अफगानिस्तान द्वन्द्व: अफगान सैन्य विमान उज्बेकिस्तानमा 'खसालियो'

तस्बिर स्रोत, Reuters
उज्बेकिस्तानको रक्षा मन्त्रालयले आफ्नो सीमा उल्लङ्घन गरेको एउटा अफगान सैन्य विमानलाई हवाई प्रतिरक्षा बलले खसालिदिएको जनाएको छ।
मन्त्रालयका प्रवक्ताका अनुसार उक्त विमानले गैरकानुनी रूपमा उक्त मध्यएशियाली राष्ट्रको हवाई क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेको थियो।
उक्त विमानमा कति जना सवार थिए वा कोही जीवित छन् कि छैनन् भन्ने कुरा उनले खुलाएनन्।
अफगानिस्तानको सीमामा रहेको दक्षिणी प्रान्त सुखन्दारियोका एक चिकित्सकले समाचारसंस्था एएफपीलाई अफगान सेनाको पोसाक लगाएका दुई बिरामी आइतवार साँझ भर्ना गरिएको बताएका छन्।
तीमध्ये एक जनासँग प्याराशुट रहेको र उनको हाड भाँच्चिएको जानकारी ती चिकित्सकले दिए।
आइतवार उज्बेकिस्तानका निकायहरूले सीमा पार गरेका कारण ८४ अफगान सैन्य अधिकारीलाई पक्राउ गरिएको जनाएका छन्।
अफगानिस्तानको राजधानी काबुल तालिबानले नियन्त्रणमा लिएसँगै त्यहाँ अस्थिरता बढेको बताइएको छ।
मुख्य सहरहरूमा आफ्नो नियन्त्रण कायम गरेपछि तालिबान लडाकुहरू आइतवार राजधानी काबुल प्रवेश गरेका थिए।
उनीहरूले सोही दिन राष्ट्रपति भवनलाई पनि आफ्नो नियन्त्रणमा लिएका थिए।
अफगान राष्ट्रपति अशरफ गनी तथा अन्य केही वरिष्ठ अधिकारीहरू देश छोडेर अन्यत्र पलायन भएपछि त्यहाँ शान्तिपूर्ण रूपमा शक्ति हस्तान्तरण गर्ने प्रयास भइरहेको छ।
अफगानिस्तान छोड्ने प्रयास
अहिले काबुलका सडकहरूमा तालिबान लडाकुहरू यत्रतत्र देखिन्छन् भने ठूलो सङ्ख्यामा मानिसहरू विदेश जाने प्रयासमा विमानस्थलमा भेला भएका छन्।
साठीभन्दा बढी देशले संयुक्त विज्ञप्ति जारी गरेर मानिसहरूलाई अफगानिस्तानबाहिर जान दिन तालिबानलाई आह्वान गरेका छन्।
सोमवार बिहान विमानस्थलमा अनियन्त्रित भिडलाई तितरबितर पार्न अमेरिकी सेनाले हावामा गोली चलाउँदा केही व्यक्तिको मृत्यु भएको प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बताएका छन्।
दौडिएर विमान चढ्न खोज्ने मानिसहरूको "अनियन्त्रित" भिडलाई रोक्न सैनिकहरूले गोली चलाउनुपरेको एक अधिकारीले रोएटर्सलाई बताएका छन्।

तालिबान नेतृत्वले आफ्ना लडाकुहरूलाई अफगान नागरिकहरूलाई केही नगर्न फेरि निर्देशन दिएको छ।
आइतवार दोहास्थित तालिबान वार्ता टोलीका एक सदस्यले बीबीसीसँग कुरा गर्दै अफगान जनतासँग "प्रतिशोध" नलिने बताएका थिए।
"हामी अफगान जनता विशेषतः काबुलवासीलाई उनीहरूको सम्पत्ति र जीवन सुरक्षित छ, कसैसँग पनि प्रतिशोध लिइनेछैन भनेर विश्वस्त पार्न चाहन्छौँ," बीबीसीका याल्दा हकिमसँग सुहैल शाहीनले भनेका थिए।
तर धेरै अफगानहरूमा सन् १९९० को दशकको जस्तो निर्दयी शासन फर्किन्छ कि भन्ने डर देखिन्छ।
पहिला शासनमा हुँदा तालिबानले सार्वजनिक रूपमा मृत्युदण्ड दिने गरेको थियो भने बालिकाहरूलाई विद्यालय जान प्रतिबन्ध लगाएको थियो।
कसरी होला सत्ता हस्तान्तरण
पूर्वराष्ट्रपति हामिद कार्जाईले तालिबानले देशमा शान्ति स्थापना गर्ने विषयमा कुरा गर्न आफू तालिबानको सम्पर्क रहेको बताएका छन्।
कार्जाई तालिबान सत्ताच्युत भएपछि सन् २००१ देखि २०१४ सम्म अफगानिस्तानका नेता थिए।

