नेपाल मौसमः यो वर्ष हिउँदमा पनि 'औसतभन्दा बढी पानी पर्ने सम्भावना', कस्तो असर पर्ला

नेपालमा यसपालि पोस्ट-मनसुन अर्थात् वर्षा यामउपरान्त परेको "असामान्य" पानीले ठूलो जनधनको क्षति पुर्‍याएको देखिन्छ।

यो वर्ष अक्टोबर महिनामा सन् २००९ पछिका अक्टोबरमध्ये सबैभन्दा धेरै वर्षा भएको तथ्याङ्कले देखाएको छ।

बेमौसमी बाढी तथा पहिरोले गराएको क्षतिबारे विवरण आउने क्रम जारी रहँदा यसपालि हिउँदमा पनि "औसतभन्दा बढी" पानी पर्ने सम्भावना देखिएको मौसमविद्‌ले बताएका छन्।

"प्रदेश नं १, २, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका तराईका जिल्लामा अक्टोबर, नोभेम्बर र डिसेम्बरमा सरदरभन्दा बढी वर्षा हुने देखिन्छ," जल तथा मौसम विज्ञान विभागस्थित हावापानी विश्लेषण शाखाकी प्रमुख वरिष्ठ मौसमविद्‌ इन्दिरा कँडेलले बीबीसी नेपालीसँग भनिन्।

यद्यपि मौसम पूर्वानुमानसम्बन्धी औपचारिक विवरण सार्वजनिक गर्न अझै केही साता लाग्ने उनले बताइन्।

अध्ययनले के देखाउँछ?

नेपालसहित आठ देश संलग्न साउथ एशियन क्लाइमेट आउटलुक फोरमले यो क्षेत्रमा हुने ऋतुगत वर्षा र तापक्रमबारे आकलन गर्ने गरेको छ।

वरिष्ठ मौसमविद्‌ कँडेलका अनुसार नेपालमा ६६ मिलिमिटर पानी पर्नुलाई सरदर वर्षा मान्ने गरिएको छ।

वर्षाको दृष्टिकोणले यसपालिको हिउँद गत वर्षको जस्तो नहुने देखिएको अर्की मौसमविद्‌ पनि बताउँछिन्।

"गत वर्ष त लगभग छ महिना पानी नै परेन, तर यो वर्ष त्यस्तो हुने देखिँदैन," जल तथा मौसम पूर्वानुमान महाशाखास्थित वरिष्ठ मौसमविद्‌ प्रतिभा मानन्धरले बीबीसी नेपालीसँग भनिन्।

"जुन वर्षको मनसुनमा धेरै वर्षा हुन्छ त्यो वर्षको 'पोस्ट-मनसुन' र हिउँदमा पनि राम्रै वर्षा हुने गरेको धेरै वर्षको हाम्रो अध्ययनले देखाउँछ।"

मौसमविद्‌हरूका अनुसार मनसुन राम्रो हुनुमा धेरै पक्षले प्रभाव पारेको हुन्छ।

मौसमवसद्‌हरूका अनुसार दक्षिण एशियामा मनसुनलाई मुख्यतया असर गर्ने प्रणाली प्रशान्त महासागरमा देखिने एल निन्यो र ला निन्या हो।

समुद्री पानी सामान्यभन्दा बढी तात्ने अवस्थालाई एल निन्यो भनिन्छ भने समुद्री पानी औसतभन्दा कम चिसो हुने अवस्थालाई ला निन्या भनिन्छ।

एल निन्योका बेला दक्षिण एशियाली देशहरूमा कम र ला निन्याका बेला बढी वर्षा हुने गरेको मौसमविद्‌हरू बताउँछन्।

हिउँदमा धेरै पानी परे असर के हुन सक्छ?

अहिले पोस्ट-मनसुनमा असामान्य पानीले बालीनालीमा क्षति पुर्‍याए झैँ हिउँदमा ठूलो वर्षा भएमा त्यसले पनि नकारात्मक असर पुर्‍याउने विज्ञहरू बताउँछन्।

"हिउँदे तरकारी, गहुँ र मुसुरो धेरै पानी सहन नसक्ने बाली हुन्। यदि हिउँदमा धेरै पानी पर्‍यो भने यी बालीलाई क्षति पुग्न सक्छ," कृषि विभागस्थित वरिष्ठ कृषि अर्थविद्‌ महादेवप्रसाद पौडेलले बीबीसी नेपालीसँग भने।

यसपालि हिउँदमा सरदरभन्दा बढी पानी पर्ने सम्भावनाबीच किसानहरूले सोहीअनुरूप रणनीति अपनाउनुपर्ने उनी औँल्याउँछन्।

यो साता परेको ठूलो पानीका कारण कतिपय ठाउँमा काटिसकिएका धान खेतमै कुहिएका छन् भने काट्न बाँकी धानहरू ढलेको अधिकारीहरूले बताएका छन्।

वर्षाको पानीका कारण कतिपय किसानका धान बोटमै उम्रिएका विवरण पनि विभिन्न स्थानबाट आएका छन्।