तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोभिड खोपः नेपालमा कालोबजारीमा कोभिशील्ड बेच्न थालिएको आशङ्का, प्रहरीले बढायो 'निगरानी'
- Author, गनी अन्सारी
- Role, बीबीसी न्यूज नेपाली
काठमाण्डू उपत्यकाका केही ठाउँमा पैसा तिरेर कोभिड खोप पाइने गरेको र त्यस्ता खोप लगाउन हुने वा नहुने भन्दै आफूलाई फोन आउने गरेको एक चिकित्सकले बताएका छन्।
"फलानोले त खोप लगाइसक्यो, हामीले लगाउँदा हुन्छ कि हुँदैन भनेर एक-दुई महिनायता नियमितजसो मानिसहरूले फोन गरेर सोध्ने गरेका छन्," नाम उल्लेख नगर्ने सर्तमा ती चिकित्सकले शुक्रवार बीबीसी नेपालीसँग भने।
"राज्यले निःशुल्क लगाइरहेको खोप पैसा तिरेर किन लगाउनुहुन्छ? भनेर हामीले त्यसरी सोध्नेहरूलाई निरुत्साहित गर्ने गरेका छौँ," उनले थपे।
काठमाण्डूकै अर्का एक व्यक्तिले कसैले आफ्नो घरमै आएर कोभिशील्ड लगाइदिने प्रस्ताव गरेको बताए।
कोभिशील्डको पहिलो मात्रा लिएका तर सरकारले दोस्रो मात्रा समयमै उपलब्ध गराउन नसक्दा लामो समय पालो कुर्न बाध्य पाको उमेरका मानिसहरूलाई त्यस्तो प्रस्ताव आउने गरेको र स्वास्थ्यसम्बन्धी समस्या भएका तथा क्रयशक्ति राम्रै भएका मानिसहरूले त्यसरी खोप लिने गरेको बुझिएको छ।
बीबीसीको सम्पर्कमा आएका केही मानिसले आफ्ना आफन्तलाई त्यसरी खोप लगाइएको स्वीकार गरेका छन्।
"भारतबाट खोप ल्याएर त्यसरी बेच्ने गरिएको रहेछ। पैसा तिरे घरमै आएर लगाइदिन्छौँ भनेर एक जनाले भनेका छन्," अर्का एक व्यक्तिले पनि आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने।
तर सरकारले निजी क्षेत्रलाई त्यसरी खोप ल्याउने अनुमति दिएको छैन।
मूल्य कति?
त्यसरी पाइने कोभिशील्ड खोप प्रतिमात्राका लागि साढे तीन हजारदेखि आठ हजार रुपैयाँसम्म तिर्नुपर्ने उनीहरूले बीबीसीलाई बताए।
सरकारसँग बाँकी रहेको कोभिशील्डको मात्रा सरकारी भण्डारबाट चोरी भएर पनि कालोबजारियाको हातसम्म पुगेको कतिपयको आशङ्का छ।
भारतमा राज्यअनुसार सरकारकै अनुमतिमा १,००० हजारदेखि १,५०० भारतीय रुपैयाँमा कोभिशील्डको प्रतिमात्रा विक्री भइरहेको बीबीसी हिन्दी सेवाकी किन्जल पाण्डेयले बताइन्।
अक्सफर्ड-आस्ट्राजेनेकाले विकास गरेको र भारतमा उत्पादन भइरहेको कोभिशील्डको पहिलो मात्रा लगाएका साढे १३ लाखभन्दा बढी नेपाली दोस्रो मात्राको व्यग्र प्रतीक्षामा छन्।
भारतले गत एप्रिलदेखि निर्यातमा रोक लगाएपछि र कोभ्याक्स अभियानमार्फत् समेत कोभिशील्ड उपलब्ध नभएपछि नेपाल सरकारले त्यसको दोस्रो मात्रा दिन सकिरहेको छैन।
जापान सरकारले अनुदानमा दिने घोषणा गरेको आस्ट्राजेनेकाको १६ लाख मात्रा खोप अगस्ट महिनासम्म आएपछि दोस्रो मात्रा कुरिरहेका मानिसलाई दिने योजना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरू बताउँदै आएका छन्।
स्वास्थ्य मन्त्रालय के भन्छ?
कालोबजारीमा कोभिड खोप विक्री भइरहेको विषयमा अहिलेसम्म कुनै उजुरी नपरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यद्यपि त्यस्तो सम्भावनालाई नकार्न नसकिने मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी बताउँछन्।
"त्यस्ता गतिविधि नहोला र नगर्लान् भन्न सकिँदैन। त्यसबारे बुझ्न, बुझाउन र स्थानीय प्रशासनहरूलाई पनि सजग रहन एवं निगरानी बढाउन हामीले भनेका छौँ," बीबीसीसँग उनले भने।
नेपाल सरकारले पैसा तिरेर खोप लगाउन दिने कुनै निर्णय अथवा पैसा लिएर लगाइदिन हालसम्म कसैलाई स्वीकृति नदिएको अधिकारीहरूले बताएका छन्।
"कोभिड खोपका नाममा हामीमा अरू चिज पनि प्रयोग हुन सक्छ। गुणस्तरीय खोप नहुन सक्छ वा सरकारले निःशुल्क दिने भनिएको खोपका लागि कसैले ठगी गर्न सक्छ," सहप्रवक्ता अधिकारीले सचेत गराउँदै भने।
"यदि कहीँ कसैले शुल्क लिएर खोप लगाइदिन्छु भनेका छन् भने आत्तिएर लगाउनतिर नजाऔँ। त्यसरी लगाइदिने काममा कोही प्रेरित भएका छन्, कोही त्यसरी गइरहेका छन् भने कानुनको दायरामा ल्याउनेगरी हामीले अनुगमन गरिरहेका छौँ।"
कालोबजारीबारे प्रहरीले के गर्दैछ?
एक भारतीय भैंसी व्यापारीबाट किनेर अर्घाखाँचीको सन्धिखर्कका सात जनाले खोप लगाएको विवरण शुक्रवार सञ्चारमाध्यमहरूमा सार्वजनिक भएको छ।
त्यो घटनाबारे अनुसन्धान थालिएको बताउँदै नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले भने, "यो हिसाबले [खोपको कालोबजारी] अलिअलि हो कि जस्तो लाग्यो।"
"त्यस्ता गतिविधिमाथि निगरानी गर्न हामीले हाम्रा संयन्त्रलाई परिचालन गरेका छौँ। हामीले भिजिलन्स एकदम कडा गरेका छौँ।"
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- के जान्नै पर्छ? तपाईँका प्रश्नमा विज्ञको उत्तर
सञ्चारमाध्यममा आएका समाचारहरूलाई आधार बनाएर आफूहरूले निगरानी सुरु गरिएको प्रहरीको भनाइ छ।
भारतसँगका सीमावर्ती नेपाली जिल्लाका कतिपय मानिसहरू त्यता गएर पैसा तिरी कोभिशील्ड लगाउने गरेका विवरणबीच पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले त्यसबारे कुनै जानकारी नभएको बीबीसीलाई बताए।
"व्यक्तिगत रूपमा त्यसरी गएर खोप लगाएका हुन पनि सक्छन्। तर हामीकहाँ औपचारिक नै जानकारी आएको छैन।"