अफगानिस्तान द्वन्द्व: काबुल विमानस्थलको घातक अस्तव्यस्तताबारे एक प्रत्यक्षदर्शीको भोगाइ

काबुल विमानस्थलको धावनमार्गमा यताउता गरिरहेका र विमान चढ्न कोसिस गरिरहेका मानिसहरूको भिडको भिडिओले विश्वलाई स्तब्ध बनाएको छ।

बीबीसीले उक्त घटनाका एक प्रत्यक्षदर्शीसँग कुराकानी गरेको छ।

चालीस वर्षमाथिका ती व्यक्ति पनि देश छाड्न आतुर अफगान नागरिक हुन्।

सोमवार विमानस्थलमा गोली चलेको र मानिसहरू मारिएको खबर आएको छ।

अमेरिकी रक्षा मन्त्रालयले अमेरिकी सेनाको कदमबाट त्यहाँ दुई हतियारधारी मारिएको पुष्टि गरेको छ।

विमानस्थलमा कम्तीमा पाँच जनाको मृत्यु भएको ठानिएको छ।

अमेरिकी सहायतामा सञ्चालित विकास परियोजनामा काम गरेका ती प्रत्यक्षदर्शीले बीबीसीलाई उनले सोमवार के देखे भन्ने कुरा बताएका छन्:

मसँग काम गर्ने एकजना अमेरिकीले मलाई "विमानस्थल जानू" भन्दै मोबाइलमा सन्देश पठाए।

अफगानिस्तानबाट बाहिरिन आवश्यक विशेष आप्रवासन भिसा (एसआईभी) त्यहाँ पाइन सक्छ भन्दै उनले त्यस्तो सन्देश पठाएका थिए।

अमेरिकीसँगै काम गर्ने अन्य दुईजना साथीहरूका साथमा म विमानस्थल गएँ।

अमेरिकीहरूले अफगानहरूलाई एसआईभी दिनका लागि अमेरिकी दूतावासलाई सिफारिस गर्न सक्छन्।

त्यहाँ पुग्दा मैले त्यहाँ त एउटा विपत्तिको अवस्था देखेँ। यो कुनै चलचित्रको दृश्यजस्तो थियो।

विमानस्थलको प्रवेशद्वारबाहिर हजारौँ सम्भवत: १० हजार मानिसहरू थिए।

त्यहाँ बाढीजस्तै मानिसको भिड एकातिरबाट अर्कोतिर घुमिरहेको थियो। अमेरिकी फौज विमानस्थलभित्र थियो भने प्रवेशद्वारबाहिर तालिबान थियो।

दुवै पक्षले गोली प्रहार गरे। तर उनीहरूले अघि बढिरहेका मानिसहरूलाई रोक्न सकेनन्। करिब चार वा पाँच मानिसहरू मारिए।

मैले जे देखेँ त्यो मैले मेरो जीवनमा कहिल्यै पनि देख्छु भनेर ठानेको थिइनँ।

मैले झन्डै ३० जनालाई उनीहरू किन आएका हुन् भनेर सोधेँ।

मैले उनीहरूसँग सुटकेस छ भनेर सोध्दा उनीहरूसँग सुटकेस थिएन।

ती मानिसहरूका अनुसार अमेरिकी सेनाले कुनै पनि सर्तबिनै मानिसहरूलाई उद्धार गरिरहेको उनीहरूले सुनेका थिए। त्यसका लागि आफ्नो राहदानी वा परिचयपत्र मात्र देखाउनुपर्छ भन्ने उनीहरूले ठानेका थिए।

मैले उनीहरूलाई यो सम्भव नभएको बताएँ। मलाई लाग्यो यो एउटा खतरनाक योजना थियो। उनीहरू घर फर्किनुपर्छ भन्ने मलाई लाग्यो।

मानिसहरू तालिबानलाई देखेर स्तब्ध भएका थिए।

कतिपयले पहिले कहिल्यै पनि लामो दाह्री पालेका र बन्दुक बोकेका त्यस्ता मानिसहरू देखेका थिएनन्।

हामी घर फर्कियौँ।

बिहानै विमानस्थल जाने हाम्रो विचार एकदमै जोखिमयुक्त थियो।

त्यहाँ अमेरिकीले सहयोग गर्नेछन् र हामी उड्न पाउनेछौँ भन्ने हामीलाई लागेको थियो।

म जान पाइएन भनेर निराश भएको छैन। हामीलाई आगामी दिनमा यहाँबाट बाहिर निस्किन सफल हुनेछौँ भनिएको छ।

अहिलेको अवस्थामा हामी डराएका छौँ। हामी सुरक्षित छैनौँ।

तर जब मैले विमानस्थलमा मानिसहरूको आतुरी देखेँ, म त्यहाँ डराएकोभन्दा पनि भिडले किचिएको थिएँ।

त्यहाँ अराजकता थियो।