कोभिड नेपाल: कोरोनाभाइरस लागेर 'अस्पताल पुग्नुपर्ने' अवस्थाका बिरामी कम गर्न दुई विज्ञका चार सुझाव

तस्बिर स्रोत, RSS
केही दिनयता नेपालमा कोरोनाभाइरसका सङ्क्रमितको सङ्ख्या फेरि बढ्न थालेको भन्दै चिन्ताहरू व्यक्त भइरहेका छन्।
अहिले नेपालमा दैनिक रूपमा तीन हजारभन्दा धेरैजनालाई सङ्क्रमण देखिइरहेको छ।
सङ्क्रमणको अवस्थालाई नजिकबाट नियालीरहेका कतिपय विज्ञहरूले "त्यो सङ्ख्या चाँडै पाँच हजारमा पुग्न सक्ने" अनुमान गर्छन्।
यदि कतिपय विज्ञको अनुमानजस्तै सङ्क्रमण पुन: तीव्र रूपमा बढ्ने अवस्था आएमा फेरि नेपालमा अस्पतालमा बेडहरू र अक्सिजनको अभाव निम्तिन सक्ने खतरा रहेको कैयौँले बताइरहेका छन्।
यस्तो अवस्थामा सरकारले "केही कदम चालिहाले राम्रो हुने" विज्ञहरूको सुझाव छ।
त्यस्तैमध्येका चारवटा सुझावहरू:
१. खोपकेन्द्र र सरकारी सेवा केन्द्रमा भिड कम गर्ने
विज्ञहरू अहिले कैयौँ मानिसहरू सरकारी सेवा लिन जाँदा र खोप लगाउन जाँदा सङ्क्रमित बनेको आफूहरूले थाहा पाएको बताउँछन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल इकाई प्रमुख डा. शेरबहादुर पुन भन्छन्, "अहिले मेरो सम्पर्कमा रहेका केही सङ्क्रमितहरू खोप लगाउन खोप केन्द्रमा गएपछि सङ्क्रमित भएको अवस्था छ।"
त्यस्तै वैदेशिक रोजगारीका लागि अनुमति लिन जाँदा वा अन्य सरकारी सेवा लिन जाँदा त्यस्ता स्थानहरू व्यवस्थित नहुँदा र सामाजिक दूरी कायम नगरिँदा धेरै व्यक्तिहरू सङक्रमित हुने खतरा बढेको उनको बुझाइ छ।

तस्बिर स्रोत, RSS
यसका साथै सरकारले विभिन्न परीक्षाहरू सञ्चालन गर्ने र अन्य भिडभाड हुने क्रियाकलापहरू पनि गरिरहेको अवस्था छ।
"हामीले हुलमुललाई त कम गर्नै पर्छ। कुनै कार्यक्रम बन्द कोठामा गर्ने हो भने पनि त्यसमा हावा वारपार पास हुनेगरी गर्नुपर्छ," उनी भन्छन्।
एकजना जनस्वास्थ्यविद् डा. शरद वन्त पनि अहिले नागरिकले मात्र होइन सरकारले समेत स्वास्थ्य मापदण्डलाई पालना नगरेको जस्तो देखिएको बताउँछन्।
सरकारी सेवा दिने स्थानमै भिडभाड भएपछि नागरिकहरूले पनि नटेर्ने र सरकारलाई कडाइ गर्न पनि समस्या हुने उनको बुझाइ छ।
२. चिनिएका सङ्क्रमितको व्यवस्थापन र नचिनिएकाको पहिचान
डा. वन्तका सुझावमा सरकारले तत्कालै गर्नुपर्ने काम भनेको चिनिएका अर्थात् परीक्षणबाट सङ्क्रमित भन्ने थाहा भएका व्यक्तिहरूको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने अवस्था आएको छ।
उनी नेपालमा सङ्क्रमण सुरु भएदेखि नै चिनिएका सङ्क्रमितको व्यवस्थापन पनि राम्ररी नभएको बताउँछन्।
"अहिले पनि अधिकांश सङ्क्रमितहरू होम आइसोलेशनमा बसिरहेका छन्," उनी भन्छन्, "ती पहिचान भएका स्रोतहरूको एकदमै प्रभावकारी व्यवस्थापन गर्नुपर्यो।"
"होम आइसोलेशनमा भएकाहरूले कसरी बसिरहेका छन्? उनीहरूबाट सङ्क्रमण विस्तार भइरहने जोखिम छ कि छैन? त्यसको अलिकति पनि मूल्याङ्कन भएको छैन। अनुगमन भएको छैन।"
संस्थागत आइसोलेशनमा भएकालाई जस्तै ढङ्गले होम आइसोलेशनमा बसेकालाई पनि व्यवहार हुनुपर्ने उनको तर्क छ।
सचेत भएर केहीले आफैँलाई व्यवस्थित बनाए पनि धेरैले त्यस्तो नगरेको हुनसक्ने वन्तको अनुमान छ।
वन्त नेपालमा दैनिक ३ हजारभन्दा बढी मानिस सङ्क्रमित हुँदा उनीहरूको सम्पर्कमा आएका बढी जोखिम भएका व्यक्तिलाई पहिचान गर्नुपर्ने बताउँछन्।
उनले भने, "बढी जोखिम भएका व्यक्तिहरूलाई पहिचान गर्नुपर्यो नि! अब त्यहाँनेर पनि हामी चुकिरहेका छौँ जस्तो लाग्छ। कन्ट्याक्ट ट्रेसिङ भन्ने त अहिले ठ्याम्मै हुनै छाडेजस्तो छ।"
"जो सम्भावित सङ्क्रमित छन्, उनीहरूको पहिचान गर्ने र जो पहिचान भएका छन्, उनीहरूबाट अरूलाई सङ्क्रमण नहोस् भनेर व्यवस्थापन गर्ने अहिलेको मूल चुरो हो।"


