ओकस: त्रिदेशीय सम्झौताका कारण उत्पन्न विवादबीच फ्रान्सद्वारा यूकेसँगको रक्षावार्ता रद्द

ब्रिटेन, अमेरिका र अस्ट्रेलियाबीचको एउटा नयाँ सुरक्षा सम्झौतालाई लिएर सिर्जना भएको विवादका माझ फ्रान्सका रक्षामन्त्रीले ब्रिटिश समकक्षीसँगको एउटा वार्ता रद्द गरेका छन्।

अस्ट्रेलियाले पनडुब्बी बनाउने विषयमा फ्रान्ससँगको सम्झौताबाट पछि हटेर ओकस भनिने एउटा सम्झौतामा हस्ताक्षर गरेपछि प्यारिस क्रुद्ध बनेको छ।

यूकेका प्रधानमन्त्री बोरिस जोनसनले फ्रान्सले उक्त सम्झौताका कारण कुनै चिन्ता व्यक्त गर्नुनपर्ने बताएका छन्।

तर फ्रान्सेली मन्त्री फ्लोरेन्स पार्लीको यूकेका रक्षामन्त्री बेन वालेससँग यसैसाता लण्डनमा तय गरिएको बैठक रद्द गरिएको छ।

दुईदिने उक्त वार्ताको सहअध्यक्षता गर्ने भनिएका फ्रान्सका लागि ब्रिटेनका एकजना पूर्वराजदूत लर्ड रिकेट्सले 'बैठक सारिएको' बताएका छन्।

'निकै मैत्रीपूर्ण सम्बन्ध'

गत साता गरिएको उक्त ओकस सम्झौतालाई साउथ चाइना सीमा चीनलाई चुनौती दिने कदमका रूपमा हेरिएको छ।

त्यस सहकार्यले सन् २०१६ मा अस्ट्रेलियाले फ्रान्ससँग १२ वटा परम्परागत पनडुब्बी बनाउन गरेको ३७ अर्ब अमेरिकी डलर बराबरको सम्झौता अन्त्य गर्नेछ।

फ्रेन्च विदेशमन्त्री जाँ यिभ ल द्रियाँले त्यस कदमलाई 'पिठयूँमा छुरा रोपिएको' र त्यो 'साझेदार र गठबन्धनबीचको अक्षम्य व्यवहार' भएको बताएका छन्।

गठबन्धनभित्र अनपेक्षित कदमका रूपमा फ्रेन्च राष्ट्रपति एमानुएल माक्रोँले वाशिङ्टन र क्यानबेराबाट आफ्ना राजदूतहरू फिर्ता बोलाएका थिए।

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन जानेक्रममा हवाईजहाजमा बोलेका जोनसनले ब्रिटेन र फ्रान्सबीचको सम्बन्धलाई 'बलियो जग भएको' बताए।

प्रधानमन्त्री जोनसनले दुई देशबीच 'निकै राम्रो सम्बन्ध' भएको बताउँदै त्यसलाई 'उच्च महत्त्व' का साथ हेरिएको बताए।

"ओकस शून्यतामा अन्त्य हुने, कसैलाई एक्ल्याउने (सम्झौता) होइन। यो त्यस्तो केही होइन जसबारे कोही वा अझ खासगरी हाम्रा फ्रान्सेली साथीहरूले चिन्ता मान्नु परोस्।"

अस्ट्रेलियाद्वारा बचाउ

यसैबीच अस्ट्रेलियाले ओकस सम्झौताका लागि फ्रान्ससँगको सम्झौता तोड्ने कदमको बचाउ गरेको छ।

प्रधानमन्त्री स्कट मोरिसनले अस्ट्रेलियाले झुटो बोलेको भनिएका आरोपको खण्डन गर्दै ऊ सम्झौता तोड्ने तयारी गरिराखेको फ्रान्सले थाहा पाउनुपर्थ्यो भनेका छन्।

मोरिसनले आइतवार भनेका थिए, "अन्तत: यो अस्ट्रेलियाली करदाताको ठूलो रकम खर्चिएर बनाइने पनडुब्बीहरूले हामीले गर्न खोजेका काम गर्न सक्छन् कि सक्दैनन् भन्ने हो। र उपलब्ध उच्चतम् जासुसी सूचना र रक्षा सुझावका भरमा गरिएका हाम्रा रणनीतिक समीक्षाले त्यो सकिँदैन भन्ने देखियो।"

यो सम्झौताको अर्थ अस्ट्रेलिया पनि परमाणु ऊर्जाबाट सञ्चालित पनडुब्बी राख्ने सातौँ देश बन्नु हुनेछ।

यस सम्झौताले साझेदारहरूबीच साइबर क्षमता, आर्टिफिसिअल इन्टलिजेन्स र समुद्रमुनिका अन्य प्रविधि साझेदार गर्ने दिनेछ।

तर यसलाई चीनले आलोचना गर्दै तीनवटा शक्तिहरूमा 'शीतयुद्धको मानसिकता' रहेको जनाएको छ।

र सोमवार धेरैले चासोपूर्वक हेरेको आणविक हतियार र क्षेप्यास्त्र कार्यक्रम रहेको उत्तर कोरियाले यस सम्झौताले 'आणविक अस्त्र प्रतिस्पर्धा' निम्त्याउने जनाएको छ।

त्यहाँको सरकारी सञ्चारमाध्यम केसीएनएले विदेश मन्त्रालयका अधिकारीले उद्धृत गर्दै लेखेको छ, "यी निकै अनावश्यक र खतरनाक कामहरू हुन् जसले एसिया-प्रशान्त क्षेत्रमा रहेको रणनीतिक सन्तुलनलाई खलबल्याउनेछ।"