कोरोना भाइरस नेपाल: महामारीमा त्रस्त सुत्केरी र गर्भवती, 'चिन्ता हैन, यसो गर्नुहोस्'

तस्बिर स्रोत, GETTY IMAGES
- Author, मतिना त्वानाबासु
- Role, बीबीसी न्यूज नेपाली
कोभिड-१९ को सङ्क्रमणको बढ्दो त्रास, कसैको कोखमा सन्तान, कसैको काखमा। तर कोखमा सन्तान हुर्काइरहेका गर्भवती र काखमा शिशु स्याहारिरहेका सुत्केरी दुवैथरी महिलाले महामारीमा अतिरिक्त पीडा र त्रास बेहोरिरहेको बताएका छन्।
स्वास्थ्यकर्मीहरू समेत सङ्क्रमित भएपछि कतिपयले नियमित परीक्षण र उपचार नै प्रभावित भएको सुनाए।
साह्रै अप्ठ्यारो नपरेसम्म स्वास्थ्य संस्था नजाने गर्नाले उनीहरूको उपचार जटिल बन्ने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन्।
उनीहरूका अनुभवमा कोरोनाभाइरसको सङ्क्रमणले पुर्याउन सक्ने हानिभन्दा त्यसबारे फैलिएको अफवाह तथा भाइरसबारे समाजमा बनेको धारणाले धेरैलाई भयभीत बनाएको देखिन्छ।
जबकी स्वास्थ्यकर्मीहरू भन्छन्, "विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारको निर्देशानुसारको सुरक्षा उपाय अपनाएर परीक्षण र उपचारको वतावरण सहज बनाउन सकिन्छ।"
आमा बन्ने उमङ्ममा हाबी बनेको त्रास
नेपालमा एकजना सुत्केरी कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गुमाउने पहिलो व्यक्ति हुन्। त्यसले पनि गर्भवती र सुत्केरीमा त्रास बढेको बताइन्छ।
आगामी महिना आमा बन्न लागेकी वर्षा श्रेष्ठले हेटौडाको एउटा निजी क्लिनिकमा नियमित परीक्षण गराउँथिन्।
तर आमा बन्ने उमङ्गभन्दा कोरोनाभाइरसको डर धेरै भएको भन्दै अहिले उनी घरबाट निस्किनै छाडेकी छन्।
उनले चिनेकी एक दिदी व्यथा लागेपछि अस्पताल गइन्, पीसीआर परीक्षण गराएर आउन भनिएको रहेछ।
"त्यतिबेला पीसीआर रिपोर्ट ल्याउन कसरी सम्भव हुन्थ्यो?," उनीले चिन्ता बिसाइन्, "मलाई पनि त्यस्तै भन्ने त होला, पीसीआर परीक्षण गराइराख्नु भन्ने सल्लाह पाएकी छु।"
पुष्पा घेमोसु एक साताअघि आमा बनेकी हुन्। आफ्नो र बच्चाको सुरक्षाको चिन्ताले गर्दा उनी आफन्त र साथीभाइसँग टाढै रहेर खुशी साटेको सुनाउँछिन्।
यसरी बढेको छ खतरा
सरकारले जारी गरेको लकडाउन र त्यसपछिको निषेधाज्ञाका बेला यातायातको असुविधा तथा अस्पताल गए रोग सर्छ भन्ने डर।
त्यसैले सकेसम्म घरमै वा गाउँकै स्वास्थ्य संस्थामा सामान्य रूपमा बच्चा जन्माउन प्रयास गर्ने तर त्यो सम्भव नभएपछि जटिल अवस्थामा मात्रै अस्पतालमा जाने वा लगिने गरिएको स्वास्थ्यकर्मीहरूको अनुभव छ।
कतिपय समयमा त्यस्तो अवस्थामा उपचार नै कठिन बन्ने उनीहरू बताउँछन्।
अस्पताल पुगेपछि रुघाखोकी‚ ज्वरो‚ यात्रा लगायतबारे सोधपुछपछि उपचार प्रक्रिया अघि बढाउने गरिन्छ।
तर कतिपयले साँचो जानकारी नदिँदा स्वास्थ्यकर्मीलगायत अस्पतालमा रहेका अन्य विरामीको स्वास्थ्य जोखिममा पर्ने धुलिखेल अस्पतालकी स्त्री रोग विशेषज्ञ नुरा प्रधान बताउँछिन्।
त्यसो नगर्न नहुने सल्लाह दिँदै उनी भन्छिन्, "सबैले त त्यस्तो गर्नुहुन्न। तर कोही विरामी पटक-पटक एउटै कुरा सोधियो भनेर रिसाउनु हुन्छ। सुरक्षा हामी सबैको जिम्मेवारी हो। एकजना विरामीले सत्य जवाफ दिनुभएन भने सबै जोखिममा पर्छौँ।"
टेलिफोनमै सल्लाह
सरकारले अत्यावश्यक अवस्थामा बाहेक अस्पताल नजान आग्रह गरेको छ। विभिन्न अस्पतालले टेलिफोनमार्फत् परामर्श पनि दिन थालेका छन्।
त्यस्तो सुविधा दिने गरेको धुलिखेल अस्पतालकी डा. प्रधान भन्छिन्, "गर्भवती तथा सुत्केरीले यही नम्बरमार्फत् कतिपय समस्यामा सुझाव लिन सक्छन्।"
तर सबै सेवा फोनमार्फत् सम्भव नहुने भन्दै अस्पताल पुग्नु पर्ने अवस्थामा अलमन गर्न नहुने उनको सुझाव छ।
त्यस्तै कोभिड-१९ बारे भ्रामक सूचना तथा जानकारीबाट जोगिनु पर्ने जानकारहरू बताउँछन्।
विश्व स्वास्थ्य सङ्गठन र सरकारले दिने गरेको सुझाव पछ्याउँदा कोरोनाभाइरसको सङ्क्रमणबाट जोगिन सकिने प्रसूतिगृहका डा. शैलेन्द्रवीर कर्माचार्य बताउँछन्।
हातमा पञ्जा‚ मुखमा मास्क‚ बेलाबेलामा साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने‚ सामाजिक दुरी कायम गर्न उनी सबैलाई आग्रह गर्छन्।
"रोग जो कसैलाई लाग्न सक्छ, तर निको हुनेको सङ्ख्या धेरै छ, आत्तिनु पर्दैन," उनी भन्छन्, "सङ्क्रमितलाई अपराधी सरह व्यवहार गर्ने प्रवृत्तिले पनि आवश्यकताभन्दा बढी त्रास देखिएको हो।"
सुरक्षित मातृत्व सामाजिक विकास र सभ्यताको एउटा महत्त्वपूर्ण सूचक मानिन्छ।
त्यसैले यस्तो विषम परिस्थितिमा सामान्य समयमा भन्दा गर्भवती तथा सुत्केरी महिलाहरूलाई बढी ध्यान दिनुपर्ने बताइन्छ।