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- के जान्नै पर्छ? तपाईँका प्रश्नमा विज्ञको उत्तर

३. मापदण्ड पालना गराउने
अहिले कैयौँ सर्वसाधारणमा स्वास्थ्य मापदण्ड पालना गर्ने उत्सुकता कम देखिन थालेको डा. पुनको अनुभव छ।
उनी भन्छन्, "जनस्वास्थ्यको मापदण्डहरू लगभग सबैले नै सुनेको हुनुपर्छ जस्तो लाग्छ। दैनिक रूपमा सञ्चारमाध्यमबाट देखिरहेको, बजिरहेको र लेखिइरहेको विषय हो। हरेकपटक फोन गर्दा पनि त्यसैको सूचना आउँछ। त्यसैले योबारे लगभग धेरैलाई जानकारी छ।"
"त्यसलाई व्यवहारमा लागु गर्न एउटा इच्छाशक्ति पनि चाहिन्छ। हुन त हामीले जीवनमा पहिलो पटक भोगेकाले आनीबानीका रूपमा विकास गर्न गाह्रो भएको होला।"
"हामीले मन नलाग्दा पनि हाम्रो बानी सुधार्न जरुरी छ। त्यसले गर्दा मात्र सङ्क्रमणको फैलावटलाई सुस्त बनाउन सकिन्छ अनि एकैपटक धेरै मानिसहरू सङ्क्रमित भएर अस्पताल भरिभराउ हुने अवस्था सिर्जना हुँदैन।"
जनस्वास्थ्यविद् वन्त चाहिँ सरकारले मानिसहरूलाई स्वास्थ्य मापदण्ड पालना गर्ने र दूरी कायम गर्ने वातावरण मिलाइदिनुपर्ने बताउँछन्।
त्यस्तै मापदण्ड पालना नगर्नेका समस्या सुन्नुपर्ने र त्यति गर्दा पनि पालना नभए "दण्ड दिएर भए पनि" पालना गराउनु पर्ने उनको भनाइ छ।
४. फराकिलो दायरामा परीक्षण, धेरैभन्दा धेरैलाई खोप
विज्ञहरू फेरि सङ्क्रमण दर बढ्न थालेको कुरालाई मध्यनजर गर्दै सरकारले परीक्षणको दायरालाई थप फराकिलो बनाउनुपर्ने सुझाव दिन्छन्।
उनीहरूका भनाइमा अहिले गरिएको परीक्षण एक हिसाबले व्यक्तिले आफैँले चाहेर मात्र भइरहेको छ।
तर सरकारले समुदायस्तरमा घरघरमा खोजेर परीक्षण गर्नुपर्ने विज्ञहरूको सुझाव छ।

तस्बिर स्रोत, EPA
जनस्वास्थ्यविद् वन्त सङ्क्रमणको थाहा नभएको स्रोत पत्ता लगाउन पनि परीक्षण व्यापक बनाउनु जरुरी रहेको बताउँछन्।
उनले भने, "थाहा नभएको स्रोतलाई थाहा भएको स्रोतमा परिवर्तन गर्न सक्नुपर्यो। अनि मात्र हामीले सहज व्यवस्थापन गर्न सक्छौँ। त्यो भनेको जतिखेर हामी परीक्षण गर्छौँ त्यतिखेर मात्र सम्भव हुन्छ। … त्यसो हुँदा नै हामीले यो सधैँ परीक्षण… परीक्षण… परीक्षण… भनेका हौँ।"
डा. पुनका भनाइमा नेपालका अधिकांश जनसङ्ख्यालाई खोप नलगाएसम्म सङ्क्रमणलाई ह्वात्तै घटाउन सकिने अवस्था नआउने देखिन्छ।
उनी भन्छन्, "सकैसम्म धेरैभन्दा धेरै जनसमुदायलाई हामीले खोप लगाउनु पर्छ।"
तर सबै योग्य उमेर समूहका व्यक्तिहरूले खोप नपाउन्जेल खोप लगाएका व्यक्तिहरूलाई पनि मास्क लगाउने, साबुन पानीले हात धुने र सामाजिक दूरी कायम गर्ने जनस्वास्थ्यका उपाय अपनाउन उनी सुझाव दिन्छन्।








