तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोभिड शिक्षा: अनलाइन परीक्षा गर्न के के आवश्यक पर्छ?
यही महिनाको अन्त्यमा कक्षा १२ को बोर्ड परीक्षा सञ्चालन हुँदैछ।
विद्यार्थीहरूलाई होम सेन्टर वा आफ्ना विद्यालयमै केन्द्र तोकेर परीक्षा सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी छ।
सुरक्षित रूपमा परीक्षा सञ्चालन गर्न भौतिक दूरी तथा अन्य जनस्वास्थ्यका मापदण्ड अपनाइने पनि उसले बताएको छ।
तर शुक्रवार स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले कक्षा १२ का परीक्षाहरू स्थगित गर्न सिफारिस गरिएको बताएपछि त्यसबारे चासोहरू व्यक्त हुन थालेका छन्।
राज्यमन्त्री श्रेष्ठले बढ्दो कोरोनाभाइरस सङ्क्रमणबीच परीक्षा स्थगनका लागि शिक्षा मन्त्रालय तथा कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको एउटा ट्वीटमार्फत् जानकारी गराएका हुन्।
यसका साथै त्रिभुवन विश्वविद्यालयले पनि विभिन्न परीक्षा सञ्चालन गर्दैछ।
तर के ती भौतिक रूपमै गर्नु आवश्यक थियो त? भन्ने प्रश्न अचेल सामाजिक सञ्जालमा टड्कारो रूपमा उठाइएको छ।
के हुनसक्छ विकल्प?
खासगरी सहरी क्षेत्रमा अधिकांश विद्यालयले अहिले भर्चूअल माध्यम वा अनलाइनमार्फत् नै कक्षा सञ्चालन गरिरहेका छन्।
अधिकांश परीक्षा पनि अनलाइन वा विद्यालयहरूले गर्ने आन्तरिक मूल्याङ्कनकै आधारमा गरिएको छ।
तर कक्षा १२ को बोर्ड परीक्षा अनि क्याम्पसहरूका परीक्षा भने भौतिक रूपमै गर्नुपर्ने अधिकारीहरू बताउँछन्।
कोभिड महामारीको असर अझै कम नभइसक्दा तथा अधिकांशले खोप लगाइनसकेको हुँदा त्यसो गर्नु घातक हुन सक्ने विज्ञहरूले चेतावनी दिएका छन्।
बरु विकल्पको रूपमा अनलाइनबाटै परीक्षा लिन उनीहरूको सुझाव छ।
"संसारभरि गर्नेले गरि नै रहेका छन्। अन्य देशमा उपलब्ध प्रविधि हाम्रो पनि पहुँचमा नै छ। दक्ष जनशक्ति पनि नभएको होइन। तर हाम्रो मुख्य समस्या नेतृत्वको समस्या हो। नेतृत्वमा हुनुपर्ने दूरदर्शिता र आत्मबल छैन," शिक्षक मासिक पत्रिकाका सम्पादक एवं शिक्षा क्षेत्रका जानकार राजेन्द्र दाहालले बताए।
उनका अनुसार स्रोत वा साधनको अभाव नभएपनि नयाँ सोच अँगाल्न नसक्ने तथा जोखिम लिन नचाहने बानी वास्तविक अवरोध भएको उनले बताए।
"नत्र त सबै ठाउँमा उही प्रकारको जोखिम पक्कै छैन। कम्तीमा सहरबजारमा त यस्ता वैकल्पिक माध्यम मजाले प्रयोग गर्न सकिन्छ," उनले भने।
अनलाइन परीक्षा गर्न के चाहिन्छ?
अनलाइन परीक्षा सञ्चालन गर्न अहिलेको अवस्थामा खासगरी तीन कुरा आवश्यक हुने सूचना प्रविधिका एक जानकारले बताएका छन्।
सरकारको सूचना प्रविधि विभागको महानिर्देशक भएर अवकाश पाएका वीरेन्द्र मिश्रका अनुसार ती तीन विषय यी हुन्:
१. भरपर्दो कनेक्टिभिटी
अनलाइन परीक्षा वा अनलाइन पठनपाठनकै निम्ति पनि सबभन्दा पहिलो आवश्यकता भरपर्दो इन्टरनेट कनेक्टिभिटीको उपलब्धता हो।
"अहिले हाम्रो देशको कुरा गर्ने हो भने अधिकांश सहरबजारमा एक हदसम्म यो सुविधा उपलब्ध भएकै मान्नुपर्छ," मिश्रले भने।
नेपाल टेलिकम प्राधिकरणको पछिल्लो आँकडाअनुसार अहिले नेपालमा झन्डै ९२ प्रतिशत जनसङ्ख्यासँग ब्रोडब्यान्ड इन्टरनेटको पहुँच छ।
तर त्योमध्ये मोबाइल ब्रोडब्यान्डको हिस्सा ६५ प्रतिशत छ। केवल २५ प्रतिशत मानिससँग मात्र पठनपाठनमा सजिलोसँग प्रयोग गर्न मिल्ने फिक्स्ड ब्रोडब्यान्ड भनिने सुविधा उपलब्ध छ।
२. ल्यापटप
अनलाइनबाट परीक्षा गराउने हो भने विद्यार्थीहरूसँग ल्यापटप सुविधा पनि हुनु जरुरी रहेको मिश्र ठान्छन्।
"परीक्षाका निम्ति विशेष सफ्टवेअर वा एप्लिकेशनको प्रयोग गर्नुपर्ने हुन्छ। परीक्षा अवधिभरि प्रत्येक विद्यार्थीसँग ल्यापटप हुन जरुरी हुन्छ," उनले भने।
सबैकहाँ ल्यापटपको पहुँच हुने सम्भावना नभएकोले परीक्षाका बेला त्यसको वैकल्पिक जोहो गराउनुपर्ने उनले सुझाव दिए।
३. क्षमता
अर्को महत्त्वपूर्ण पूर्वसर्त चाहिँ विद्यार्थी तथा शिक्षकको क्षमता पनि रहेको मिश्रले बताए।
"अनलाइन परीक्षा गर्न गराउन त्यसका प्रक्रिया, र त्यसलाई सुरक्षित र विश्वसनीय बनाउन आवश्यक न्यूनतम क्षमता विद्यार्थी र शिक्षकमा आवश्यक पर्छ," उनले भने।
"उदाहरणका लागि अनलाइन परीक्षा दिने बेला एउटा विद्यार्थीले त्यसमा प्रविष्टि गर्न वा लेखिएका कागज स्क्यान तथा अपलोड गर्न पनि जान्नुपर्छ।"
परीक्षाको प्रकृति
महामारीका कारण पठनपाठन लामै समय अवरुद्ध हुने हो भने चाहिँ परीक्षा लिने अहिलेको शैलीमा नै परिवर्तन गर्न पनि आवश्यक पर्ने कतिपयको सुझाव छ।
लामालामा प्रश्नोत्तरको साटो वस्तुगत प्रश्नावलीको प्रयोग गर्नुपर्ने उनीहरू बताउँछन्।
त्यस्तै परीक्षालाई विश्वसनीय बनाउन "चीट" चोर्नै नमिल्ने प्रकारका प्रश्नपत्र बनाउन सकिने दाहालको सुझाव छ।
"मूल कुरो हाम्रा शैक्षिक, प्रशासनिक तथा राजनीतिक नेतृत्वले नै आँट गर्नुपर्छ र यो गर्न सकिन्छ भनेर अगाडि बढ्नुपर्छ। बाँकी कुरा त मिलिहाल्छ," दाहालले बताए।