अफगानिस्तान युद्ध: दोस्रो ठूलो सहर कान्दहारमा पनि तालिबानको नियन्त्रण

काबुल

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, हजारौँ मानिसहरू भागेर काबुल आइपुगेका छन्

तालिबानले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दहार पनि नियन्त्रणमा लिएको छ।

उक्त सहर नियन्त्रणमा लिनु भनेको तालिबानका लागि निकै महत्त्वपूर्ण विजय र काबुलको सरकारका लागि ठूलो धक्का हो।

उक्त सहर कुनै बेला तालिबानको बलियो पकड भएको क्षेत्र थियो र यो अफगानिस्तानको प्रमुख व्यापारिक केन्द्र पनि हो।

अफगानिस्तानमा जारी लडाइँकाबीच तालिबानले बिहीवार थप मुख्य सहरहरू गज्नी र हेरातलाई आफ्नो नियन्त्रणमा लिएको थियो।

तालिबानले देशैभरि आफ्नो विस्तारलाई कायम राख्ने क्रममा त्यसलाई सबैभन्दा नाटकीय ढङ्गको श्रृङ्खलाबद्ध कब्जा मानिएको थियो।

यसैबीच विश्व शक्ति राष्ट्रहरूले चाहिँ सैन्य शक्तिद्वारा अफगानिस्तानमा स्थापना हुने सरकारलाई आफूहरूले मान्यता नदिने चेतावनी दिएका छन्।

अमेरिका र ब्रिटेनले आफ्ना दूतावासका कर्मचारी र नागरिकहरूलाई सुरक्षित रूपमा अफगानिस्तानबाट लैजान पुन: काबुलमा सैनिकहरू पठाउन लागेको बताएका छन्।

कान्दहारमा कब्जा

एकजना तालिबानका प्रवक्ताले "कान्दहार पूर्ण रूपमा जितिएको छ" भन्ने घोषणा गरेका छन् तर त्यसलाई अहिलेसम्म पुष्टि गर्न सकिएको छैन।

स्रोतहरूले दक्षिणी हेल्मन्ड प्रान्तको राजधानी लश्कर गाहलाई पनि तालिबानले नियन्त्रण गरेको बताएका छन्।

यद्यपि त्यसको पनि अहिलेसम्म स्वतन्त्र पुष्टि हुन सकेको छैन।

तालिबानले अहिले देशको उत्तरी क्षेत्रमध्ये धेरै स्थानमा नियन्त्रण गरिसकेको छ।

उसले हालसम्म देशको एक तिहाइ भू-भागमा आफ्नो नियन्त्रण कायम गरेको बताइएको छ।

गज्नीमा तालिबान

तस्बिर स्रोत, EPA

राजधानी काबुलतर्फ तालिबान अघि बढ्दै गर्दा व्यापक चिन्ताहरू व्यक्त भइरहेका छन्।

काबुलमा तालिबानले नियन्त्रण गरेका क्षेत्रबाट अहिले हजारौँ नागरिकहरू भागेर आएका छन्।

बीबीसीका दक्षिण एसिया सम्पादक अनबरसन इथिराजन भन्छन्, "तालिबानको विस्तारको गतिलाई देखेर अनुभवी सैन्य विश्लेषकहरूलाई पनि झड्का लागेको छ।"

कान्दहार तालिबानको आरम्भ भएको सहर हो र पहिले यो उसको सबैभन्दा बलियो पकड भएको क्षेत्र रहेको थियो।

उनीहरूले उक्त सहरको बाहिरी क्षेत्रमा हप्तौँ पहिले नियन्त्रण गरिसकेका थिए।

बुधवार तालिबान कान्दहारको केन्द्रीय जेलमा प्रवेश गरेको थियो।

त्यस्तै बिहीवार सामाजिक सञ्जालका पोस्टहरूमा तालिबान विद्रोहीहरू सहरका मुख्य केन्द्रहरूमा देखिएका थियो।

कान्दहारलाई रणनीतिक महत्त्वको मानिन्छ किनकी त्यहाँ अन्तर्राष्ट्रिय विमानस्थल छ। उक्त क्षेत्र देशको मुख्य व्यापारिक केन्द्र पनि हो।

अफगानिस्तान

रणनीतिक महत्त्वको सहरमा तालिबान

बिहीवार रणनीतिक रूपले महत्त्वपूर्ण गज्नीमा नियन्त्रण गरेपछि तालिबानलाई राजधानी काबुललाई नियन्त्रण गर्न बल पुग्ने ठानिएको थियो।

उसले तेस्रो ठूलो सहर हेरातलाई पनि कब्जामा लिइसकेको छ।

अमेरिकी नेतृत्त्वको विदेशी सेनाले २० वर्षको सैन्य अभियानपछि केही साताअघि अफगानिस्तान छाडेको थियो।

त्यसपछि तालिबानले त्यहाँ दैनिक जसो नयाँ क्षेत्रमा नियन्त्रण कायम गरिरहेको छ।

क्वाला-ए-नउ सहर पनि तालिबानको नियन्त्रणमा गएको छ।

White space

अमेरिकाले सेना पठाउने

यसैबीच अमेरिकाले काबुलस्थित आफ्नो दूतावासबाट कर्मचारीहरूलाई सुरक्षित रूपमा फिर्ता गर्नका लागि करिब तीन हजार सैनिकहरूलाई काबुल पठाउने भएको छ।

पेन्टागनका एकजना प्रवक्ताका अनुसार दुई दिनभित्र ती सैनिकहरू काबुलको अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ हुनेछन्।

अमेरिकी विदेश मन्त्रालयले जनाए अनुसार सुरक्षाका कारण काबुलमा 'मुख्य कूटनीतिक उपस्थिति' मात्र हुनेछ र त्यहाँका कर्मचारीको सङ्ख्या घटाइनेछ।

तर दूतावास बन्द नगर्ने उसले जनाएको छ।

ब्रिटेनले पनि आफ्ना दूतावासका कर्मचारी र नागरिकलाई सुरक्षित रूपमा बाहिर निकाल्न ६ सय सैनिकहरूलाई काबुल पठाउँदै छ।

यसबीच, दोहामा भएको एउटा वार्तापछि अमेरिका, रुस र चीनसहित विश्व शक्ति राष्ट्रहरूले सशस्त्र गतिविधिबाट काबुलको सत्तामा आउने कुनै पनि शक्तिलाई आफूहरूले मान्यता नदिने जनाएका छन्।

उनीहरूले अफगानिस्तानमा शान्ति प्रक्रियालाई तीव्र बनाउन आह्वान गरेका छन्।

अर्को छुट्टै वक्तव्यमा युरोपेली संघका विदेश नीति प्रमुखले यदि तालिबानले अफगानिस्तानको शक्ति हत्याए ऊ एक्लिने बताएका छन्।