हिंसक मांसाहारी वन्यजन्तुको दाँतको उपचार गर्ने काम कस्तो हुन्छ?

    • Author, स्वामिनाथन नटराजन
    • Role, बीबीसी विश्व सेवा

डा. पिटर कर्तिस एक जना भिन्न खाले दन्त चिकित्सक हुन्।

सोमवारदेखि बिहीवारसम्म सेन्ट्रल लन्डन क्लिनिकमा उनले आफ्ना नियमित बिरामीको उपचार गर्छन्। तर सप्ताहान्तमा उनको एउटा अजिबको काम छ।

उनले बीबीसीसँग भने, "हामीले भर्खर एउटा सिंह र केही बाँदरहरूको उपचार गर्‍यौँ। सिंहको दुई वटा दाँत बिग्रिएको थियो, एउटा निकाल्न पर्‍यो भने अर्को भर्नु पर्‍यो।"

उनले कसरी आफ्नो सेवाको दायरा मानिसहरूभन्दा पर पुर्‍याए त?

र, हिंसक मांसाहारी वन्यजन्तुको मुखमा हात हालेर गर्ने काम कस्तो होला त?

एउटा साहसिक कामको सुरुवात

डा. कर्तिसले हेर्ने बिरामीको सूचीमा वालरस, डल्फिन, बाघ, हात्ती र अन्य ठूलासाना वन्यजन्तु छन्।

उनले चार दशकदेखि जनावरहरूको उपचार गरिरहेका छन् र बर्सेनि झन्डै २०० जति त्यस्ता बिरामी हेर्छन्।

उनी चिडियाखानामा राखिने वन्यजन्तुमा विज्ञता हासिल गरेका कमै दन्त चिकित्सकमध्ये हुन्।

र उनको त्यसतर्फको बाटो कुनै योजनाबद्ध ढङ्गले तय भएको पनि होइन।

सन् १९६९ मा पढाइ पूरा गरेका उनले नौ वर्षसम्म मानव बिरामीको उपचार गरे।

उनी भन्छन्, "सन् १९७८ मा मलाई एक जना पशु चिकित्सकले फोन गरेर उनको बिरालोलाई सहयोग गर्न सकिन्छ कि भनेर सोधे। मैले त्यो कठिन होला कि भन्ठाने पनि अन्ततः गरेँ।"

त्यसले उनलाई करिअरको नयाँ बाटोतर्फ मोडिदियो।

खतराहरू

उनको टोलीमा नर्स र बेहोस गराउने चिकित्सक छन्।

ठूला जनावरहरूलाई प्राय: लट्ठ्याउने सुईले परबाटै हानेर नियन्त्रणमा लिनुपर्छ।

"यो निकै व्यावसायिक काम हो। तपाईँसँग भावुक हुने वा धैर्य हुने सुविधा हुँदैन," उनी भन्छन्।

"बेहोस हुने समय सीमा भित्र रहेर काम गर्नुपर्छ। म सधैँ छिटो र प्रभावकारी रूपले काम गर्न खोज्छु।"

त्यो स्वाभाविक किन पनि हो भने तपाईँका हात मांसाहारी जनावरको मुखमा हुन्छ।

जमिनमा बस्ने विश्वकै सबैभन्दा ठूलो मांसाहारी जनावर त ६०० किलोसम्मको हुन्छ।

डा. कर्तिसको एउटा त्यस्तै काम अक्टोबर महिनामा परेको थियो।

"सामान्यतः जनावरहरूमा बेहोस बनाउने औषधि प्रयोग गर्नु निकै खतरनाक हुन्छ।"

"हाम्रो उद्देश्य त्यसैले उनीहरूलाई कम दिग्भ्रमित पार्ने गरी सक्दो थोरै एनेस्थेसिया प्रयोग गर्ने हुन्छ।"

धेरै प्रयासहरू दोस्रो पटक ती जनावरलाई भेट्नु नपरोस् भन्ने गरी हुन्छ।

भिन्नता

सबैभन्दा पहिलो चुनौती भनेको आफ्नो अवस्था बताउन नसक्ने जनावरलाई समेत तपाईँको सहयोग आवश्यक पर्छ भन्ने आत्मसाथ गर्नु हो।

