आईडा आँधी: बाढीले डुबाएको आप्रवासीको अमेरिकी सपना

    • Author, जो इन फङ
    • Role, बीबीसी न्यूज, न्यू योर्क

अमेरिका आउने अन्य थुप्रै जस्तै, लेङ होङशेङले पनि स्वतन्त्रता चाहिरहेका थिए।

विश्वयुद्धको कोलाहलबाट गुज्रिएका उनी सन् १९९० मा अमेरिका आएका थिए।

उनी चीनमा रहँदा इन्जिनियर भएको ठानिन्छ। न्यूयोर्कमा भने बाँच्नका लागि क्वीन्स भन्ने ठाउँमा रहेको चाइनाटाउन वरपर उनी पुनर्प्रयोगका लागि पुराना प्लाष्टिक बोतल र विद्युतीय सामानहरू खोज्थे।

तैपनि उनी खुसी थिए। आफ्ना परिवारलाई अमेरिका ल्याए, ग्रीन कार्ड पाए र जीवन राम्रो बनाउन प्रयासरत थिए।

तर त्यो आशा गत महिना तुहियो जब न्यूयोर्क सहरमा आएको समुद्री आँधी आईडाले उनीसहित उनकी श्रीमती र छोरीलाई डुबायो।

समुद्री तुफानमा परेर १४ जनाले ज्यान गुमाएका थिए। हताहत हुनेमा दुई वर्षीय बालकदेखि ८६ वर्षीय महिलासम्म थिए र उनीहरू धेरैजसो एसियाली र हिस्प्यानिक आप्रवासी थिए।

एउटा शक्तिशाली समुद्री आँधी आईडा प्रतिघण्टा २४० किलोमिटरको बेगमा आएको थियो र त्यसले लुइजियानाको तटीय क्षेत्रमा ठूलो असर पुर्‍याएको थियो।

उक्त आँधी उत्तरतर्फ बढ्दा त्यसले दर्जनौँको ज्यान गएको थियो भने दशौँ हजार घरमा नराम्ररी क्षति पुर्‍याएको थियो।

आईडा आँधीपछि आएको अत्यधिक वर्षाका कारण अमेरिकी इतिहासमै एउटा खराब बाढीको विपद् देखा परेको थियो।

जलवायु सङ्कटका माझ विश्वव्यापी जनसङ्ख्याको ठूलो हिस्सालाई असर गर्ने वातावरणीय विपद्‌मध्ये बाढी एक हुने ठानिएको छ।

विश्व बैङ्कका अनुसार अहिलेको समयमा १.५ अर्ब अर्थात् विश्व जनसङख्यामा पाँचमध्ये करिब एकजनाले मध्यम खालको बाढीको खतराको सामना गर्नुपर्छ।

आउँदा दशकमा युरोप, उत्तर अमेरिका र उत्तरी गोलार्द्धले नयाँ बाढीहरूको सामना गर्नुपर्नेछ र यी ठाउँहरूमा पनि गरिबहरूलाई नै बढी असर पर्नेछ।

अमेरिकामा, चार करोड दश लाख मानिसहरू बाढीको खतरामा छन् र उनीहरू महानगरका ती क्षेत्रमा बसोबास गर्छन् जहाँ जनघनत्व अत्यधिक छ। बाढी धेरै आउने ठाउँमा भवनहरू बनाउने अभ्यास पनि सामान्य रहेको छ।

अमेरिकाका मुख्य सहरहरूमा घर पाउन गाह्रो भएका कारण कम आय भएका भाडावालहरू घरको जमिनमुनी बनाइएका कोठाहरू अर्थात् 'बेसमेन्ट'मा बस्न बाध्य छन्।

"सबैलाई बस्नका लागि न्यू योर्कमा उपयुक्त घरहरूको व्यवस्था छैन र आप्रवासीहरू त धेरैजसो धेरै जोखिममा हुन्छन्," कोलम्बिया विश्वविद्यालयस्थित सेन्टर फर सस्टेनेबल अर्बन डिभलपमेन्टकी सहायक निर्देशक डाक्टर ज्याकलिन क्लोपले बताइन्।

धेरै मानिसहरू बस्ने घर खोज्न अनौपचारिक सञ्जालहरूमा भर पर्छन् र त्यसरी खोज्दा अनुमति नलिइ बनाइएका गैरकानुनी रूपमा बस्न हुने बनाइएका घरहरू हुन्छन्।

न्यू योर्कमा गैरकानुनी रूपमा करिब ५०,००० बेसमेन्ट त्यसरी बनाइएको अनुमान गरिएको छ।

खतराका भए पनि भाडामा बस्ने र घरभेटी दुवैले जरिवाना तिर्नुपर्ने डरका कारण कसैले पनि उजुरीहरू दर्ता गर्दैनन्।

न्यू योर्क सहरका अधिकारीहरूका अनुसार आँधीका कारण ज्यान गुमाएका पीडितहरू बस्ने ६ वटा घरमध्ये पाँच वटा अनुमति बिना बनाइएका हुन्।