तस्बिर स्रोत, Reuters
तालिबानलाई अहिले शान्तिपूर्वक शक्ति हस्तान्तरण गर्न कार्यरत एउटा तीनसदस्यीय समितिमा आफू पनि भएको उनले बताएका छन्।
राजनीतिमा प्रवेश गरेका पूर्वयुद्धनाइके गुल्बुद्दिन हेक्मत्यार र भूतपूर्व विदेशमन्त्री अब्दुल्लाह अब्दुल्लाह पनि छन्।
बीबीसीसँगको अन्तर्वार्तामा कार्जाईले उक्त समिति तालिबान नेतृत्वको सम्पर्कमा रहेको र उनीहरूसँग समन्वय गर्ने बताएका छन्।
"सबै अफगान जनताको जीवन र सुरक्षा अहिले महत्त्वपूर्ण कुरा हो अनि हाम्रो उद्देश्य त्यो स्थापना गर्नु हो। तालिबानले मलाई उनीहरूले सहरको सुरक्षामा केन्द्रित हुन मानिसहरू नियुक्त गरको बताएका छन्...," उनले भने।
"डा. अशरफ गनी (राष्ट्रपति) ले आफ्नो दायित्व परित्याग गरेर गएका छन्। उनी परिदृश्यमा छैनन्। यो रिक्ततालाई भर्न वैधानिकता फेरि कायम गर्नुपर्छ। केवल कुनै वैधानिक निकायमार्फत् काबुल र पूरै देशको सुरक्षा उपयुक्त पात्रलाई दिन सकिन्छ," उनले भने।
"अहिले तालिबानको वर्चस्व छ र यो बलियो रहेको तथा अफगानिस्तानको राम्रोका लागि भएको मेरो अपेक्षा छ।"
तालिबानको काबुल यात्राः यस्तो छ समयक्रम
- एप्रिल: अमेरिकी राष्ट्रपतिद्वारा अफगानिस्तानबाट आफ्नो सेना बाहिरिने घोषणा। मे महिनाबाट सुरु भएर सेप्टेम्बरसम्ममा सकिने लक्ष्य राखिएको उक्त प्रक्रियाले अमेरिकाको सबैभन्दा लामो युद्ध समापन गराउने बताइएको थियो
- मे: तालिबानद्वारा दक्षिणी हेल्मन्द प्रान्तमा भीषण आक्रमण। अन्य प्रान्तमा पनि आक्रमणको सुरुवात
- जुन: तालिबानले ३७० मध्ये ५० भन्दा बढी जिल्ला नियन्त्रणमा लिएको अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूतको भनाइ। उत्तरी भागमा तालिबानको शृङ्लाबद्ध आक्रमण
- २१ जुलाई: एक वरिष्ठ अमेरिकी जेनरलका अनुसार लगभग आधा जिल्लाहरू तालिबानको नियन्त्रणमा
- ६ अगस्ट: लडाकु समूहद्वारा जारान्ज कब्जा, तालिबानको पकडमा गएको पहिलो प्रान्तीय राजधानी

