तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोभिड नेपाल: विदेश जान त्रिभुवन विमानस्थल पुगेका मानिस किन उड्न नपाएर फर्किन बाध्य भए?
कोभिड-१९ का कारण विभिन्न देशहरूले "स्वास्थ्य मापदण्ड पटकपटक परिवर्तन गर्दा" त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका कैयौँ यात्रुहरू गन्तव्य मुलुकतर्फ जान नपाई फर्किनुपर्ने अवस्था आएको अधिकारीहरूले बताएका छन्।
उनीहरूका भनाइमा विशेषगरी कामका लागि खाडी मुलुक जान लागेका नेपाली श्रमिकहरूले त्यस्तो समस्या भोगिरहेका छन्।
सोमवार मात्र संयुक्त अरब इमिरेट्स (यूएई) जानका लागि काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका सयौँ यात्रुहरूलाई अन्तिम समयमा फर्काइएको खबरहरू आएका छन्।
कतिपय यात्रुलाई भने परिवर्तन भएका उडान मापदण्डबारे जानकारी नहुँदा पनि विमानस्थलमा सास्ती हुने गरेको जानकारहरूको भनाइ छ।
अन्तिम समयमा यात्रुहरू किन उड्न पाएनन्?
सोमवार यूएई जान विमानस्थल पुगेका यात्रुहरू रातको समयमा उडान नहुने सूचना आएपछि निराश भएर फर्किनुपरेको उड्डयन अधिकारीहरूले जानकारी दिए।
त्यसको कारणबारे नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बीबीसीसँग भने, "पहिले दुबईले चार घण्टाअघिको (कोभिडको) द्रुत परीक्षणलाई मान्यता दिएको थियो। अब चार घण्टाअघिको त मान्ने भयो तर त्यो विमानस्थल परिसरभित्रै गरिएको परीक्षण हुनुपर्ने भयो। त्यसैले गर्दा सोमवार उडान रोकियो।"
त्यस्तै कुवेतले क्यूआर कोड भएको परीक्षण प्रतिवेदन मात्र मान्य रहेको बताएपछि पहिले त्यस्तै समस्या आएको उनले बताए।
विमानस्थलका प्रमुख अध्यागमन अधिकृत सुशील वैद्यका अनुसार "मुख्यत: स्वास्थ्यसम्बन्धी मापदण्ड"का कारण नै कैयौँ यात्रुहरू विमानस्थल पुगेर पनि फर्किनुपर्ने अवस्था आएको छ।
उनका अनुसार तोकिएको दुवै मात्रा खोप लगाएका र उता गएर बसोबास गर्ने व्यवस्था भएकालाई अनुमति दिने भनेको यूएईले पछि विमानस्थलकै परीक्षण खोजेपछि सयौँ यात्रु प्रभावित भएका हुन्।
उनले भने, "हामीले पहिले पीसीआर परीक्षण गरेकालाई पठाउने गरेको हो। नियमहरू परिवर्तन भइरहेका छन्। आफ्नो-आफ्नो देशको नियम हुन्छ। अलिकति अन्योलकै अवस्था छ।"
उनले कतिपय यात्रुलाई नयाँ मापदण्ड अनुसारको फारम भर्न नजान्दा र अनलाइनबाट फारम भर्ने मोबाइललगायतका उपकरण नभएको भन्दै विमान कम्पनीहरूले फिर्ता गरिदिएका घटना पनि आएको बताए।
मङ्गलवारको एउटा त्यस्तै घटना सुनाउँदै उनले फारम भर्ने स्मार्टफोन नभएको भन्दै कतार जान लागेका एक यात्रुलाई फर्काइएको जानकारी दिए।
प्राधिकरणका प्रवक्ता क्षेत्रीका भनाइमा चाहिँ फारम भर्न नजान्ने वा अन्य कारणभन्दा पनि विभिन्न देशहरूले स्वास्थ्यसम्बन्धी नियम परिवर्तन गर्दा त्यसैको असर परेको बताउँछन्।
उनका भनाइमा फारम भर्न नजान्नेहरूलाई सम्बन्धित विमान कम्पनीका कर्मचारीले पनि फारम भरिदिने गर्छन्।
त्यसका साथै कामदारका हकमा उनीहरूलाई पठाउने कम्पनीहरूले पनि अनलाइनबाटै फारमहरू भरिदिने गरेको क्षेत्रीको भनाइ छ।
'दक्षिण कोरियाबाहेक अन्यको स्वास्थ्य मापदण्डको आधिकारिक जानकारी छैन'
श्रमसम्बद्ध अधिकारीहरूका अनुसार नेपाली कामदारका गन्तव्य मुलुकमध्ये धेरैले आफ्नो स्वास्थ्य मापदण्डबारे नेपाललाई आधिकारिक रूपमा जानकारी गराएका छैनन्।
वैदेशिक रोजगार विभागमा महानिर्देशक कृष्णप्रसाद दवाडीले भने, "खासगरी अरब देशहरूका सर्तहरू (स्वास्थ्य मापदण्डसम्बन्धी) हामीकहाँ आएका छैनन्। (दक्षिण) कोरियाबाट मात्र आएको छ। अन्यत्रबाट औपचारिक माध्यमबाट आएको छैन।"
"तर हामीले डब्ल्यूएचओको रेटिङअनुसार कुन देशमा प्रवेश गर्दा के-के गर्नुपर्छ भन्ने हेरिरहेका छौँ।"
उनले धेरै देशले भेरो सेल खोपलाई नस्वीकारेको तर नेपालमा धेरैले उक्त खोप लगाएको बताए।
अधिकारीहरूका अनुसार देशको माग अनुसार खोप दिने र क्यूआर कोड सहितको खोपको प्रमाणपत्र जारी गर्न सुरु गरिएको छ।
दवाडी डब्ल्यूएचओको मापदण्ड हेरेर त्यसै अनुसार कामदारलाई अनुमति दिइएको र पठाइएको बताउँछन्।
स्वास्थ्य मन्त्रालय के भन्छ?
यूएईले विमानस्थल परिसरमै चार घण्टाअघि गरिएको द्रुत परीक्षणको प्रतिवेदन खोजे पनि नेपाल सरकारले त्यसबारे हालसम्म निर्णय गरिनसकेको अधिकारीहरू बताउँछन्।
तर आवश्यक पर्दा त्यस्तो व्यवस्था पनि गर्न सकिने उनीहरूको भनाइ छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी भन्छन्, "बाहिर जानेका हकमा विमानस्थलमा एन्टिजन परीक्षणको व्यवस्था हामीले अहिलेसम्म गरेका छैनौँ। गर्नुपर्दा गर्न सकिनेगरी हामीसँग परीक्षण किटहरू छन्।"
"ती किटहरू स्थानीय तहसम्म प्रबन्ध गरेकाले कसैलाई आवश्यक पर्यो भने त्यहाँ रहेको स्वास्थ्यको हेल्थ डेस्कसँग सम्पर्क गरी समन्वय गरेर उहाँहरूले गर्न सक्नुहुन्छ।"