स्तन क्यान्सरले बुझाएको जीवनका फरक आयाम: 'आमा बन्नु दूध खुवाउनु मात्र होइन रहेछ'

    • Author, स्वेच्छा राउत
    • Role, बीबीसी न्यूज नेपाली

छोरी जन्मिएदेखि चितवनकी जानकी क्षेत्रीको खुसीको सीमा छैन। हरेक दिन तीन महिने छोरीसँग फोटो खिच्छिन्, टिकटक बनाउँछिन् र उनकै स्याहार सुसारमा समय बिताउँछिन्।

व्यस्तताकै कारण क्षेत्रीको पढाइ छुट्यो, चाडपर्वमा पहिलेजस्तो जमघट हुन छोड्यो, जागिर बाँकी रहेन, घुमघाम ठप्प भयो। तर मातृत्वको सुखद अनुभूतिहरूका अगाडि ती समस्या उनलाई साना लागे।

एक वर्षअघिसम्म उनलाई आफू "कहिल्यै आमा बन्न सक्दिनँ कि?" भन्ने प्रश्नले पिरोल्थ्यो। किनकि उनी क्यान्सरको बिरामी थिइन्। स्तनको गिर्खालाई सात वर्षअघि नै काटेर फाले पनि उपचार र औषधि जारी थियो।

२०७७ सालमा उनको औषधि सेवन रोकियो। उनी गर्भवती भइन्। खुसी चुलियो। तर स्तन क्यान्सरपछि भोगेको आरोह र अवरोहले गहिरो असर पार्‍यो।

कहिलेकाहीँ छोरी बेस्मारी रुँदा काखमा राख्छिन्। दाहिने स्तनबाट दूध खुवाउँछिन्। स्तनपान गराउँदा कहिलेकाहीँ भोक नमेटिएर छोरी एकोहोरो रुन्छिन्। क्षेत्रीले चाहेर पनि देब्रे स्तनलाई छोरीको ओठसम्म पुर्‍याउन सक्दिनन्। त्यस्तो बेलामा छोरी भोकै परिन् कि भन्ने चिन्ताले उनलाई निकै पिरोल्छ।

क्यान्सर फाल्नका लागि स्तनको आधाभन्दा बढी भाग काट्नै पर्छ भन्ने सोचेकी थिइनन् जानकी क्षेत्रीले। शल्यक्रियापश्चात् जब होसमा आइन्, तब पो उनलाई आफ्नै शरीर अपूरो महसुस भयो। रोग काटेर फाल्दा पनि मन हलुका हुनुको साटो गह्रौँ महसुस भएको उनले सुनाइन्।

"म रोगमुक्त त भएँ तर चिन्तामुक्त भइनँ। त्यति बेला मेरो मनमा एउटै प्रश्न खेलिरह्यो। हिम्मत गरेर डाक्टरलाई सोधेको थिएँ - अब म आमा बन्न सक्छु त?"

चिकित्सकले उनलाई भनेका थिए - "नियमित निरीक्षणमा रहे सन्तान जन्माउन सम्भव छ।"

उनले थाहा पाइन् कि केही वर्ष नियमित औषधि खानु पर्छ र त्यस अवधिभर गर्भ रहँदैन।

"मलाई मातृत्व भोग्नु थियो। क्यान्सर पछिको जीवनमा आमा बन्ने इच्छा झनै तीव्र भएको थियो। तर रोग लागेपछि औषधि पनि खानै पर्‍यो," बोल्दाबोल्दै उनी रोकिइन्।

एक छिनको मौनता तोड्दै प्रश्नबाट कुरा थालिन्, "आखिर सबै चोट औषधिले मात्र कहाँ निको हुँदो रहेछ र?"

