महिला स्वास्थ्य: के हो गर्भ तुहिनु? कस्ता हुन्छन् लक्षण? गर्भ तुहिन नदिन के गर्न सकिन्छ?

गर्भवती महिलाको प्रतीकात्मक चित्रण।

तस्बिर स्रोत, REBECCA HENDIN

"मलाई आफू सामान्य महिला नै होइन भन्ने लाग्थ्यो।"

पटकपटक गर्भ तुहिएपछि बौद्धकी ४२ वर्षीया सगुन लामिछाने आफ्नो मनमा खेलेको कुरा सुनाउँछिन्।

परिवार र समाजले उनलाई सिकाएको आमा नभई पूर्ण महिला भइँदैन भन्ने नै थियो।

२७ वर्षको उमेरमा पहिलोपटक गर्भ बसेको क्षण सम्झँदै भन्छिन्, "आफू आमा बन्न लागेको कुरा अविश्वसनीय र उत्तिकै सुखद थियो।"

तर गर्भ रहेको थाहा पाएको केही समय पछि अचानक उनको पेट र कम्मरको भाग दुख्न थाल्यो। अस्पताल पुगेर जाँच गराउँदा बच्चा खेर गएको पुष्टि भयो।

"शरीरको एउटा अङ्ग गुमाए सरह भयो। त्यो भोगाइ अभिव्यक्त गर्न सकिन्न," लामिछाने भन्छिन्।

एक वर्षपछि लामिछाने पुनः गर्भवती भइन्। सतर्कता थियो, चिकित्सकको निगरानी र पटकपटक परीक्षण गराएकी थिइन्। तर फेरि गर्भ तुहियो।

"कुनै समस्या देखिएको थिएन। कारण पत्ता लागेन। उपचार कसरी गर्नू?" उनी सुनाउँछिन्।

"त्यसपछि म अरू महिलाजस्ती छैन, म आमा बन्न सक्दिनँ कि क्या हो भन्ने प्रश्नले पिरोल्न थाल्यो।"

गर्भवती महिला।

तस्बिर स्रोत, Getty Images

दोस्रो पटक गर्भ तुहिएको ७ वर्षसम्म उनको गर्भ रहेन। आईयूआई पद्धतिबाट गर्भ राख्न गरिएको प्रयास पनि असफल ठहरियो।

आठौँ वर्षमा ३६ वर्षको उमेरमा उनले आफू पुनः गर्भवती भएको थाहा पाइन्। खुसी छाउनु अघि त्यो गर्भ पनि तुहियो। त्यसको तीन वर्षपछि उनको चौथो गर्भ खेर गयो।

गर्भ खेर जाने समस्याबाट गुज्रने १० देखि १५ प्रतिशत महिलामध्ये लामिछाने एक भएको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका उपनिर्देशक तथा स्त्रीरोग विशेषज्ञ डा. श्रीप्रसाद अधिकारी बताउँछन्।

उनका अनुसार नेपालमा गर्भ तुहिने समस्याको आँकडा करिब १० प्रतिशत रहेको छ।

"यस विषयमा ठूला अध्ययन भएका छैनन्। तर सीमित क्षेत्र र समूहका महिलाहरूमा गरिएको अध्ययनमा गर्भ खेर जाने समस्या १० प्रतिशतमा देखिएको छ। भारतमा आठ प्रतिशत छ," अधिकारीले भने।

नेपालमा गर्भ खेर जाने समस्या बढ्दो रहेको उनको कथन छ।

ढिला सन्तान जन्माउनेहरूको सङ्ख्या बढ्दा उमेर र अन्य शारीरिक अवस्थाले गर्भमा प्रभाव पार्ने बताए।

के हो गर्भ तुहिनु? कस्ता हुन्छन् लक्षण?

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, स्त्रीरोग तथा प्रसूति विभागकी डा. गीता गुरुङका अनुसार गर्भवती भएको २२ हप्ताभित्र वा भ्रूण ५०० ग्रामभन्दा कम भएको अवस्थामा गर्भाशयबाट बाहिर निस्किनुलाई गर्भ तुहिनु भनिन्छ।

"आमभाषामा बच्चा खेर जानु पनि भनिन्छ। यो गर्भवतीले चाहेर सिर्जना हुने अवस्था होइन," डा. गुरुङले भनिन्।

गर्भवतीको तल्लो पेट दुख्नु र रक्तस्राव हुनुलाई गर्भ तुहिनुको आमलक्षण मानिएको चिकित्सकहरू बताउँछन्।

"शरीरको अन्य भाग पनि दुख्ने, असहज महसुस हुने हुनसक्छ। तर प्रायको सानो पेट दुख्ने प्रसव व्यथा लागेजस्तै छटपटाहट हुन्छ।"

खोप लगाउँदै गर्भवती महिला।

तस्बिर स्रोत, Getty Images

के कारण गर्भ तुहिन्छ?

