कोभिड ‘उपचार’: इन्डोनेशियामा प्रयोग भइरहेका आइभर्मेक्टिन, जडीबुटी र दूध अप्रमाणित उपाय

औषधि

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, बजारमा विक्री हुने गरेको यो जडीबुटीले कोभिड-१९ रोकथाम गर्ने दाबी गरिएको छ

इन्डोनेशियामा कोरोनाभाइरसको डेल्टा भेरिअन्ट फैलिरहँदा कोभिड-१९ को उपचार र रोकथाम गर्न सक्ने क्षमता भएका वस्तुबारे भ्रामक दाबीहरू बढ्दै गएका छन्।

बिरामीको बढ्दो सङ्ख्या, अक्सिजन अभाव र आफन्त तथा इष्टमित्रको उपचारका लागि व्याकुल मानिसहरूको व्यवस्थापन गर्नुपर्ने चुनौती अस्पतालहरूले खेपिरहेका छन्।

हामीले स्वास्थ्यसम्बन्धी केही मिथ्या सूचनालाई यहाँ उदाहरणका रूपमा प्रस्तुत गरेका छौँ।

१) परजीवीविरुद्ध प्रयोग गरिने औषधिलाई कोभिड-१९ विरुद्ध स्वीकृति पाएको दाबी

ठूलो सङ्ख्यामा इन्डोनेशियालीहरू परजीवी नियन्त्रण गर्न प्रयोग गरिने औषधि आइभर्मेक्टिन कोभिड-१९ विरुद्ध प्रयोग गर्न सकिने दाबी गरिरहेका छन्।

आइभर्मेक्टिन

तस्बिर स्रोत, Getty Images

स्थानीय सञ्चारमाध्यमहरूले इन्डोनेशियाका अधिकारीहरूले त्यसलाई आपत्कालीन अनुमति दिइएको भनेर गलत समाचार सम्प्रेषण गरेपछि चासो अझ बढेको थियो।

तर उक्त औषधि अझै पनि परीक्षणकै क्रममा छ अनि कोभिडको उपचारका लागि त्यसलाई प्रमाणित गरिएको छैन।

यी खबरहरू जुलाई १५ मा फूड एन्ड ड्रग्स अथरिटी अफ इन्डोनेशियाले जारी गरेको विज्ञप्तिका आधारमा आएका थिए।

तर तत्कालै उक्त निकायकी प्रमुखले स्थानीय सञ्चारमाध्यमलाई आइभर्मेक्टिनलाई अनुमति नदिइएको बताइन्।

आपत्कालीन अनुमति पाएको अन्य दुई औषधिको सूचीमा सो औषधिलाई पनि राखिएपछि अन्योल देखिएको थियो।

फूड एन्ड ड्रग्स अथरिटी अफ इन्डोनेशियाकी प्रमुख पेनी लुकिटोले आठवटा अस्पतालमा क्लिनिकल परीक्षण भइरहेको भन्दै अक्टोबरयता नतिजा नआउने बताइन्।

सीएनएन स्क्रीन ग्य्राब
तस्बिरको क्याप्शन, आइभर्मेक्टिनलाई इन्डोनेशियामा कोभिडको उपचरका लागि अनुमति दिइएको छैन

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले विशेष स्वास्थ्य निगरानीमा मात्रै प्रयोग गर्न चेतावनी दिए पनि कतिपय सार्वजनिक व्यक्तित्वले आइभर्मेक्टिनको प्रवर्धन गरिरहेका छन्।

तीन लाख ५० हजार जनाभन्दा बढीले पछ्याइरहेको स्वास्थ्यकर्मी रेजा गुनावनको ट्विटर खाताबाट पनि आइभर्मेक्टिन प्रयोगलाई प्रोत्सागन गरिएको छ।

त्यसबारे बीबीसीले सोध्दा उनले भने, "आइभर्मेक्टिन तुलनात्मक रूपमा सुरक्षित, कम महँगो, चाँडै प्रयोग गर्न सकिने र अहिले जारी खोप कार्यक्रमलाई सघाउ पुर्‍याउने खालको छ।"

उनले आफू चिकित्सक नभएको बताए।

उक्त औषधि उत्पादक मर्कले आइभरमेक्टिनले कोभिड-१९ विरुद्ध काम गर्छ भन्ने वैज्ञानिक प्रमाण हालसम्म नभएको बताएको छ।

यूकेसहित केही देशले सम्भावित उपचारबारे अनुसन्धान गरिरहेका छन्।

२) निश्चित दुग्धजन्य उत्पादनले एन्टिबडी तयार पार्ने दाबी

इन्डोनेशियामा नेस्लेको बेअर ब्रान्डको दूध किन्न मानिसहरू तँछाडमछाड गरिरहेका भिडिओहरू भाइरल भएका छन्।

दूध
तस्बिरको क्याप्शन, यो दूध पिउँदा कोभिडविरुद्ध एन्टिबडी बन्दैन

सामाजिक सञ्जाल र ह्वाट्सएपका समूहहरूमा यो ब्रान्डको दूधले कोभिड एन्टिबडी उत्पादन गराउन दाबी गरिएपछि त्यस्तो परिस्थिति सिर्जना भएको हो।

