तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अफगानिस्तान युद्ध: अनिश्चयको भुमरीमा दशौँ लाख मानिस
अफगानिस्तानमा आफ्नो २० वर्ष लामो सैन्य उपस्थिति समाप्त भएको अमेरिकाले घोषणा गरेको छ।
तालिबान विद्रोहीहरूले खुसीयाली मनाइरहेका छन् र देश पूर्ण स्वतन्त्र भएको बताइरहेका छन्।
अन्तिम सैन्य उद्धार विमान काबुल विमानस्थलबाट बाहिरिएसँगै त्यहाँको आकाशलाई पुन: अनिश्चयका काला बादलले ढाकेको छ।
अनिश्चयको भुमरी
बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लिज डुसेटका अनुसार गत ४० वर्षका विभिन्न यद्ध बेहोरिसकेका अफगानहरूका सामु अहिले जति अनिश्चयपूर्ण सङ्क्रमणकाल पहिले कहिल्यै थिएन।
यो अनिश्चय अँध्यारोले ढाकिएको अनि त्रासपूर्ण रहेको उनले बताइन्।
आगामी दिनमा के होला भन्ने केही ठेगान छैन।
"गत केही दिनयता देश छाडेका हजारौँ अफगानहरूपनि अनिश्चय र त्रासमा छन्। फेरि स्वदेश आफूहरूले हेर्न पाउने हो कि होइन भन्ने उनीहरूलाई लागेको छ," डुसेटले बताइन्।
देशभित्र रहेका तीन करोड ८० लाख अफगानका सामु अब तालिबानले कस्तो शासनशैली अपनाउला भन्ने प्रश्न टड्कारो भएको छ।
सन् १९९० ताकाको उनीहरूको अघिल्लो शासनकालमा जस्तै कडा नियम तथा बर्बर सजाय पुनर्स्थापित होलान् कि भन्ने डर पनि छ।
अफगानिस्तानका तालिबानको नियन्त्रणमा रहेका खासगरि ग्रामीण क्षेत्रहरूमा उनीहरूले गर्दै आएको शासनशैली हेर्दा तालिबान परिवर्तित नभएको धेरैले ठानेका छन्।
लिज डुसेट भन्छिन्, "यो एकदमै परम्परागत समाज हो। पश्चिमा गठबन्धन फौजले शिक्षालाई प्रेरित गरेको हुँदा महिला तथा बालिकाहरूले थोरै स्वतन्त्र हुन पाएका थिए। अहिलेको सबभन्दा धेरै नोक्सानी त ती किशोरीहरूलाई पर्नेछ जो गत २० वर्षमा हुर्किए र जसलाई अब पहिले वाचा गरिएजस्तो जीवन प्राप्त नहुने त्रास बढेको छ।"
"भोलि यो लामो युद्धको नयाँ अध्याय सुरु हुनेछ। अमेरिकाको सबभन्दा लामो युद्ध त सकियो, तर अफगानहरूका निम्ति लडाइँ जारी नै रहनेछ।"