किमोथेरापी सुरु भएपछि उनको कपाल झर्दै गए। रेडियोथेरापीका कारण छालाको रङ समेत फेरिएको थियो। शरीरमा ऊर्जा पहिलेजस्तो बाँकी थिएन। यी परिवर्तनहरू अपेक्षित थिएनन्। उस्तै अप्रत्याशित बन्दै गयो उनको दैनिकी। एक्लोपनले गाँज्न थाल्यो। मन भुलाउन खोज्थिन् तर मन भुलिसक्दा शरीर पनि गल्थ्यो।

"क्यान्सर हो भन्ने थाहा पाउँदा समेत एक्लै अस्पताल पुगेको म क्यान्सर फालेपछि झन् कमजोर बन्दै गएँ। त्यो असर स्वाभाविक थियो तर असरलाई नै जित्न दिने पक्षमा म थिइनँ।"

आत्मबल जुटाएर जानकीले धरमराएको आफ्नो पढाइलाई निरन्तरता दिइन्। स्नातक तेस्रो वर्षको परीक्षा दिन बाँकी थियो, त्यो दिइन् र उत्तीर्ण भइन्।

स्नातकोत्तरमा अङ्ग्रेजी साहित्य पढ्न भर्ना भइन्। काम खोजिन्। जिम्मेवारी र व्यस्तताबीच भुल्न थालिन्। तर रित्तोपन मेटिन सकेन।

आफन्त भने प्रश्न गर्थे - "रोगी मान्छेले बच्चा स्याहार्न सक्छ्यौ त?"

उनले बहिनी छोरा स्याहार्न थालिन्।

भोगाइ र अनुभवले बुझाउँदै लग्यो - "क्यान्सर हुनु केही गर्नै नसक्ने हुनु भने होइन रहेछ। अनि आमा हुनु भनेको दूध खुवाउनु मात्र होइन रहेछ।"

"आमा हुनु भनेको त बच्चासँगको संवेदना जोडिनु रहेछ। उसका साना हरकतहरूमा हाँस्नु अनि सानै चोटहरूमा आफूलाई पनि दुख्नु रहेछ," उनी भन्छिन्।

"बहिनीको छोरा मसँग बस्न थालेदेखि रित्तोपन महसुस हुन छाड्यो। छोरी पनि जन्मिएपछि पूर्ण महसुस गरेको छु।"

क्षेत्रीका लागि खुसी हुनु नै पूर्ण हुनु हो। त्यसैले शरीरको एउटा अङ्ग नहुनुलाई उनी दुःखी हुनुको बहाना बनाउँदिनन्।

उनी भन्छिन्,"क्यान्सर हुनु जीवनको अन्त्य हुनु होइन। जीवनलाई फरक कोणबाट हेर्नु र फरक ढङ्गले बाँच्नु रहेछ। म त्यही फरकपनमा रमाइरहेकी छु।"

क्षेत्रीको चिन्ता, मातृत्वको रहर र प्रजनन स्वास्थ्यमा आउन सक्ने समस्यालाई क्यान्सर पीडित हरेक महिलाको समस्याका रूपमा व्याख्या गर्छन् भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ रोशन प्रजापति।

"औषधि सेवन गरिरहँदा पनि सन्तान जन्माउनु सम्भव छ तर सबैको हकमा सफल हुन्छ भन्ने हुँदैन। समस्या र चुनौती हुने भएकाले नियमित परीक्षण र चिकित्सकसँगको सल्लाह आवश्यक पर्छ, " प्रजापतिले भने।

ललितपुरकी मिस्टी बस्नेतको स्तन क्यान्सर अनुभव भने क्षेत्रीको भन्दा केही भिन्न छ।

किमोथेरापी सुरु भएपछि कपाल झर्छ भन्ने उनले सुनेकी र देखेकी थिइन्। आफैले अनुभव गर्दा भने उनी निराश बनिन्। तालुबाट कपाल रित्तिँदै जाँदा उनी घण्टौँ ऐना अगाडि टोलाउँथिन्।

"कति राम्रो कपाल" भन्नेहरूले "कठै! सबै झरेछन्। अब पलाउँछ कि पलाउँदैन?" भन्न थालेका थिए।

प्रश्नले चिमोट्थ्यो। यथार्थले पनि उस्तै सताएको उनी बताउँछिन्।

"शारीरिक रूपमा गलेको थिएँ। मानसिक तनावहरू पनि उत्तिकै। लाग्थ्यो - क्यान्सर ठिक नभए कि मर्छु कि 'पागल हुन्छु' भन्ने लाग्थ्यो। तर त्यो बेलामा सुन्दरताभन्दा ठुलो स्वास्थ्य थियो। एउटा स्तन काटेरै फाले पनि मलाई ठिक हुनु थियो। कस्ती देखिन्छु भन्ने कुराको मतलब थिएन," उनी सुनाउँछिन्।

