अफगानिस्तान: तालिबान शासनको एक महिनामा जनजीवन कस्तो छ

मजर ए शरिफ

अफगानिस्तानको उज्बेकिस्तान सीमामा एउटा कार्गो ट्रेन हालै घोषणा गरिएको 'इस्लामिक इमिरात'मा प्रवेश गर्छ। उज्बेक झण्डा नजिकै तालिबानको सेतो र कालो झण्डा फहराइरहेको छ। केही व्यापारीहरूले तालिबान सत्तामा फर्केको कुराको स्वागत गरेका छन्। गहुँ बोकिरहेको ट्रकका चालकले मलाई भने, "पहिले प्रहरी 'चेकपोइन्ट'हरूमा घुस खुवाउनुपर्थ्यो। अहिले त्यस्तो केही छैन। म काबुलसम्म एक पैसा नतिरी ट्रक चलाउन पाउँछु।"

तालिबानले अफगानिस्तानमा नियन्त्रण जमाएको ठिक एक महिना पुगेको छ। अहिले त्यहाँ नगद अभाव छ र मुलुकले ठूलो आर्थिक सङ्कट भोगिरहेको छ।

व्यावसायिक समुदायका एक श्रोतले अफगानी आयातकर्ताहरूले रकम तिर्न नसकेकाले व्यापारको तह निकै खस्केको हामीलाई बताएका छन्।

हेरातन बन्दरगाहमा तालिबानी भन्सार प्रमुख मौलवी साइदले व्यापार प्रवर्द्धन गर्न कर कम गर्न लागेको र धनी व्यापारीलाई देश फर्कन प्रोत्साहन गर्ने जनाएका छन्।

उनी भन्छन्, "त्यसले रोजगारी सिर्जना गर्नेछ र पछि व्यवसायीहरूलाई पुरस्कृत पनि गरिनेछ।"

प्रार्थना गरिरहेका महिलाहरू
तस्बिरको क्याप्शन, प्रार्थना गरिरहेका महिलाहरू

मोटरबाट एक घण्टाको दूरीमा रहेको देशको चौथो शहर मजर-ए-शरिफमा बाहिरबाट हेर्दा स्थिति सामान्य जस्तो देखिन्छ तर धेरैजना आर्थिक समस्या झेलिरहेका छन्।

म यहाँको निकै मेहनत गरेर बनाइएको निलो रङको मस्जिद पुगेँ। तालिबानले नियन्त्रणमा लिने बित्तिकै आइपुगेको थिएँ त्यस बेला युवा युवतीहरू सेल्फि लिइरहेका थिए।

सडक छेउ सामान बेचिरहेका मानिसहरू
तस्बिरको क्याप्शन, सडक छेउ सामान बेचिरहेका मानिसहरू

अहिले तालिबानले महिला र पुरुषका लागि मस्जिद आउने समय फरक बनाइदिएको छ।

महिलाहरू बिहान जान पाउँछन् र पुरुषहरू त्यसपछिको जुनसुकै समयमा।

हामी गएका बेला त्यहाँ निकै महिलाहरू यता उता गरिरहेका थिए। एक महिलाले डराइ डराइ भनिन्, "यहाँ ठिकै छ, शायद मानिसहरूलाई नयाँ व्यवस्थामा बानी पर्न समय लाग्छ।"

मैले एक जना स्थानीय तालिबान नेता हजी हकमतलाई भेटेँ। आलोचकहरूले उनलाई त्यहाँको संस्कृति मासेको आरोप लगाएका छन्।

उनको जवाफ, "होइन, पश्चिमा प्रभाव यहाँ २० वर्षदेखि रहँदै आएको छ। अफगानिस्तानमाथिको नियन्त्रण एक विदेशी शक्तिबाट अर्कोमा ४० वर्षसम्म रह्यो। हामीले हाम्रो मूल्यमान्यता र संस्कार गुमाएका छौँ। हामी हाम्रो संस्कृति फर्काउन लागिपरेका छौँ।"

हेरातनमा लडाकुहरू
तस्बिरको क्याप्शन, हेरातन बन्दरगाहमा लडाकुहरू

उनले बुझेको इस्लाममा महिला र पुरुष एक ठाउँमा घुलमिल गर्न प्रतिबन्धित छ।

उनी तालिबानलाई जनताको समर्थन छ भन्नेबारे आश्वस्त छन्। तर उनी नजिकैकी एक महिलाले उनसँगै भएकी अर्की महिलालाई कानमा भनिरहेकी थिइन्, "यिनीहरू असल मान्छे होइनन्।"