त्यसपछि सो दूधको मूल्य ४५५ प्रतिशतसम्मले बढेको थियो।

यी दाबी कहाँ सुरु भए त्यो प्रष्ट छैन तर दूध सेवन गर्दा त्यसले कोभिड एन्टिबडी उत्पादन गर्छ भन्ने प्रमाणित भइसकेको छैन।

इन्डोनेशियाको नेस्लेले बीबीसीलाई कम्पनीले कहिल्यै पनि आफ्ना उत्पादनले कोभिड एन्टिबडी उत्पन्न गराउने दाबी नगरेको जनाएको छ।

खोप वा सङ्क्रमणपछि शरीरले त्यस्तो एन्टिबडी उत्पादन गर्छ।

पश्चिम जाभा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, कतिपय क्षेत्रमा अक्सिजनको अभाव देखिएको छ

३. प्रतिरोधी क्षमता बढाउने औषधि वा प्राकृतिक चिकित्सा

सामाजिक सञ्जालमा प्रोपलिस नामक एउटा वस्तुलाई शरीरको प्रतिरक्षा शक्ति बढाउने औषधिका रूपमा प्रस्तुत गरिएको छ।

ट्विटर र फेसबुकमा यसले मानिसहरूलाई कोभिड-१९ बाट जोगिन मद्दत गर्ने भनिएको छ।

प्रोपलिस मौरीले उत्पादन गर्ने एउटा प्राकृतिक वस्तु हो र यसलाई सुजन वा घाउको उपचारमा प्रयोग गरिन्छ।

परम्परागत औषधि र स्वास्थ्य सामाग्रीको रूपमा त्यसलाई विक्री गर्न सन् २०१८ यता इन्डोनेशियाको खाद्य तथा स्वास्थ्य नियामक निकायले अनुमति दिएको छ।

मौरी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, मौरीले आफ्नो बस्ने ठाउँ बनाउन प्रोपलिस प्रयोग गर्छ

इन्डोनेशियामा 'ब्रिटिश प्रोपलीस' भनेर चिनिने त्यसको आधिकारिक खाता छ जसमा उक्त सामग्रीले भाइरसविरुद्ध काम गर्ने भनिएको छ। तर त्यसमा कोभिड-१९ भनेर किटिएको छैन।

तर आधिकारिक खातामा गरिएको एउटा पोस्टमा मास्क लगाउनुबाहेक प्रोपलिसको सेवन गर्दा शरीरको प्रतिरोधी क्षमतामा वृद्धि भएर भित्रैबाट त्यसले सङ्क्रमण नियन्त्रण गर्ने उल्लेख छ।

प्रोपोलिस
तस्बिरको क्याप्शन, मौरीले बनाउने प्रोपलिसले कोभिडबाट सुरक्षा दिने प्रमाण छैन

यसले कोभिड नियन्त्रणमा भूमिका खेल्छ भन्ने कुनै प्रमाण छैन।

हामीले इन्डोनेशियामा उक्त सामग्रीको बजार व्यवस्थापन गरिरहेको कम्पनीलाई सम्पर्क गरेको भए पनि उसले यो सामग्री तयार हुँदा कुनै प्रतिक्रिया दिएको छैन।

इन्डोनेशियामा मात्रै नभएर अन्य विभिन्न देशमा पनि प्रतिरोधी क्षमता बढाउने कैयौँ औषधिको चर्चा भएको छ।

यूनिभर्सिटी अफ मेरिल्यान्डको सङ्क्रामक रोग विभागका प्रमुख डा. फहिम युनुसले 'प्रतिरोधी क्षमता बढाउने औषधि' शब्दावली एकदमै हल्ला रूपमा प्रयोग गरिएको र उक्त वस्तुले कोभिड-१९ विरुद्ध काम गर्ने ठोस प्रमाण नरहेको बताए।

तेल

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, वनस्पतिजन्य तेलले पनि कोभिडबाट जोगाउने दाबी गरिएको छ

हामीले कोभिडविरुद्ध अरू प्राकृतिक उपचार विधिको प्रयोग गरिएको दाबी पनि सामाजोक सञ्जालमा देखेका छौँ।

उदाहरणका लागि छालामा देखिने समस्याहरूको उपचारमा प्रयोग गर्ने वनस्पतिबाट निर्मित काजपूत तेललाई पिउने वा सुँघ्ने सुझावहरू पनि त्यहाँ राखिएका देखिन्छन्।

तर यसले पनि कोभिड-१९ विरुद्ध काम गरेको प्रमाण छैन।

उक्त तेलको गुण यूकलिप्टस अर्थात् मसलाको तेलको जस्तै हुन्छ र त्यसलाई सुँघ्दा श्वासप्रश्वाससम्बन्धी समस्या हुन सक्छ र त्यो स्वास्थ्यको लागि घातक पनि बन्न सक्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, के कोभिड खोप लगाउने महिलामा बाँझोपन हुन्छ?