शल्यक्रिया, किमो र रेडियो थेरापी सकिएकै छ वर्ष पुग्यो। उनको कपाल पहिलेजस्तो कालो र बाक्लो भएर आएन तर जिन्दगी पुरानै लयमा फर्कँदै छ। लिएको लक्ष्य पूरा गर्ने बाटोमा उनी हिँडेकी छिन्।

बेलाबेलामा विचलित पार्ने वचन वा घटनाक्रमको साक्षी हुनुपर्छ। त्यस्तो अवस्थासँग जुध्नुभन्दा बेवास्ता गर्नु र अघि बढ्नु सहज लाग्छ उनलाई। क्यान्सर उनलाई रोक्ने बहाना बनेन। त्यसैले त उनी फेसन डिजाइनरका रूपमा स्थापित हुन सङ्घर्षरत छिन्।

फेसन डिजाइनिङमा डिप्लोमा गरेकी उनी कपडालाई आकार दिन्छिन्, धागो र सिताराले बुट्टा भर्छिन्।

"सियो र धागो चलाउँदा मलाई थेरापी गरे सरह हुन्छ। केही घाउ समयले सिलाउँदै लग्ला। तर हरेक पटक कुनै लुगा सिलाइसक्दा मलाई भित्र कतै लागेको चोटमा मलहम लगाएजस्तै हुन्छ," उनी सुनाउँछिन्।

मिस्टी 'नयाँ उमङ्ग' नामक समूहमार्फत स्तन क्यान्सरविरुद्ध अभियानमा समेत सक्रिय छिन्। यो चिकित्सक, नर्स र स्तन क्यान्सरविरुद्धको लडाइँ जितेकाहरूको समूह हो।

फेसन डिजाइनिङले उनलाई बुझायो- "कुनै एउटा रङ वा बुट्टाले लुगालाई राम्रो बनाउने होइन रहेछ। त्यसमा सिप र कला मिसिनु पर्छ।"

क्यान्सरले उनलाई बुझायो - "स्तन, कपाल वा छालाको रङले मानिसलाई सुन्दर बनाउने होइन रहेछ। उसमा आत्मबल र सकारात्मक ऊर्जा मिसिनु पर्छ।"

"मेरो आत्मबल, अठोट र ऊर्जा नै सबैभन्दा ठुलो सौन्दर्य हो। सबैभन्दा महत्त्वपूर्ण सन्देश हो," उनी भन्छिन्।

डा. प्रजापति क्यान्सरसँगै बिरामीमा कपाल पातलो र घुम्रिएको पलाउने, महिनावारी तलमाथि हुने, थकान र कमजोरी हुने, अधिकांशको एउटा अथवा दुई वटै स्तन काटेर फाल्नु पर्नेजस्ता शारीरिक परिवर्तन हुने बताउँछन्।

बिरामीमा डर, तनाव, चिन्ताजस्ता मानसिक परिवर्तन देखिनुलाई उनी स्वाभाविक मान्छन्।

"क्यान्सर भन्ने बित्तिकै प्राणघातक रोग हो भन्ने बुझाइका कारण पनि मनोसामाजिक परिवर्तनहरू देखिन्छन्। ती परिवर्तनसँग सामना गर्ने उचित तरिका नै औषधि उपचार र इच्छाशक्ति हो," डा. प्रजापति भन्छन्।

"बिरामीलाई बिचरा महसुस गराउने कि सामान्य दैनिकीमा फर्कन मद्दत गर्ने भन्ने कुरा वरपरको वातावरण र व्यवहारमा भर पर्छ।"

स्तन क्यान्सर भएका बिरामीहरू पूर्ण स्वस्थ भएर जीवन यापन गर्न सक्ने भएकाले परिवार, साथीभाइ र आफन्तबाट कुशल मनोसामाजिक साथ र सहयोग दिन आवश्यक रहेको प्रस्ट्याए।