"धेरै जनावरहरूले आफ्नो पीडा लुकाउँछन्। उनीहरू मानिसहरूझैँ त्यो देखाउँदैनन् बरु त्यसलाई सहेरै जिउन सिक्छन्," डा. कर्तिसले भने।

"कहिलेकाहीँ त्यो स्वाभाविक रूपमा सुजन भएर, शरीरबाट केही चुहिएर र खाना खान बन्द गरेका देखिन्छ।"

त्यो धेरैजसो जनावरको रेखदेख गर्नेहरूले उनीहरूको स्वभावमा आएको परिवर्तन देखेर थाहा पाउँछन्।

उनको धेरैजसो काम जनावरका दाँत निकाल्ने, भर्ने र रुट कनाल गर्ने हुन्छन्।

अर्को चुनौती भनेको त्यस्तो काम गर्नका लागि चाहिने औजारहरू व्यवस्थापन गर्नु हुन्छ।

जनावरहरूको दन्तलहर असमान हुने भएकाले फरक-फरक औजार चाहिन्छ र त्यसको आकार बनाउँदै ती विशेष रूपमा निर्माण गर्नुपर्ने उनी बताउँछन्।

उनले सबैभन्दा ठूलो औजार प्रयोग गरेको भनेको हात्तीको उपचारका क्रममा हो जुन ३२ किलोको थियो।

कुनै विशेष जनावर?

उनले उपचार गर्न रुचाउने कुनै विशेष जनावर छैन।

सबैका आआफ्नै चुनौती हुने भएकाले जो जसलाई सहायता चाहिन्छ तिनैलाई उनी उपचार गर्छन्।

"ठूला मांसाहारी जनावरहरू तुलनात्मक रूपमा उपचार गर्न सहज हुन्छन्," उनी भन्छन्।

"तपाईँ सजिलै मुखभित्र हात हाल्न सक्नुहुन्छ। मात्र छिटो काम गर्न उपयुक्त औजार चाहिन्छ।"

"वालरस निकै रोचक र तीक्ष्ण जनावर हो जुन मलाई निकै मन पर्छ," उनले भने।

"दुर्भाग्यवश समुद्री पार्कमा उनीहरू कङ्क्रिट संरचनामा ठूला दन्त ठोक्काउँदा ती सङ्क्रमित बन्ने गर्छन्।"

उनी रुस र दक्षिण कोरियासम्म गएर त्यस्ता दाँत निकालेका छन्।

"त्यस्ता एउटै ठूला दाँत निकाल्न २५ देखि ४० मिनेटसम्म लाग्छ। पूरै शल्यक्रिया सकिन कहिलेकाहीँ दुईदेखि तीन घण्टासम्म लाग्छ।"

जीवनदायी काम

आफ्नो कामले कयौँ जनावरको अल्पायुमा मृत्यु हुनबाट जोगिएको उनी ठान्छन्।

"जनावरहरूको स्वास्थ्यको द्वार भनेको उनीहरूको मुख हो। असरयुक्त दन्त संरचनाले कयौँ रोग सिर्जना गर्ने कीटाणु शरीरभित्र पुर्‍याएर गम्भीर असरहरू सिर्जना हुनसक्छ।"

उनले ३० देखि ३० वर्षदेखि मानव बिरामीलाई नियमित जाँच गरिराखे पनि निकै दुर्लभ रूपमा कुनै जनावरलाई दोस्रो पटक भेटेका छन्।

आफ्नो कामको विशेष लाग्ने पक्ष उनी त्यही रहेको बताउँछन्।

"जनावरसँग हाम्रो लामो सम्बन्ध हुँदैन। भावनात्मक उतारचढाव निकै कम हुन्छ," उनी भन्छन्।

"जनावरहरूसँगको हाम्रो दिन कहिल्यै निरस हुँदैन। जब मैले राम्ररी काम गर्छु जनावरहरूलाई सहयोग पुग्छ र उनीहरू स्वस्थ्य देखिन्छन्, म खुसी हुन्छु।"