गुणस्तरीय घरको अभावका कारण अति गरिब परिवारहरू अति जाडो वा अति गर्मीमा थप खतरामा रहनु त स्पष्ट छ। तर कम आय भएका मानिसहरू बस्ने समुदायमा धेरै कम रुखहरू र पार्कहरू हुन्छन्। त्यसले पनि उनीहरू थप जोखिममा पारेका छन्।

उष्ण लहरका बेला कङ्क्रिटका छतहरूले तापक्रम थप बढाउँछ भने बाढीका बेला पानी बगेर जान पाउँदैन।

न्यू योर्क आईडा बाढीका कारण ज्यान गुमाउने मानिसहरू राजमार्ग वा कार पार्किङ गर्ने ठाउँ नजिकै बस्थे। कैयौँ मानिसहरूले राजमार्गमै अड्किएका गाडीमा ज्यान गुमाएका थिए।

"हामीले बाढीले पूर्ण रूपमा डुबाएका राजमार्गहरू देख्यौँ किनभने बाढीको पानी जाने ठाउँ त्यही हो। पानी सोस्ने वा बग्ने ठाउँ भएन भने राजमार्गहरू नदी बन्छन्," डाक्टर क्लोपले भनिन्।

आईडा आँधीका बेला ज्यान गुमाउने नेपालका लामा परिवार पनि क्वीन्स मासपेथस्थित दुईवटा ठूला राजमार्गकै छेउमा पर्ने ईँटाले बनेको घरको बेसमेन्टमा बस्थे।

५० वर्षीय आङ गेलु लामा १४ वर्षअघि नेपालबाट अमेरिका गएका थिए। उनी र उनकी श्रीमती मिङमा याङ्जी शेर्पाका दुई वर्षीय छोरा लोपसाङ थिए। रातो पुक्क गाला भएका उनलाई खेलौनाहरू खेल्न मनपर्थ्यो।

उक्त परिवारलाई चिनेका मानिसले वाशिङ्टन पोष्टसँग भने अनुसार उनीहरू सस्तो भाडामा साँघुरो बेसमेन्टमा बस्ने गर्थे।

शेर्पाले अन्तिम पटक गरेको फोन भनेको माथिल्लो तलामा बस्ने परिवारलाई थियो। फोनमा उनले आफू बस्ने तलामा बाढीको पानी आएको बताएकी थिइन्।

हालैको एक दिन लामाकी सानीमा नुकु शेर्पा लामा परिवारको सम्झनामा बौद्ध प्रार्थना गरिरहँदा रोइन्।

न्यू जर्सीमा बस्ने उनी आफैँले बाढीले डुबेको आफ्नो फ्ल्याट सफा गरिरहँदा लामा परिवारको दुखद निधनबारे थाहा पाएकी थिइन्।

"हामी मर्माहत भयौँ," उनले भनिन्।

विपद्का बेला गरिब र धनीले कसरी प्रतिक्रिया जनाउँछन् भन्ने देखिइसकेको छ।

सन् २०१९ को संयुक्त राष्ट्र सङ्घको प्रतिवेदनले जलवायु परिवर्तनले सन् २०३० सम्मा १२ करोड मानिसलाई गरिबीमा धकेल्ने अनुमान गरेको छ। गरिबी न्यूनीकरणका लागि ५० वर्षमा भएको प्रगतिलाई त्यसले व्यर्थ बनाइदिएको छ।

यी असरहरूले मानवअधिकारका आधारभूत कुरा जस्तै खाने, बस्ने पिउने मानेमा मात्रै खतरा पैदा नगरी कानुनी शासन र प्रजातन्त्रलाई पनि खतरामा पारेको छ।

वर्ग विभाजनले आख्यानमा पनि प्रवेश पाएको छ।

अस्कर विजेता दक्षिण कोरियाली चलचित्र प्यारासाइटमा एउटा गरिब परिवार रोजगारदाताले उपलब्ध गराएको आरामदायी आवास छोडेर आँधीपछि आफ्नो घर जाँदा उक्त घर बाढीले डुबेको र आफ्ना धेरैजसो सामान बिग्रिएको पाउँछन्।

डाक्टर क्लोप विपद्ले निम्त्याउने सङ्कट सम्बोधन गर्दा वातावरणीय मात्रै नभइ सामाजिक समानताका मुद्दाहरूलाई पनि स्थानीय र विश्वव्यापी रूपमा गरिनुपर्ने बताउँछिन्।

"हामीले जलवायु र समानता दुवैलाई सम्बोधन गर्नुपर्छ। यसलाई अलग गर्न सकिँदैन।"

न्यू योर्कसँग छिमेकलाई जोड्ने रेललाई १९ औँ शताब्दीमा चर्चित बनेको थियो र त्यसले कलालाई प्रोत्साहित गरेको थियो।

हालैका दशकहरूमा उक्त क्षेत्र आप्रवासीको रोजाइ बनेको छ। त्यहाँ करिब ८०० एकर भूभागमा ताइवान, दक्षिण कोरिया, चीन र भारतका मानिस बस्छन्।