तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारत कोभिड खोप अभियानः के वयस्कहरूका लागि पर्याप्त खोप छ?
- Author, श्रुति मेनन
- Role, बीबीसी रीयालिटी चेक
भारत सरकारले सन् २०२१ को अन्त्यसम्ममा सबै वयस्कलाई खोप दिइसक्ने बताइरहेको छ, तर उससँग पर्याप्त खोप हुने कुरामा प्रश्न उठिरहेको छ।
हामीले भारतमा खोप उत्पादनको क्षमता र खोप आपूर्तिलाई असर पार्ने अन्य पक्षलाई हेरेका छौँ।
भारतले अहिले कति खोप उत्पादन गर्छ?
भारतमै बनिरहेका दुईवटा खोप कोभिशील्ड र कोभ्याक्सीनको उत्पादनबारे भारत सरकारले हालै फरकफरक सूचना दिएको थियो।
ती दुई खोप भारतीय खोप अभियानको मेरुदण्डका रूपमा छन्।
आस्ट्राजेनेकाबाट अनुमति लिएर सीरम इन्स्टिट्यूट अफ इन्डियाले कोभिशील्ड उत्पादन गरिरहेको छ भने भारतमै विकसित कोभ्याक्सीन पनि उत्पादन भइरहेको छ।
संसद्मा उठेको प्रश्नको उत्तरमा जुलाई २० तारिखमा स्वास्थ्य मन्त्रालयले प्रतिमहिना कोभिशिल्डको ११ करोड मात्राबाट बढाएर १२ करोड पुर्याउने योजना रहेको जनाएको थियो।
तर सोही विषयमा अर्को प्रश्नको उत्तरमा प्रतिमहिना अनुमानित १३ करोड मात्रा उत्पादन क्षमता रहेको जानकारी गराइयो।
हामीले सीरम इन्स्टिट्यूटलाई त्यसबारे सोध्दा जुलाई महिनामा उत्पादन क्षमता ११ करोडदेखि १२ करोड मात्रासम्म रहेको र त्यसलाई बढाउने तत्काल कुनै योजना नरहेको जबाफ उसले दिएको छ।
त्यसैगरी कोभ्याक्सीनका लागि भारतीय सरकारले फरक आँकडा दिएको छ। उसका अनुसार प्रतिमहिना अनुमानित एक करोडदेखि १० करोड मात्रासम्मको उत्पादन हुन्छ।
गत मे महिनामा सरकारले अगस्ट र डिसेम्बरको बीचमा ४० करोड कोभ्याक्सीनको मात्रा प्राप्त हुने अपेक्षा गरेको जनाएको थियो।
तर उत्पादक भारत बायोटेकले ज्यानुअरी र जुलाईबीच उपलब्ध गराउने भनिएको आठ करोड मात्रा अझै दिन सकेको छैन।
उसले जुलाई १६ तारिखसम्म ६० लाख मात्रा मात्र दिन सकेको छ।
भारतले अरू कुनकुन खोप प्रयोग गर्न सक्छ?
भारतले रुसमा विकसित स्पुत्निक भीलाई प्रयोगका लागि अनुमोदन गरेको छ। त्यहाँ उक्त खोपको ३० लाख मात्रा दिइसकिएको छ।
जुलाई वा अगस्टबाट भारतमै उत्पादन गर्ने योजना थियो। तर अब सेप्टेम्बरमा मात्रै सुरु हुने अपेक्षा गरिएको छ।
संयुक्त राज्य अमेरिकामा विकसित नोभाभ्याक्स अनि भारतमा कोभाभ्याक्स नामकरण गरिएको अर्को खोप पनि सीरम इन्स्टिट्यूटले उत्पादन गरिरहेको छ।
तर भारतीय नियामक निकायबाट त्यो अझै अनुमोदन हुन बाँकी छ।
उत्पादन गरी उक्त खोपको अहिले भण्डारण भइरहेको सीरम इन्स्टिट्यूटले जनाएको छ।
भारतले गत जुन महिनामा अमेरिकामा विकसित मोडेर्ना खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिए पनि अहिलेसम्म त्यहाँ त्यो खोप आइपुगेको छैन।
जोनसन एन्ड जोनसन र फाइजरले आपत्कालीन प्रयोगका लागि भारतमा अनुमति मागिसकेका छैनन्।
लक्ष्य भेट्नलाई पर्याप्त खोप छ त?
त्यस्तो त लाग्दैन। यद्यपि स्थितिमा परिवर्तन पनि आउन सक्छ।
सन् २०११ को भारतीय जनगणनाअनुसार भारतमा १८ वर्ष र सोभन्दा माथिका ९० करोडदेखि ९५ करोड मानिस छन्। ती सबै खोप लगाउने समूहमा पर्छन्।
खोप लगाउन योग्य जनसङ्ख्यामध्ये अहिलेसम्म करिब १० प्रतिशतले मात्रै दुइटै मात्रा लगाउन पाएका छन्।
त्यसको अर्थ सन् २०२१ को अन्त्यसम्ममा सबै वयस्कलाई खोप लगाइसक्ने हो भने प्रतिमहिना २९ करोड २० लाख मात्रा खोप आवश्यक पर्नेछ।
भारत सरकारको योजनालाई हेर्दा अहिले खोप उत्पादन क्षमता प्रतिमहिना १२ करोडदेखि १३ करोड मात्रा मात्रै छ। यद्यपि त्यसबारे सुनिश्चित हुन गाह्रो छ।
आउँदा महिनामा उत्पादनको मात्रा बढ्न पनि सक्छ भने विदेशबाट पनि आउन सक्छ।
भारतले खोप निर्यात गर्ने कुरा के छ?
भारतले आफ्ना नजिकका छिमेकी देशहरू तथा कोभ्याक्स अभियानका लागि एप्रिल अघिसम्म खोप निर्यात गर्दै आएको थियो।
तर एप्रिलदेखि उसले निर्यातमा रोक लगाएपछि गरिब देशहरूलाई खोप उपलब्ध गराउने आफ्नो प्रतिबद्धता पूरा गर्न कोभ्याक्स अभियानलाई गाह्रो भइरहेको छ।
नेपाल, बाङ्ग्लादेश र श्रीलङ्काजस्ता देश आआफ्ना खोप कार्यक्रमलाई अघि बढाउन चिनियाँ खोप तथा अरू देशको सहयोगमा निर्भर हुनु परेको छ।
खोपका निम्ति अरू स्रोतहरूलाई हेर्न थालेको कोभ्याक्सले भारतबाट पुनः खरिद गर्ने विषयमा कुराकानी भइरहेको बीबीसीसँग पुष्टि गरेको छ।