शेरबहादुर देउवा विश्वास मत: एमाले ‘विभाजन’मा देखिएको ‘देउवा संयोग-२’

    • Author, फणीन्द्र दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

अढाई दशक अघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले हस्ताक्षर गरेको एउटा विवादास्पद सन्धिलाई अनुमोदन गर्ने विषयमा दुई खेमामा बाँडिएको नेकपा एमालेको निम्ति यतिबेला संयोगवश उनै देउवालाई प्रधानमन्त्री बनाउने विषय फुटको निर्णायक बिन्दु बन्न लागेको देखिएको छ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसँग गरेको महाकाली सन्धिलाई लिएर अढाई दशकभन्दा अघि विभाजित भएको नेपाल कम्युनिस्ट पार्टी एमाले फेरि तिनै देउवाको सरकारलाई विश्वासको मत दिने वा नदिने विषयलाई लिएर विभाजनको सङ्घारमा पुगेको देखिएको छ।

त्यसबेला माधवकुमार नेपालको नेतृत्वमा उनीपक्षमा उभिएका १७ जनाले तत्कालीन देउवा सरकारले गरेको नेपाल-भारतबीचको उक्त विवादित सन्धिको पक्षमा मतदान गरेका थिए। त्यसमा नेपालको पक्षमा समर्थन जुटाउन केपी ओलीको भूमिका पनि प्रमुख थियो।

नेताहरू बामदेव गौतम र सीपी मैनाली सहितका नेताको अगुवाइमा १७ जना सांसद विपक्षमा उभिएका थिए।

नेपाल र गौतम एक-एकजना सांसदहरू तटस्थ बसेपछि २०५३ साल असोजमा उक्त सन्धि संसद्‌बाट अनुमोदित भएको थियो।

त्यही मत विभाजनले निम्त्याएको फाटोलाई २०५४ सालमा भएको पार्टी विभाजनको प्रमुख कारण मान्ने गरिन्छ।

फलत: मैनाली र गौतमको अगुवाइमा नेकपा माले गठन भएको थियो।

२०५६ सालमा भएको आम चुनावमा नेकपा मालेले एक सीट पनि जित्न सकेन भने नेकपा एमालेले पनि विभाजनको असर बेहोर्नु पर्‍यो।

नेता गौतम लगायतका नेता एमालेकै फर्किए, माले भने मैनालीकै नेतृत्व अस्तित्वमा छ।

नेकपा एमाले विभाजनको बीजारोपण गरेको ठानिने महाकाली सन्धिमा त्यसबेला देउवा र भारतीय प्रधानमन्त्री पीवी नरसिंह रावले हस्ताक्षर गरेका थिए।

कठिन घडीमा एमाले

उक्त सन्धिमा हस्ताक्षर भएको २५ वर्षपछि फरक सन्दर्भमा देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने विषयलाई लिएर नेकपा एमाले अर्को कठिन घडीमा पुगेको छ।

राजनीतिशास्त्री कृष्ण पोखरेलले पहिले र अहिलेको अवस्था पूर्णतया फरक भएकाले अहिलेको अवस्थालाई संयोगको रूपमा मात्रै हेर्नुपर्ने बताए।

उनी भन्छन्, "उसबेला प्रधानमन्त्री देउवा हुनुहुन्थ्यो तर महाकाली सन्धीको पक्षमा ओली-माधवजीहरू नै हुनुहुन्थ्यो। अहिलेको घटनाक्रम अरू नै ढङ्गले अघि बढेको छ, त्योबेला अर्कै ढङ्गले अघि बढेको थियो। त्यसको पुनरावृत्तिको ढङ्गमा यसलाई बुझ्नु हुँदैन।"

उनका भनाइमा लामो विवाद हुँदै सन्धिको विषय महाधिवेशनमा उत्कर्षमा पुगेर एमाले फुटेको थियो।

पोखरेल भन्छन्, "अहिलेको घटनाक्रम ओलीजीले संसद् विघटन गरेदेखि सुरु भएको प्रक्रियाको उत्कर्ष हो। अगाडिदेखि नै यो प्रक्रिया सुरु भएर अहिले देउवालाई विश्वासको मत दिने विन्दुमा पुगेको छ। यसमा तात्त्विक फरक छ। महाकाली सन्धिको बेलामा विवाद सुरु भएको थियो, पहिले सुरु भएको विवादका कारण पछिल्लो घटनाक्रमले विभाजनको किल्ला नै ठोक्छ जस्तो छ।"