ग्रामीण भेगमा तालिबानले भनेको इस्लामबारे त्यति धेरै प्रतिरोध नहुन सक्छ तर ठूला अफगान शहरहरू मानिसहरू उनीहरूप्रति सशङ्कित छन्।

हजी हकमतले वर्षौँको 'कुप्रचार'का कारण उनीहरूप्रति अविश्वास रहेको भन्छन्। तर आत्मघाती बम विस्फोट र शहरी क्षेत्रमा निशाना बनाएर गर्ने गरिएको हत्याका कारण पनि त्यस्तो वातावरण बनेको हो।

हामी मस्जिदबाट बाहिरिँदै गर्दा एउटा ठूलो रोमाञ्चित समूह सडक छेउमा थियो। हामी शहरको केन्द्रमा पुग्दा त्यहाँ गोली लागेका चारवटा शव राखिएका थिए। एउटा शवमाथि कागजको चिर्कटोमा मारिएका मानिसहरू अपहरणकारी रहेको र अरू अपराध गर्नेको पनि त्यस्तै हालत हुने सन्देश लेखिएको थियो।

मजर ए शरिफस्थित निलो मस्जिद
तस्बिरको क्याप्शन, मजर ए शरिफस्थित निलो मस्जिद

चर्को घाममा मृत शरीरको गन्धबीच मानिसहरू एकभन्दा अर्को राम्रो फोटो खिच्ने धुनमा थिए।

अफगानिस्तानका ठूला शहरमा हिंस्रक अपराध लामो समयदेखि प्रमुख समस्याका रूपमा रहँदै आएको छ।

एक जना व्यक्तिले "ती व्यक्तिहरू अपहरणकारी थिए भने त्यस्तो सजाय दिनु ठिकै हो किनभने त्यसले अरूलाई पाठ सिकाउँछ" भने।

तर शहरका कैयौँ मानिस सुरक्षित महसुस गर्दैनन्। कानुनकी विद्यार्थी फर्जानाले हामीलाई भनिन्, "हरेक पटक घर बाहिर निस्कँदा जब तालिबान देख्छु म डरले थरथर काँप्छु।"

उनी पढ्ने गरेको लगायतका निजी विश्वविद्यालयहरू खुला छन् तर सरकारी विश्वविद्यालयहरू बन्द छन्। नयाँ तालिबान कानुन अनुसार एउटै कक्षामा पढ्ने महिला र पुरुष विद्यार्थीहरूबीच पर्दा लगाएर पढाउनुपर्छ।

फर्जानाको प्राथमिकतामा त्यो पर्दैन। उनलाई चाहिँ तालिबानले महिलालाई काम गर्न दिँदैनन् भन्ने कुराले पिरोलेको छ जुन तालिबानले प्रतिबन्ध गरेको छ। अहिलेका लागि शिक्षक वा डाक्टर बाहेक अन्य पेशाका महिलाहरूलाई घरै बस्न भनिएको छ।

सकन्दर कर्मानी तालिबानका एक बरिष्ठ नेतासँग कुरा गर्दै
तस्बिरको क्याप्शन, हजी हकमत: "पश्चिमा प्रभाव गत बीस वर्षसम्म हाम्रो देशमा रह्यो... हामी हाम्रो संस्कृति पुन: जगाउँदै छौँ"

"अहिले त म निराश छु," फर्जाना भन्छिन्, "तर भविष्यका लागि आशावादी बन्न म हर प्रयत्न गरिरहेकी छु।"

यो भन्दा अगाडि तालिबानहरू शक्तिमा आउँदा उनीहरूले अहिलेको भन्दा कडा प्रतिबन्ध लगाएका थिए।

उदाहरणका लागि त्यस बेला महिलाहरूलाई पुरुष सदस्यको साथ बिना घर बाहिर निस्कन मनाही थियो। अफगान शहरहरूको अहिलेको ठूलो त्रास नै अन्तत: महिलाहरूका लागि त्यस्तै व्यवस्था गरिनेछ कि भन्ने रहेको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, तालिबान फेरि आएपछि अफगान महिलाहरू के भन्छन्

अहिले तालिबानले देशमाथि पूर्ण नियन्त्रण जमाएका छन् तर उनीहरूले धेरै बासिन्दाको मन जित्न बाँकी छ।

हजी हकमत स्विकार्छन्, "देशमाथि सैन्य नियन्त्रण जमाउन गाह्रो काम थियो अब विधिको शासन कार्यान्वयन र त्यसको संरक्षण झन् मुस्किल छ।"