तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस: अमेरिकाद्वारा देशबाहिर थप ५० करोड खोप बाँड्ने बाचा
अमेरिकाले अर्को वर्षबाट थप ५० करोड फाइजर खोप विकासशील मुलुकहरूलाई बाँड्ने जनाएको छ।
संयुक्त राष्ट्रसङ्गको महासभाको समय पारेर आयोजना गरिएको एउटा भर्चुअल कोभिड-१९ सम्मेलनमा राष्ट्रपति जो बाइडनले अमेरिकालाई खोप शक्ति बनाउने बाचा गरे।
त्यस्तो थप मात्रा खोपको गणना हुँदा अमेरिकी खोप सहायताको बाचा १ अर्ब नाघ्नेछ।
यसअघि राष्ट्रपति बाइडनले ५८ करोड मात्रा खोप दान दिने बाचा गरेकामा वासिङ्टनले अहिलेसम्म १६ करोड खोप देशबाहिर बाँडिसकेको छ।
विश्वलाई कति खोप चाहिन्छ?
विज्ञहरूका अनुसार विश्वको ७० प्रतिसत जनसङ्ख्यालाई खोप दिनका लागि ११ अर्ब मात्रा खोप आवश्यक पर्नेछ।
विश्व स्वास्थ्य सङ्गठनले सन् २०२१ भित्रै हरेक देशमा कम्तीमा ४० प्रतिसतले खोप लगाउने लक्ष्य राखेको छ।
तर त्यस्तो लक्ष्य भेटिने सम्भावना देखिंदैन।
बाइडनले खोप वितरणका व्यवस्थापकिय चुनौतीलाई सम्बोधन गर्न समेत थप रकमको घोषणा गरेका छन्।
असमान वितरण
धेरै उच्च आय भएका देशहरूले आफ्ना आधाभन्दा धेरै जनसङ्ख्यालाई कम्तीमा एक मात्रा खोप दिएको अक्सफर्ड विश्वविद्यालयको तथ्याङ्कले देखाउँछ।
जबकी न्यून आय भएका देशमा २ प्रतिसतले मात्र पहिलो मात्रा खोप लिन सकेका छन्।
कयौँ अध्ययनहरूले अझै धनी देशहरूले चाहिनेभन्दा धेरै खोप सञ्चय गरेको र तिमध्ये उच्च सङ्ख्या काम नलाग्ने भएर छिट्टै फ्याकिनुपर्ने बताइएका बेला ह्वाइटहाउसले त्यस्तो सम्मेलन आयोजना गरेको हो।
जुन महिनामा जी-सेभेन सदस्य राष्ट्रहरू क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, यूके र अमेरिकाले अर्को वर्ष गरिब देशहरूका लागि १ अर्ब मात्रा खोप दान गर्ने बाचा गरेका थिए।