राजीनामा दिनुको कारणबारे के भन्छन् मन्त्री गजेन्द्रबहादुर हमाल

सांसद नभए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको पछिल्लो मन्त्रीपरिषद् पुनर्गठनमा मन्त्री नियुक्त भएका गजेन्द्रबहादुर हमालले राजीनामा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन्।

उनका भाइ विजेन्द्र हमालले बीबीसीलाई भने "मैले लगेर प्रधानमन्त्रीलाई दाजु गजेन्द्रको राजीनामा बुझाएको छु।"

बीबीसीसँग कुरा गर्दै हमालले आफ्नो नियुक्तिलाई लिएर व्यक्तिगत रूपमा विवादमा तानेपछि राजीनामा गर्ने घोषणा गरेको बताएका थिए।

हमाललाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको भन्ने आरोप लागेको थियो।

सांसद नभए पनि ६ महिनाका लागी मन्त्री बनाउन पाउने कानुनी व्यवस्था अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवार उनलाई मन्त्रीमा नियुक्त गरेका थिए।

हमाल नाताले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका जेठान हुन्। हमालकी बहिनी बितेपछि चोलेन्द्रले दोस्रो बिहे गरेको बताइन्छ।

लामो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका उनी पछिल्लो समय धार्मिक गतिविधिमा व्यस्त थिए।

(हमालले बीबीसी नेपाली सेवाका संवाददाता नेत्र केसीसँग गरेको कुराकानी सुन्न माथिको प्ले बटनमा थिच्नुहोस्।)