तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चाडबाडमा मदिरा खपत बढेसँगै दुर्घटनाको जोखिम उच्च, नियन्त्रणका लागि के गरिँदैछ?
चाडबाडका बेला मदिरा खपत बढ्दा दुर्घटनाको जोखिम पनि उच्च रहने भन्दै महानगरीय ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) चेकजाँचलाई बिस्तार गरेको र थप कडा पारेको जनाएको छ।
मदिरा व्यवसायी महासंघका अनुसार चाडबाडका बेला मदिराको बिक्री अन्य समयभन्दा चार गुणादेखि पाँच गुणासम्म बढ्ने गरेको छ।
दुर्घटना हुने प्रमुख कारण मध्ये मदिरा सेवन एक भएकाले खपत बढ्ने चाडबाडका बेला काठमाडौं भित्रिने र बाहिरिने चारवटै नाकामा चेकजाँचलाई कडा पारिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
काठमाण्डू उपत्यकाबाहेक पनि विभिन्न चेकपोष्टहरूमा मापसेलाई कडा पारिएको प्रहरीले जनाएको छ।
महानगरीय ट्राफिक प्रहरी कार्यालयका अनुसार चाडबाडका बेला सवारी दुर्घटना हुने प्रमुख कारणमा मदिराको सेवन एउटा प्रमुख हो।
तयारी
गत वर्ष महामारीका कारण लगाइएको प्रतिबन्धबाहेक त्यसअघिका वर्षहरूमा हेर्ने हो भने ट्राफिक प्रहरी महाशाखाको तथ्याङक अनुसार, दशैँमा करीब ९० प्रतिशत सवारी दुर्घटना चालककै लापरवाहीका कारण हुने गरेका छन्।
चालकको त्यस्तो लापरबाहीमा मदिरा सेवन गरेर सवारीसाधन चलाउनु पनि पर्छ।
चाडबाडमा हुने यस्ता दुर्घटना नियन्त्रण गर्नकै लागि प्रहरीले यसवर्ष तयारी थालिसकेको ट्राफिक प्रहरी प्रवक्ता सञ्जिब शर्माले बताए।
उनले भने, "हामीले १३२ स्थानमा २१ घण्टा मापसे जाँच गरेका छौँ। त्यसबाहेक गएको ११ गतेदेखि नै हामीले काठमाण्डूबाट निस्किने चारवटै नाका फर्पिङ, नागढुङ्गा, साँगा र तीनपिप्लेमा पनि चेकजाँचलाई कडा पारेका छौँ।"
मापसेको चेकजाँच गर्दा दैनिक २५० देखि ३०० सम्म मानिसहरूले मदिरा सेवन गरेर सवारीसाधन चलाएको पाइएको प्रहरीले जनाएको छ।
खासगरी ग्रामीण भेगमा पनि दसैँतिहारकै बेला बढी सवारीसाधन दुर्घटना भएका विवरणहरू आउँछन्।
यो वर्ष पनि फूलपातीको अघिल्लो दिनदेखि नै देशका विभिन्न खासगरी पहाडी भूभागमा सवारीसाधन दुर्घटना भएका र थुप्रैले ज्यान गुमाएका खबरहरू आएका छन्।
के भन्छन् व्यवसायी?
नेपाल मदिरा व्यवसायी महासंघका अनुसार दशैँ नजिकिएसँगै मदिराको बिक्री अन्य समयमा भन्दा निकै बढ्छ।
पछिल्लो समय नेपालमै बन्ने मदिराहरूले पनि राम्रो बजार पाइरहेको र खपत पनि बढेको उक्त महासंघका केन्द्रिय महासचिव तारानाथ ढुंगानाले बताए।
उनले भने, "अरूबेला खपत हुने तुलनामा ४/५/६ गुणासम्म दसैँतिहारमा मदिरा बिक्री बढी हुन्छ। विगतका ४/५ वर्षमा नेपालमा उत्पादन हुने मदिरा र विदेशबाट आयात हुनेमा ६०/४० अनुपात थियो भने अहिले ८० प्रतिशत नेपाली नै खपत हुन्छ भने १५ देखि २० प्रतिशत विदेशी मदिरा आयात हुन्छ।"
यसरी खपत बढेसँगै दुर्घटनाको जोखिम पनि उच्च हुने हुँदा मदिरा सेवन गरेर सवारी साधन नचलाउन प्रहरीले सबैलाई आग्रह गरेको छ।
सजायको व्यवस्था
मदिरा सेवन गरेर चलाउने निजी सवारीसाधन धनीलाई जरिवानास्वरुप एक हजार रुपैयाँ तिराइन्छ भने सजायस्वरुप ट्राफिक नियमबारे एक घण्टाको कक्षा लिइन्छ।
त्यस्तै सार्वजनिक सवारी साधनको हकमा मदिरा सेवन गरेर गाडी चलाउनेलाई मुद्दा दर्ता भइ सातदिनसम्म हिरासतमा राख्ने र दोषी पाइए तीनमहिनासम्म जेलसजाय हुने व्यवस्था रहेको छ।