर सबै डाइनसोरमा बुद्धिको कमी पनि थिएन। उनीहरू त्यति नै बुद्धिमान थिए जति उनीहरू आफू बाँचेको समयका लागि हुनुपर्थ्यो।"
प्राध्यापक ब्यारेट डाइनसोरहरू "वास्तवमा धेरै चलाख" भएको बताउँछन्। उदाहरणका लागि साना मांसाहारी प्रजातिका डाइनसोरहरू।
“तीमध्ये केही ठूला जीवसँग प्रतिस्पर्धा गर्नबाट जोगिन रातको समयमा सक्रिय हुन सक्थे। यदि त्यसो हो भने स्वाभाविक रूपमा अतिरिक्त जानकारी प्रशोधन गर्न र श्रव्य, दृश्य र गन्ध खुट्याउने शक्ति राम्रो हुन ठूलो आकारको मस्तिष्क चाहिन्छ।”
के डाइनसोरहरू बच्चाको स्याहारसुसार गर्दैनथे?
एक सय वर्षभन्दा बढी समयसम्म डाइनसोरलाई अभिभावकको भूमिका निर्वाह नगर्ने निर्दयी र एकलकाँटे जीव ठानियो।
तर सन् १९७० र १७८० को दशकमा गरिएका खोजहरूले तिनको जटिल सामाजिक व्यवहार उजागर गरे।
वनस्पति खाने डाइनसोरको एउटा प्रजाति झन्डै ७.७ करोड वर्षअघि अस्तित्वमा रहेको विश्वास गरिन्छ। माइयासोरा भनिने उक्त प्रजातिको अर्थ ग्रीक र ल्याटिन भाषामा ‘असल माउ छेपारो’ भन्ने हुन्छ।
साइन्टिफिक रिपोर्टस् जर्नलमा गत अक्टोबरमा प्रकाशित नयाँ शोधका अनुसार डाइनसोरहरू १९.३ करोड वर्षअघि अस्तित्वमा थिए र ती समूहमा सङ्गठित भएर बस्थे तथा आफ्ना बच्चाको रेखदेख गर्थे।
प्राध्यापक ब्यारेट थप्छन्, "अहिलेको समयमा हामीलाई डाइनसोरबारे केही बृहत् ज्ञान छ र हामीलाई यो पनि थाहा छ कि केही डाइनसोरहरू असल अभिभावक थिए। अँ, केही चाहिँ थिएनन्।"
डा. डी जियाकोमोले आफ्नो रेखदेख स्वयं गर्ने प्रजातिका बारेमा चर्चा गरिन्।
“अभिभावकत्व देखाउने केही प्रजाति छन् जसमा सिकारी प्रजातिको एलोसोरस पनि पर्छ,” उनले भनिन्।
"वास्तवमा भन्नुपर्दा सिटीपाटी अस्मोल्सकी नामक डाइनसोरको प्रजातिलाई ‘बिग मामा’ भनिन्छ किनकि त्यसलाई आफ्नो अण्डामाथि ओथारो बसेको भेटिन्थ्यो।"