"रोग समयमा पहिचान हुनु सबैभन्दा महत्त्वपूर्ण पाटो हो। तर बिरामीहरू शङ्का लागे पनि उपचारका लागि ढिला आउनु हुन्छ जसले गर्दा समस्या जटिल बन्न सक्ने सम्भावना रहन्छ," डा. प्रजापतिले भने।

मीना भट्टराई स्वास्थ्यकर्मी हुन्। स्तन क्यान्सरविरुद्ध उपचार गराइरहेकी उनलाई आफू अस्पताल जान ढिला हुनुको थकथकी रहेछ।

कोरोनाभाइरसको महामारी सुरु हुँदा उनी रुपन्देहीको एक स्वास्थ्य चौकीमा सहायक स्वास्थ्यकर्मीको रूपमा कार्यरत थिइन्। लकडाउन सुरु भएसँगै उनलाई आफ्नो दाहिने स्तनमा गिर्खा महसुस भयो। सङ्क्रमणको जोखिम उच्च थियो त्यसैले अस्पताल जान डराइन्। जब गइन् तब उनमा दोस्रो चरणको क्यान्सर पुष्टि भयो।

"अस्पताल पुग्न ढिला हुनुले रोग पहिचान गर्न पनि ढिला भयो," भट्टराई सुनाउँछिन्।

"शङ्का लाग्न साथ गएको भए पहिलो चरणमै पत्ता लाग्न सक्थ्यो। उपचार केही सहज हुन्थ्यो होला।"

उनको स्तन क्यान्सरको शल्यक्रिया भएको एक वर्ष पनि पूरा भएको छैन। उपचारको चरणमा केही अप्ठ्याराहरू भोग्नु परे पनि पुनः सक्रिय कर्मचारीका रूपमा कार्यालय धाउन थालिसकिन्। हाल उनी स्वास्थ्य विभागमा काजमा खटिएकी छिन्।

"मलाई किमो थेरापीले गलाउन खोज्दा समेत आत्मबलले जित्यो तर समाज र सोचसँग लड्न चाहिँ थोरै अप्ठ्यारो हुँदो रहेछ," उनले तीतो अनुभवको सङ्केत गरिन्।

किमो र रेडियो थेरापीका लागि भट्टराई काठमाण्डूमा नै बस्न पर्ने भयो। सुरुमा त चिनजानका एक जनाले आफ्नो घरमा कोठा दिने वचन दिएका रहेछन्। पछि अचानक ठाउँ दिन नसक्ने बताए तर कारण खुलाएनन्।

"चिनजानको सानो समूहमा मलाई कोठा नदिनुको कारण एक कान दुई कान मैदान भइहाल्यो। 'क्यान्सर भएको मान्छेलाई राख्दा भोलि केही समस्या आइपरे कसले व्यहोर्छ?' भन्ने चिन्ता परेछ उहाँहरूलाई। जे होस् रोगले पीडा मात्र होइन, मान्छे पनि चिनायो," उनले सुनाइन्।

अहिले उनलाई लाग्छ - "बाँच्न पाउनु सबैभन्दा ठूलो अवसर हो।"

अक्टोबर महिनालाई विश्वभर 'स्तन क्यान्सर जनचेतना महिना'को रूपमा मनाइन्छ।

महिलासँग सम्बन्धित शारीरिक समस्या खुलेर कुरा नहुने नेपाली समाजमा यी पात्रहरू कथा र आवाज बोकेर सचेतनाका लागि बाहिर आएका छन्।

स्तन क्यान्सर जितेका यी प्रतिनिधि पात्रहरू समस्या महसुस हुनासाथ तदारुकता देखाउनु पर्नेमा सहमत देखिन्छन्।

भट्टराई भन्छिन्, "स्तन पनि शरीरको अरू अङ्ग जस्तै त हो। स्तनमा समस्या देखिँदा लजाउनु वा नखुल्नुले घाटा हुनसक्छ।"

"समयमा उपचार गर्न सके जीवनका फरक आयाम देख्न पाइन्छ।"