तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अफगानिस्तानः काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाहिर आत्मघाती बम विस्फोट
अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कर्जाइ अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वारबाहिर एउटा आत्मघाती बम विस्फोट गराइएको पुष्टि भएको छ।
पेन्टागनका प्रवक्ता जोन किर्बीले विस्फोटमा भएका हताहतीको यकिन सङ्ख्या स्पष्ट हुन नसकेको बताएका छन्।
तर हताहत हुनेहरूमा आफ्ना नागरिक पनि परेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ।
काबुलस्थित बीबीसी संवाददाता सकन्दर केर्मानीले हताहत हुनेहरूको सङ्ख्या निकै हुन सक्ने बताएका छन्।
ब्रिटिश रक्षा मन्त्रालय स्रोतले विस्फोटमा यूकेको कोही सैनिक परेको खबर आफूहरूले नपाएको जनाएको छ।
एक तालिबान अधिकारीले भने कम्तीमा ११ जनाको मृत्यु भएको बताएका छन्। तर त्यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ।
अमेरिकी उद्धार
विस्फोटमा थुप्रै तालिबान सुरक्षागार्डहरू पनि घाइते भएको उनले बीबीसीलाई बताए।
विमानस्थलबाहिर अझै गोली चलेको आवाज सुन्न सकिने केही रिपोर्टहरूमा जनाइएको छ।
हमला हुन सक्ने भन्दै क्यानडासहित कैयौँ युरोपेली मुलुकले काबुल विमानस्थलबाट गर्दै आएको उद्धारकार्य रोकेकै दिन विस्फोटको घटना भएको छ।
पश्चिमा मुलुकहरूले काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा आतङ्कवादी हमला हुन सक्ने भन्दै सचेत गराएका छन्।
उद्धारको आशामा विमानस्थलमा अझै हजारौँ मानिस कुरिरहेका छन्।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका अनुसार बुधवार करिब साढे १३ हजार मानिसलाई उद्धार गरिएको छ।
योसँगै अमेरिका र उसका साझेदारहरूले अगस्ट १४ तारिखयता उद्धार गरेका मानिसहरूको सङ्ख्या ९५ हजार सात सय पुगेको छ।