गोकर्णेश्वरकी पूजा थापा गर्भवती भएको दुई महिना पुगेको थियो।

चितवनस्थित माइतीबाट फर्किएको साँझ एक्कासि तल्लो पेट दुख्न थाल्यो। मध्यरातमा अस्पताल पुर्‍याइयो तर दुखाइ कम भएन। बरु रक्तस्राव सुरु भयो।

चिकित्सकले रक्तस्राव रोक्न औषधि दिए। त्यसको केही दिनपछि उनको गर्भ तुहियो।

"केहीले लामो यात्राका कारण खेर गएको भने। डाक्टरले बच्चाको मुटुको धड्कन थिएन भन्नु भयो। ठ्याक्कै किन खेर गयो चाहिँ थाहा नै पाउन सकिएन," थापा भन्छिन्।

डा. गुरुङ गर्भ तुहिनुको यकिन कारण भन्न नसक्ने जिकिर गर्छिन्।

उनका अनुसार समस्या भोग्ने कुलमध्ये ८० प्रतिशतको पहिलो १२ हप्तामा गर्भ तुहिने बताइन्।

त्यो ८० प्रतिशतमध्ये ५० देखि ७० प्रतिशत समस्या आनुवंशिक असामान्यता वा संरचनात्मक असामान्यता कारण देखिने जानकारी दिइन्।

"आनुवंशिक असामान्यता वीर्य वा डिम्बमा समस्याका कारण देखिन्छ। संरचनात्मक असामान्यता चाहिँ बच्चाको मुटु, मिर्गौलालगायत अन्य अङ्गले काम नगर्ने वा ओठ खुँडो हुने अवस्थामा हुन्छ," गुरुङले भनिन्।

डा. अधिकारीले गर्भ तुहिनुमा गर्भवती महिलाको उमेर, तौल, शारीरिक अवस्था, विभिन्न सङ्क्रमण, पोलिसिस्टिक ओभरीयन डिजिज (पीसीओडी) र एन्डोक्राइन डिसअर्डरको प्रभाव रहने बताए।

"उमेर र तौल जति बढी भयो गर्भधारणमा चुनौतीहरू पनि बढ्छन्। त्यस्तै स्वतः प्रतिरक्षा रोग वा शरीरमा हार्मोन असन्तुलित बनाउने ग्रन्थि एन्डोक्राइनमा समस्या देखिनुले बसेको गर्भमा समस्या निम्त्याउँछ," अधिकारीले भने।

"पीसीओडी चाहिँ हार्मोनमा असन्तुलनकै कारण पाठेघरमा देखिने समस्या हो।"

त्यस्तै मानसिक तनाव, धूम्रपान र मदिरापनलगायतले पनि गर्भमा असर गर्ने चिकित्सकहरू बताउँछन्।

नेपालमा प्रजनन उमेरका महिलाहरूमा मोटोपना र गर्भपतनबीचको सम्बन्धबारे गरिएको एक अध्ययनमा मोटोपना हुने महिलाहरूमा गर्भ खेर जाने समायोजित ‌सम्भावना अनुपात १.४५ गुणा बढी हुने देखाइएको छ।

गर्भवती महिला परीक्षणका लागि गएको प्रतीकात्मक चित्रण।

तस्बिर स्रोत, REBECCA HENDIN

गर्भनिरोधक प्रयोग नगरेका १५ देखि १९ वर्ष उमेर समूहका युवतीहरू र ३५ वर्षभन्दा माथिका महिलाहरूको गर्भ तुहिने सम्भावना बढी हुने अध्ययनले देखाएको छ।

सोही अनुसन्धानका अनुसार चुरोट नखाने महिलाहरूभन्दा बढी चुरोट खाने महिलाको गर्भ तुहिएको पाइयो।

केही भ्रम, केही यथार्थ

पहिलोपटक गर्भ खेर गएपछि त्यसपछिका गर्भधारण पनि असुरक्षित रहेको विश्वास स्थापित भएको बताउँछिन् डा. गुरुङ।

यस कुरा केही हदसम्म यथार्थ भए पनि गर्भ खेर जानुको कारणले आगामी गर्भावस्था निर्धारण गर्ने बताइन्।

पहिलो गर्भ १५ प्रतिशतको तुहिने उनको दाबी छ। त्यसपछिका गर्भधारणमा उक्त घटनाले असर नपुर्‍याउने बताउँछिन्।

"आनुवंशिक समस्याका कारण गर्भ तुहिएको हो भने त्यो क्रम दोहोरिन सक्छ। अन्य बाह्य कारणले खेर गएको छ भने त्यो घटना दोहोरिँदैन," गुरुङले भनिन्।

चार पटकसम्म गर्भ तुहिएकाहरूको हकमा पनि पाँचौँ गर्भ सफल हुने सम्भावना ६० प्रतिशत रहेको जानकारी दिइन्।

२३ वर्षको उमेरमा गर्भ गुमाएकी पूजा थापाले पनि दोस्रो सन्तान जन्मिएको २० दिन भएको सुनाइन्।

गर्भ तुहिएको कति समयपछि पुन: गर्भधारणको प्रयास गर्न सकिन्छ?

