कोभिड खोपः कोभिशील्डको 'पहिलो मात्रा नेपालमा, दोस्रो मात्रा भारतबाट' - जटिलता आउन सक्ने चेतावनी

तस्बिर स्रोत, Reuters
- Author, उमाकान्त खनाल
- Role, झापा
नेपालमा कोभिड-१९ विरुद्ध कोभिशील्ड खोपको पहिलो मात्रा लगाएका तर दोस्रो मात्रा समयमा लगाउन नपाएका कतिपय मानिसले भारत गएर वा भारतबाट ल्याएर दोस्रो मात्रा लगाएको पाइएको छ।
खासगरी भारतसँग सीमा जोडिएका स्थानका त्यस्ता नागरिकले भारत नै गएर वा भारतबाट मगाएर कोभिशील्डको दोस्रो मात्रा लगाएका हुन्।
तर त्यो प्रवृत्तिबाट जटिलता आउन सक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरू बताउँछन्।
उनीहरूका अनुसार तथ्याङ्क राख्ने कुरामा समस्या आउने र खोप कतिको गुणस्तर छ भन्ने कुरामा पर्याप्त शङ्का गर्ने ठाउँ रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए।
कसरी लगाए?
केही समयअघि जिल्ला प्रशासन कार्यालय झापामा एउटा राजनीतिक दलको जिल्लाकै नेतृत्व गर्ने नेताले आफूले कोभिशील्डको दोस्रो मात्रा लगाएको कुरा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई सुनाए।

ती नेताले भने, "यत्रो समय भयो दोस्रो डोज नपाएको। सिलिगुडीमा मेरा एकजना आफन्तले कोभिशील्डको एक भायल खोप व्यवस्था गरिदिनुभयो। हामी यहाँ १० जना मिल्यौँ र एउटा एम्बुलेन्स व्यवस्था गरेर लगाएर आयौँ।"
कोभिशील्डको एउटा भायलमा १० मात्रा हुने भएकाले त्यति नै सङ्ख्यामा मानिस जानुपरेको उनले सुनाए।
मेचीनगर नगरपालिका वडा नं ६ का अध्यक्ष ललित तामाङले पनि आफूले थाहा पाएका सीमावर्ती काँकडभिट्टा बजार क्षेत्रका सात-आठ जनाले भारत गएर कोभिशील्डको दोस्रो मात्रा लगाएको बताए।
उनले भने, "कतिपयको भारतको सरकारी कागजात भएकाले पनि उहाँहरू भारत गएर खोप लगाएर आउनुभयो।"
भारतसँग सीमा जोडिएको पर्सा जिल्लाको वीरगन्ज महानगरपालिकाका पनि धेरै जनाले भारतबाट ल्याएर वा भारत नै गएर कोभिशील्डको दोस्रो मात्रा लगाएको महानगरपालिकाका प्रमुख विजय सरावगीले बताए।
उनका अनुसार धेरैले चाहिँ भारत नै गएर खोप लगाएका हुन्।
सरावगीले भने, "मेरो जानकारीमा आएअनुसार महानगर क्षेत्रका झन्डै ४०० जनाले त्यसरी खोप लगाए।'
महानगरका वरिष्ठ जनस्वास्थ्य प्रशासक अरुण महतोले भारत गएर वा भारतबाट खोप ल्याएर लगाउने मानिसको तथ्याङ्क नभए पनि त्यस्ता मानिस धेरै रहेको बताए।

- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- के जान्नै पर्छ? तपाईँका प्रश्नमा विज्ञको उत्तर

जटिलता के-के हुन सक्छ?
फागुनको दोस्रो सातापछि कोभिशील्डको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई अहिले आस्ट्राजेनेकाको खोप दोस्रो मात्राको रूपमा दिन थालिएको छ।
झन्डै पाँच महिनापछि उनीहरूलाई खोपको दोस्रो मात्रा सरकारले उपलब्ध गराएको हो।
पहिलो मात्रा लगाएका तर दोस्रो मात्रा समयमा नपाएका १३ लाखभन्दा बढी सर्वसाधारण रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ।
त्यसरी भारत गएर वा भारतबाट ल्याएर खोप लगाउँदा गुणस्तरीय खोप पाए "राम्रै" हुने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी बताउँछन्।
तर उनले खोपको गुणस्तर र तापक्रम सन्तुलनबारे शङ्का व्यक्त गरे।
अधिकारीले भने, "गुणस्तरीय खोप पाए भने त राम्रै हो। तर 'दलाल'को फन्दामा परेर खोपका ठाउँमा 'डिस्टिल्ड वाटर' लगाए भने गाह्रो हुने भयो। अनि खोप भारतबाट ल्याइएको छ भने सही तापक्रममा ल्याइएको छ कि छैन भन्ने पनि हेर्नुपर्ने हुन्छ।"
भारत गएर वा भारतबाट ल्याएर त्यसरी खोप लगाएका मानिसको तथ्याङ्कमा दोस्रो मात्रा खोप नलगाएको तथ्याङ्क रहिरहने पनि डा. अधिकारीले बताए।
"उनीहरूले खोप लगाएका हुन्छन् तर हाम्रोमा खोप नलगाएको तथ्याङ्क रहिरहन्छ।"