- १३ अगस्ट: दोस्रो ठूलो सहर कान्दहारसहित अन्य चार प्रान्तीय राजधानी तालिबानको नियन्त्रणमा
- १४ अगस्ट: उत्तरी सहर मजार-ए-शरिफमाथि तालिबानको कब्जा
- १५ अगस्ट: युद्धबिनै प्रमुख पूर्वी सहर जलालाबाद तालिबानको कब्जामा, राष्ट्रपति अशरफ गनी विदेश पलायन, काबुलस्थित राष्ट्रपति भवनमा तालिबान प्रवेश

के हो तालिबान?
अफगानिस्तानबाट सोभियत सेना फर्किएपछि सन् १९९० को दशकमा पूर्वार्धमा एउटा कट्टरपन्थी धार्मिक अभियान सुरु भयो।

तस्बिर स्रोत, AFP
अधिकांश पाश्तुन समुदायका व्यक्तिहरू संलग्न भएको तालिबान अभियानबारे सन् १९९४ मा धेरैले थाहा पाए।
साउदी अरबबाट आएको आर्थिक सहयोगमा सञ्चालित कट्टरपन्थी सुन्नी इस्लामबारे पढाइने विद्यालयहरूबाट सो अभियान सुरु भएको विश्वास धेरैको छ।
पाश्तुनहरूको बाहुल्य भएको पाकिस्तान र अफगानिस्तानका क्षेत्रहरूमा शान्ति र सुरक्षा स्थापित गर्ने वाचासहित आफ्नै इस्लामिक कानुन अर्थात् शरिया कार्यान्वयन गर्ने तालिबानको उद्देश्य थियो।
तालिबानले दुवै देशमा हत्यारा र व्यभिचारीहरूलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिन थाल्यो। चोरी गरेको प्रमाणित भए अङ्गभङ्गको दण्ड दिइन्थ्यो।
तालिबानको प्रभाव भएको क्षेत्रमा पुरुषले दाह्री पाल्नै पर्ने र महिलाले पूरै शरीर छोपिनेगरी बुर्का लगाउनै पर्ने बनाइयो।
टीभी, चलचित्र र सङ्गीतमाथि प्रतिबन्ध लाग्यो। अनि १० वर्ष र त्यसभन्दा माथिका बालिकालाई विद्यालय जान दिइएन।

काबुलमा तालिबान शासन
दक्षिणपश्चिम अफगानिस्तानबाट सुरु भयो तालिबानले बिस्तारै आफ्नो प्रभाव विस्तार गर्यो।
सन् १९९५ को सेप्टेम्बर महिनामा तालिबानले इरानसँग सीमा जोडिएको हेरात प्रान्त आफ्नो नियन्त्रणमा लियो। त्यसको एक वर्षपछि देशको राजधानी काबुल तालिबानको नियन्त्रण पुग्यो।
राष्ट्रपति बुरानुद्दिन रब्बानीलाई हटाएर तालिबान देशको सत्तामा पुग्यो।
सन् १९९८ सम्ममा अफगानिस्तानको ९० प्रतिशत भूभागमा तालिबानको नियन्त्रणमा आइसकेको थियो।
सत्तामा पुगेको सो इस्लामिक कट्टरपन्थी समूहले सन् २००१ मा बामियानस्थित बुद्धका विशाल मूर्तिहरू भत्काइदिएको थियो।
तर न्यूयोर्कमा आक्रमण भएको एक महिनाभित्रै अक्टोबर ७, २००१ मा अमेरिकी नेतृत्वमा अफगानिस्तानमा सैन्य कारबाही सुरु भयो। डिसेम्बर महिनाको पहिलो हप्तामा तालिबान सत्ता धराशायी भयो।
तालिबान अभियान सुरु गराएको आरोप पाकिस्तानलाई लाग्ने गरेको छ। तर इस्लामाबादले भने त्यसको खण्डन गर्दै आएको छ।
तालिबान सन् १९९० को दशकको मध्यदेखि सन् २००१ सम्म अफगानिस्तानको सत्तामा रह्यो।
त्यस बेला साउदी अरब, यूएई र पाकिस्तान गरेर तीन देशले मात्र उसलाई औपचारिक मान्यता दिएका थिए।
दुई देशले तालिबानसँगको कूटनीतिक सम्बन्ध विच्छेद गर्दा पनि पाकिस्तानले भने पछिसम्म कायम राखेको थियो।