गर्भ तुहिएपछि महिलाहरूको पाठेघर र शारीरिक बनावटहरूमा परिवर्तन हुने चिकित्सकहरू बताउँछन्।

त्यसैले शरीर र मानिसक आघात ठीक भएपछि पुनः गर्भधारण गर्न सकिने उनीहरूको तर्क छ।

सामान्यतया गर्भ खेर गएको १५ दिन भित्र नै महिलाको डिम्ब उत्सर्जन हुन्छ।

तर गर्भ खेर गएपछि एकपटक महिनावारी भइसकेपछि मात्र गर्भधारण गर्नु पर्ने राय अघि सार्छिन् डा. गुरुङ।

"सम्बन्धित महिलालाई आफू तयार छु भन्ने महसुस हुनु पर्‍यो। मान्नै पर्ने नियम होइन तर सकेसम्म गर्भ खेर गएपछि कम्तीमा एक पटक महिनावारी हुनुपर्‍यो। त्यसपछि शरीरका अङ्गहरू सामान्य बन्दै जान्छन्," गुरुङले सुझाइन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'मलाई रजस्वला हुँदा आत्महत्याको सोच आउँछ'

गर्भ तुहिनुले पार्ने अन्य असरहरू कस्ता छन्?

गर्भावस्थादेखि नै महिलाको शरीरमा परिवर्तनहरू देखिन थाल्छन्।

गर्भ तुहिएको अवस्थामा पनि परिवर्तनहरू निरन्तर देखिन्छन् जसले अल्प वा दीर्घकालीन असर पार्ने गुरुङले सुनाइन्।

रक्तस्राव लामो समयसम्म भई रहनुलाई एउटा आम समस्याको रूपमा प्रस्तुत गरिन्।

"भ्रूण पुरै ननिस्किए त्यहीँ बिग्रने र लामो समयसम्म रगत बगिरहने वा रगत नै चढाउनु पर्ने हुनसक्छ।"

त्यस्तै पाठेघरभित्रै छुटेका अंशहरूका कारण सङ्क्रमण हुनसक्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोभिड महामारीमा गर्भवती महिलाले के-के कुरामा ध्यान दिनु पर्छ?

"सङ्क्रमण बढ्दै गए नलीहरू बन्द हुन्छन्। र पूर्ण रूपमा बन्द भए नि:सन्तान हुने सम्भावना बढ्छ। केही भाग मात्र बन्द भए भ्रूण पाठेघर बाहिरका नलीहरूमा बस्ने सम्भावना हुन्छ," गुरुङले भनिन्।

त्यस्तै बसेको गर्भ खेर जानु र सामाजिक परिवेशमा सोधिने प्रश्नहरूको डरका कारण मानसिक तनाव बढ्नुलाई पनि एक असरको रूपमा व्याख्या गर्छिन्।

गर्भ जोगाउन के-के गर्न सकिन्छ?

सामान्य मानसिक तथा शारीरिक स्वास्थ्य अवस्थाका महिलाहरूले गर्भधारण पछि नियमित कामलाई निरन्तरता दिन सक्ने प्रजनन स्वास्थ्य विज्ञहरूको कथन छ।

उनीहरूले नियमित परीक्षण, स्वस्थ खाना र हल्का व्यायाममा ध्यान दिए गर्भावस्था सफल हुने बताउँछन्।

स्वास्थ्य जटिलता भएका महिलाहरू, मोटोपन र परिवारमा अघिल्लो पुस्ता वा कसैको गर्भ खेर जाने समस्या देखिएका महिलाहरू केही सतर्क हुनुपर्ने डा. अधिकारीले बताए।

"जाँचबुझ नै गर्भ तुहिने सम्भावना न्यूनीकरण गर्ने पहिलो उपाय हो। समयमा कारणको पहिचान र उपचारको बाटो अपनाउनु पर्छ," उनले भने।

भिडिओ क्याप्शन सुरु हुँदैछ, स्तन क्यान्सरको संकेत गर्ने १२ लक्षण